१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिजुली बत्ती बलेपछि स्थानीय हर्षित

खोटाङ– जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा विद्युतको केन्द्रीय प्रसारण लाईन विस्तार गरिएको छ। नेपाल विद्युत प्राधिकरण र गाउँपालिकाले गत वर्ष बिनियोजन गरेको २० लाखको खर्चमा छितापोखरीमा दिक्तेल–गाईघाट केन्द्रीय प्रशारण लाईन अन्तरगतको विद्युत विस्तार गरिएको हो।

विद्युतको पोल राख्ने, तार टाँग्ने, घर–घरमा वायरिङ गर्नेलगायतका काम सम्पन्न भएपछि सोमबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले स्वीच अन गरेर विद्युत उद्घाटन गरेका हुन्। सोलार र टुकी प्रयोग हुँदै आएको गाउँमा विद्युत विस्तार हुँदा छितापोखरीका १ सय १० घर झिलीमिली भएको छ। केन्द्रीय प्रशारण लाईनको पहुँच विस्तार भएपछि स्थानीय हर्षित भएका छन्। विजुली बलेपछि कम्प्युटर, टेलिभिजन, मोबाईल, कुटानी पिसानीका मिल, फ्रिजलगायतका विद्युतीय उपकरण सञ्चालज गर्न सहज भएको छ।

७ वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बतासे, याम्खा र छितापोखरीका केही भागमा मात्र विद्युत बिस्तार हुन बाँकी रहेको गाउँपालिका अध्यक्ष राईले बताए।

जन्तेढुंगाको एक वडामा विद्युत
खोटाङको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक केन्द्रीय प्रशारण लाईन अन्तरगतको विद्युत पुगेको छ। हालसम्म केन्द्रीय विद्युत प्रशारण लाईन पुग्न नसकेको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारबाट विद्युतको केन्द्रीय प्रशारण लाईन विस्तार गरिएको हो। ६ वटा वडा रहेको जन्तेढुंगामा बल्ल एउटा वडामा केन्द्रीय प्रशारणलाईन पु-याइएको हो। गाउँपालिकाको केन्द्रका रुपमा रहेको चिसापानी बजारस्थित बिपी चोकमा केही दिनअघि प्रतिनिधिसभाका सांसद बिशाल भट्टराईले स्वीच अन गरेर केन्द्रीय विद्युत प्रशारण लाईन उद्घाटन गरेका छन्।

गाउँपालिकामै पहिलोपटक बिस्तार गरिएको विद्यूतले गाउँपालिका–५ चिसापानी बजारका ६६ घरधुरीमा बिजुली बत्ति बलेको छ। सो क्षेत्रमा विद्युत बिस्तारका लागि तत्कालिन जिल्ला विकास समितिले आर्थिक वर्ष २०७३/०७४ मा ५९ वटा पोल र तार उपलब्ध गराएको योजनालाई जन्तेढुंगा गाउँपालिकाको ८५ लाख बजेट खर्च गरेर पूर्णता दिएको हो। वर्षौँदेखि सोलार र टुकी बाल्दै आएका स्थानीय केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि चिसापानीका स्थानीय हर्षित भएका छन्। ६ वडा रहेका अन्य वडामा पनि क्रमशः विद्युत बिस्तारको काम गरिने गाउँपालिका प्रमुख शंकर राईले बताए।

आयोजनाका लागि नेपाल विद्युत प्राधिकरणले पनि आयोजनाका लागि ८० वटा पोल उपलव्ध गराएको विद्युत बिस्तार समितिले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०७६ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App