१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रे मात्र ६५ प्रतिशत

ओखलढुंगा - ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रेको काम गर्ने समय एक महिना पनि बाँकी छैन। आयोजनाको म्याद यही जेठ १६ गते सकिने भए पनि मात्र ६५ प्रतिशत काम सकिएको छ। सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि सोही पालिका–४ रुम्जाटार एयरपोर्ट गेटसम्मको ११ दशमलव १ किलो मिटर लम्बाइ र ७ मिटर चौडा सडक कालोपत्रेको ठेक्का तामाङ कुमार जेभीले लिएको थियो। कालोपत्रेको सम्पूर्ण काम ३० डिसेम्बर २०१८ मा सम्पन्न गर्नुपर्ने भए पनि नसकिएपछि ३० मे २०१९ सम्मका लागि अन्तिम म्याद थप गरिएको थियो।

थप म्यादमा पनि आयोजनाको काम नसकिने भएको छ। निर्माण कम्पनीले अहिलेसम्म सडक फराकिलो, ढल निर्माण र केही ठाउँमा कालोपत्रेका लागि सवबेसको काम मात्र सकेको छ। रमाइलोडाँडा जिरो प्वाइन्टदेखि १ सय १० मिटरसम्मको क्षेत्रमा भर्खरै कालोपत्रेका लागि सवबेसको काम सकिएको छ भने रुम्जाटार क्षेत्रमा अझै सडक फराकिलो पार्न बाँकी छ। त्यस्तै सडकको अधिकांश भागमा कालोपत्रेका लागि सवबेसको काम बाँकी छ।

सडककिनारमा रहेको खानेपानी आयोजना, बिजुलीका पोल, तार र घरटहरा हटाउन स्थानीयले अवरोध गर्दा काम ढिलो भएको ठेकेदार लेखजंग तामाङले बताए। ‘रमाइलो डाँडामा भर्खरै समस्या समाधान भई काम भएको छ,’ उनले भने, ‘रुम्जाटारमा मुआब्जाको काम सकिएकाले साइड क्लियर गर्ने काम सुरु गरिएको छ।’ मौसमले साथ दिए तोकिएको समयभित्रै कालोपत्रेको काम सकिने उनको भनाइ छ। कालोपत्रेको काम थाल्न आवश्यक सामग्री मगाइएको उनले बताए।

जेठ १६ भित्र निर्माण कम्पनीले सडकको कालोपत्रे नगरे पुनः म्याद थपिने सम्भावना नरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ओखलढुंगाका प्रमुख युवराज खरेलले बताए। सडक कालोपत्रेको काम समयमै सम्पन्न गराउन निर्माण कम्पनीलाई आवश्यक सहयोग गरिएको प्रमुख खरेलको भनाइ छ। ठेकेदारको ढिलासुस्ती र जनशक्तिको अभाव देखिएकाले जेठ १६ भित्र काम सम्पन्न हुने कुरामा शंका लागेको उनले बताए। भ्याटसहित २० करोड ६८ लाख १४ हजार ९ सय १८ रुपैयाँ ९२ पैसामा कालोपत्रे गर्ने ठेक्का सो कम्पनीले लिएको थियो। भूकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालीन भूकम्पीय सहयोग परियोजनाअन्तर्गत ओखलढुंगा–रुम्जाटार सडक कालेपत्रे सुरु गरिएको हो।

प्रकाशित: १९ वैशाख २०७६ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App