१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

दाउफिन्स पहिलो खेलबाटै बाहिर

काठमाडौं – टाइब्रेकरमा भाग्यमानी साबित हुँदै आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई ४−२ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

पराजयसँगै नेपालमा आयोजना भएका गोल्डकप प्रतियोगितामध्ये ६ प्रतियोगितामा उपाधि जितेको दाउफिन्स पहिलो खेलबाट नै बाहिरिएको छ। निर्धारित समयलाई छोट्याएर ७० मिनेटमा घटाइएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेले पनि खेलको निर्णय टाइब्रेकबाट लिइएको थियो, जसमा आयोजकलाई सफलता मिल्यो।

टाइब्रेकरमा आयोजक काँकडभिट्टाका निरज बस्नेत, पुजन उपरकोटी, विकास राई, निशान लिम्बुले गोल गरेका थिए। योगेश गुरुङको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले रोकेका थिए। दाउफिन्सको तर्फबाट गोलकिपर प्रिसो र विक विकले गोल गरेका थिए। शिलो मार्टिन र पेटेङ्गाको प्रहार बाहिरिएपछि दाउफिन्स खेलबाट बाहिर गएको हो।

यसअघि छैटौं मिनेटमा दाउफिन्सका ओगेन जुनियरले गोल गर्दै सुरुआती अग्रता दिएका थिए। काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका गोलकिपर किशोर गिरीले पन्च गरेर फर्काएपछि पाएका अवसरलाई जुनियरले गोलमा परिणत गरेका थिए। २०औं मिनेटमा जुनियरले नै गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। उनले मैदानको मध्यभागमा अनमार्क रहेका जुनियरले एकल प्रयासबाट गरेको प्रहार आयोजकका गोलकिपर गिरीले जोगाउन सकेनन्।

दुई गोलले पछि परेको आयोजकका लागि नगेन तामाङले खेलको २१औं मिनेटमा गोल गर्दै खेलमा फर्किने संकेत देखाए। पेनाल्टी बक्सभित्र दाउफिन्सका खेलाडी बिट भइसकेको अवस्थामा अनमार्क रहेका तामाङले गरेको प्रहारले पोस्टको जाली चुमेको थियो। पहिलो हाफको इन्जुरी समयमा तामाङले नै गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याए। पहिलो हाफमा २–२ गोलको बराबरी खेलेका दुवै टोली दोस्रो हाफमा आक्रामक बन्दै खेले पनि स्पष्ट जितका लागि गोल गर्न सकेनन्।

खेलमा आयोजक टोलीका नगेन तामाङ म्यान अफ दी म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ प्राप्त गरे। शुक्रबारको खेल धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाडौंबीच हुनेछ।  प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ। १० टोलीले सहभागिता जनाएको प्रतियोगितामा नेपालका आठ, पारो एफसी भुटान र क्यामरुनको दाउफिन्स फुटबल क्लबको सहभागिता रहेको छ।

प्रकाशित: १३ वैशाख २०७६ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App