७ वैशाख २०८१ शुक्रबार
समाज

‘हेडमास्टर’ बन्न परीक्षा दिनुपर्ने

सोलुखुम्बु– शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीले मोबाइल प्रयोग गर्न नपाउने निर्णय गरेको केही दिनमै थुलुङ दुधकोशी गाउँपालिकाले विद्यालयको प्रधानाध्यापकका लागि परीक्षा सञ्चालन गर्ने नौलो तरिका अबलम्बन गरेको छ। गाउँ शिक्षा समितिले २०७६ लाई ‘शैक्षिक सुधार बर्ष’कै रुपमा अघि बढाउने सोचले शैक्षिक गुणस्तर बृद्धिका लागि प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए।

आगामी जेठको अन्तिमसम्ममा विषयगत विज्ञहरुको टोली बनाई १०० अंकभारको परीक्षा लिन लागिएको हो। शिक्षकहरुले ५० अंकभारको लिखित परिक्षा दिनुपर्ने छ भने २५ अंकभारको विद्यालय सुधार योजनाको प्रस्ताव पेश गर्नुपर्ने छ। शिक्षकको अन्तर्वार्ता पनि लिइने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाभर ९ माध्यमिक विद्यालय सहित ५२ सामुदायिक विद्यालय संचालनमा छन्।

‘हाम्रो एक मात्र लक्ष्य शैक्षिक सुधार हो। त्यसकारण, अब राजनीतिक आस्थाको भरमा तेरो मेरो चल्दैन्’, गाउँपालिका अध्यक्ष असिम राईले भने, ‘परीक्षाबाट फ्रेस, गतिशील र शिक्षा क्षेत्रको श्रीबृद्धिका लागि स्पष्ट योजना भएको प्रध्यानाध्यापक नियुक्त गर्न चाहन्छौं। जसले, सामुदायिक विद्यालयको व्यवस्थापन चुस्त बन्न सकोस्।’ उनले बोर्डिङ स्कुलको शिक्षाका लागि सहर झर्नुपर्ने अवस्थालाई घटाउनका लागि पनि सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्ने अनिवार्यता देखिएको बताए।

शिक्षक सरुवा र विद्यालय मर्ज वैशाखभित्रै 

गाउँपालिकाले शिक्षक सरुवा र विद्यालय मर्जको काम पनि बैशाख भित्रै सक्ने तयारी थालेको छ। बुद्धिराज राईको संयोजकत्वमा गठित सामाविक विकास समितिले विद्यालय र विद्यार्थी संख्याको अध्ययन गरि शिक्षक सरुवा र विद्यालय मर्जका लागि प्रतिवेदन बुझाइसकेकाले यही महिनामा काम सक्ने गाउँपालिकाले जनाएको छ।

विद्यार्थी संख्या न्यून रहेको विद्यालय मर्जमा पर्ने र विद्यालय मर्ज हुँदा अर्को विद्यालयमा धाउनुपर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप दिवा खाजा, शैक्षिक सामाग्री लगायतको सुविधा दिने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले बताए। उनका अनुसार कक्षा अनुसार विद्यार्थी नभएका विद्यालयको कक्षा घटुवा समेत गरिने छ।

प्रकाशित: १५ वैशाख २०७६ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App