१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समृद्ध नेपालका लागि राजनीतिमा आएको हुँ : सांसद चौधरी

काठमाडौं– उद्योगपति तथा सांसद विनोदकुमार चौधरीले समृद्ध नेपाल निर्माणका लागि आफू राजनीतिमा होमिएको बताएका छन्। नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका चौधरीले राजनीतिमा सक्रिय हुन चाहेको संकेत गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको अन्तरक्रियामा सांसद चौधरीले राजनीतिको प्राथमिकता फेरिँदै गएको सन्दर्भमा राजनीतिबाटै समृद्ध नेपाल बनाउन आफू सक्रिय रहेको बताएका हुन्। 

उद्योगीका रूपमा आफूले नेपालको निजी क्षेत्रलाई अहिलेको अवस्थामा ल्याउन लिएको अग्रसरताले निजी क्षेत्रलाई सम्मानजनक अवस्थामा पुर्याएको  भन्दै चौधरीले अब बृहत्तर जनताको हितका लागि आफू राजनीतिमा सक्रिय हुने बताए। ‘कुनै पनि देशको विकासका लागि राजनीति सही दिशामा चल्नुपर्छ। सबैकुरा ठीकठाक भए पनि राजनीति बिग्रियो भने देश बन्दैन’, उनले भने, ‘त्यसैले राजनीतिलाई जनता र समृद्धिसँग जोड्ने संकल्प मैले लिएको छु।’

विद्यार्थीहरूले राजनीतिमा आएर विवादित भएजस्तो लाग्दैन? भन्दै प्रश्न गरेपछि सांसद चौधरीले अन्य क्षेत्रबाट गरिने परिवर्तनको सीमा हुने तर राजनीतिबाट बृहत्तर जनताको पक्षमा काम गर्न सकिने भएकोले आफू राजनीतिमा लागेको बताए। उनले युवाहरूको उद्यमशीलता र सिर्जनाशीलताबाट नै समृद्ध नेपाल सम्भव रहेको भन्दै राजनीतिले युवाहरूलाई अवसर दिनुपर्ने उल्लेख गरे। 

त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन अध्ययन गर्ने एक हजार बढी विद्यार्थीसँग अन्तरक्रिया गर्दै चौधरीले सफल उद्योगका लागि चुस्त व्यवस्थापन आवश्यक परेजस्तै सफल राष्ट्रका लागि पनि व्यवस्थापकीय क्षमता भएको नेताको आवश्यकता रहेको बताए। सो क्रममा चौधरीले आफ्नो उद्यमी जीवनका विभिन्न पाटोहरूबारे विद्यार्थीहरूलाई अनुभव सुनाएका थिए।

 

प्रकाशित: १५ वैशाख २०७६ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App