१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चोरको बिगबिगीः दुई रातमा छ घरमा चोरी

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिकामा चोरीको घटनामा वृद्धि भएको छ। अहिले यहाँका घरमा चेन काटेर चोरी गर्ने प्रवृत्ति बढेको छ। पछिल्ला दुई रातमा आधा दर्जन घरमा चोरहरुले लाखौंको सम्पत्ति चोरेको स्थानीयको भनाइ छ।

देवाहीमा रहेको सशस्त्र बेस क्याम्पभन्दा करिब दुई सय मिटर टाढा स्थानीय राम अखिलेशप्रसाद पटेलको घरमा कोही पनि नभएको मौका पारी शनिबार राति चोरले चेन काटी लाखौंको सामान लगेको पीडितले बताएका छन्। तीनवटा स्क्रिन टच मोबाइल, गहना, नगद र लत्ताकपडा गरी करिब साढे दुई लाखको सम्पत्ति चोरको पीडितले बताए। सोही रात स्थानीय दानी साहको घरमा चोरी भएको स्थानीयको भनाइ छ।

आइतबार राति देवाहीकै ओपिन्दर पटेल, जोगी राय, सिमंगल राय र विनोद रायको घरमा पनि चोरी भएको छ। भारतको पंजाबमा काम गरी आइतबार मात्र घर फर्केका ओपिन्दर पटेलको घरबाट चोरले ५० हजार रुपैयाँ नगद र लुगा कपडाका साथै अन्य सामान गरी करिब १ लाख ३० हजारको सामान चोरेको पीडितले बताएका छन्। यसैगरी पंजावबाटै आइतबारै फर्केका विनोद राउतको घरबाट चोरले नगद १० हजार भारतीय रुपैयाँ र अन्य सामान गरी ५० हजार बराबरको चोरी गरेको छ। काठमाडौंबाट आइतबारै घर फर्केका जोगी रायको घरबाट ४० हजार रुपैयाँ नगद, करिब ५० हजार मूल्य बराबरको विभिन्न गरगहना र लत्ता कपडा गरी एक लाख दश हजार बराबरको सामान चोरेको छ।

घरमा कोही नभएको मौका छोप्ने र बाहिरबाट ज्याला मजदुरी गरी कमाएर आउने गरिबहरुको घरमा चोरहरु पसेर लगातार सम्पत्ति लैजान थालेपछि स्थानीय चिन्तित बनेका छन्। गाउँको उत्तरमा इलाका प्रहरी कार्यालय र दक्षिणमा सशस्त्र प्रहरी बेस क्याम्प रहेको देवाहीमा लगातार चोरीका घटना भइरहेकोले सुरक्षा निकायको ध्यान दिनुपर्ने स्थानीय विनोद पटेलले बताएका छन्। सर्वसाधारणको जीउ धनको सुरक्षा गर्नु प्रहरीको कर्तव्य भएको पटेलको भनाइ छ। सानो तिनो चोरीको घटना देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। चोरीको घटना बढेपछि प्रहरीले रात्री गर्ने गस्तीमा वृद्धि गरेको छ।

प्रकाशित: २३ वैशाख २०७६ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App