१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चार करोडमा नर्सरी

नर्सरीमा काम गर्दै देवेन्द्र अधिकारी। तस्बिरः नागरिक

गणेश विशु
नेपालगन्ज– यहाँका एक युवकले चार करोड लगानीमा नर्सरी व्यवसाय सञ्चालन गरेका छन्। खजुरा–४, एफ गाउँका देवेन्द्र अधिकारी (२८) ले कोहलपुर–८, बाबानगरमा उक्त नर्सरी सञ्चालन गरेका हुन्।

सुरुमा तीन लाखबाट उनले केरा खेती गर्दै आएका थिए। उक्त व्यवसायबाट कृषिमा जोडिएका देवेन्द्रले अहिले पश्चिम र पूर्वी नेपालका विभिन्न ठाउँमा बिरुवा उपलब्ध गराउँछन्। यस आर्थिक वर्षमा उनले १४ लाख बिरुवा उत्पादन गर्ने लक्ष्य लिएका छन्। ‘आँट र विश्वासले काममा सफल भइन्छ,’ उनले भने, ‘मैले उत्तिकै मेहनत र लगनशील भएर काम गरेको छुँ।’ त्यसैले यस व्यवसायबाट सन्तुष्ट भएको उनले बताए। यहाँ उत्पादन भएका बिरुवा ४० भन्दा बढी जिल्लामा जाने अधिकारी बताए। १० कट्ठा जग्गामा उनले नर्सरी गर्दै आएका छन्। बर्दियाको बारबर्दियामा १५ बिघा जग्गामा मेवा, अंगुर, कागतीलगायतका फलफूल लगाउने तयारी भएको उनको भनाइ छ। गत वर्ष सात लाख बिरुवा उत्पादन गरेका अधिकारीले ३३ लाख आम्दानी गरेका थिए। यस वर्ष उनले १४ लाख बिरुवा उत्पादन गर्ने लक्ष्य लिएका छन्। ‘यस वर्ष ५० लाख आम्दानी गर्ने लक्ष्य छ,’ उनले भने, ‘यस वर्ष आम्दानीभन्दा कृषकलाई सुविधा दिने योजना छ।’

उक्त नर्सरीमा १२ जनाले मासिक पारिश्रमिक लिएर काम गर्दै आएका छन्। आवश्यकताअनुसार दैनिक १८ देखि २० जनाले दैनिक ज्यालादारीमा काम गर्दै आएको अधिकारी बताउँछन्। यहाँ फलफूलमध्ये केरा, कागती, अनार, अम्बा, मेवा, लिची, आँप, कटहर, भूइकटर, सुन्तला, नास्पति, स्याउ, किवी, अंगुरलगायतका बिरुवा उत्पादन हुन्छ। साथै तरकारी र जडीबुटीका बिरुवासमेत यहाँ उत्पादन हुने अधिकारीले बताए। टिमुर, अलैँची, आलु, अमलालगायतका बिरुवा उत्पादन हुने उनको भनाइ छ। यहाँ टिस्यूकल्चर, कलमी तथा हाइब्रिड प्रविधिबाट बिरुवा उत्पादन गरिन्छ।

‘मैले कृषिसम्बन्धी विद्यालयमा गएर अध्ययन गरेको छैन,’ उनले भने, ‘अनुभवका आधारमा नर्सरीमा लगानी लगाएको हुँ।’ उनी नर्सरीसम्बन्धीका प्रशिक्षकसमेत हुन्। उनी विभिन्न ठाउँ तालिममा दिन जान्छन्। आत्मविश्वास, लगनशील र इमान्दारी भएर काम गर्दा सफलता प्राप्त हुने उनको भनाइ छ।

प्रकाशित: २२ वैशाख २०७६ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App