१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

तीन विद्यालय शिक्षकविहीन

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन विद्यालय शिक्षकविहीन बनेको छ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित जालन्धर प्रावि, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बालकन्या प्रावि र डिकुवाकै बरगाछी प्रावि बलुई चैतदेखि शिक्षकविहीन बनेको हो। जालन्धर प्राविमा कार्यरत अस्थायी शिक्षक कवीन्द्र राई र बालकन्या प्राविका कार्यरत शिक्षक भूपमनी राईले गोल्डेन ह्यान्डसेकमा गत चैत ३ गतेदेखि स्वतः अवकाश पाएपछि विद्यालय शिक्षकविहीन बनेको हलेसी तुवाचुङका मेयर इवन राईले बताए। यस्तै कार्यरत शिक्षक तीर्थ खड्काले शिक्षक सेवा आयोगमार्फत स्थायीमा नाम निकालेर दाम्ली मावि डिकुवामा सरुवा लिएपछि बरगाछी प्रावि शिक्षकविहीन बनेको हो।

शिक्षकविहीन हुँदा तीनवटै विद्यालय बन्द हुने अवस्थामा पुगेको छ। सरकारी दरबन्दीको शिक्षक नहुँदा विद्यार्थी भर्ना अभियान र पाठ्यापुस्तक वितरणका कामसमेत प्रभावित भएको छ। जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयले शिक्षक सेवा आयोग उत्तीर्ण गरेका स्थायी शिक्षकलाई नियुक्ति दिएर नगरका विभिन्न विद्यालयमा पठाए पनि रिक्त दरबन्दीमा शिक्षक नपठाएकाले विद्यालय बन्द हुने अवस्थामा पुगेको मेयर राईले बताए। ‘शिक्षा समन्वय एकाइ कार्यालयले स्थायी शिक्षक त पठायो तर हामीसँग समन्वय नै नगरी आफूखुसी पठाइएको छ,’ मेयर राईले भने, ‘आवश्यक विद्यालयमा शिक्षक नपठाउँदा विद्यालय बन्द हुने अवस्थामा पुगेको छ।’

कार्यरत एक मात्र अस्थायी शिक्षक गोल्डेन ह्यान्डसेकमा निस्किएपछि जालन्धार प्राविमा हाल विद्यालय कर्मचारी मात्र बाँकी छन्। यस्तै एक मात्र दरबन्दीमा कार्यरत शिक्षक गोल्डेन ह्यान्डनसेकमा अवकाश पाएर निस्किएपछि बालकन्या प्राविमा हाल बाल विकास शिक्षक र एकजना कर्मचारी मात्र बाँकी छन्। कार्यरत शिक्षक खत्री आन्तरिक आयोगमार्फत स्थायीमा नाम निकालेर घर पायक रहेको दाम्ली माविमा सरुवा लिएपछि बरगाछी प्राविमा बाल विकासका र अनुदान कोटाका एकएक शिक्षक र एक कर्मचारी मात्र बाँकी रहेको स्रोतव्यक्ती राईकोभनाइ छ। जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयले शिक्षक नहुँदा बन्द हुने अवस्थाका विद्यालयमा शिक्षक नपठाएको भन्दै नगर शिक्षा समितिको बैठकले पठाइएका शिक्षकलाई हाजिर नगराउने र हाजिर भइसकेका शिक्षकलाई तलब नखुवाउने निर्णय गरिसकेको छ। शिक्षा समन्वय एकाइ कार्यालय खोटाङका प्रमुख सेवन्त गौतमले भने त्यस विषयमा आफूलाई आधिकारिक जानकारी नभएको बताए।

प्रकाशित: १६ वैशाख २०७६ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App