१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङमा ३० थान अवैध भरुवा बन्दुक बरामद

धदिङ– उत्तरी धादिङको विभिन्न क्षेत्रबाट ३० थान भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङको सक्रियतामा जिल्लाको रुवीभ्याली, गंगाजमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट बरामद गरिएको हो।

कार्यालयले सञ्चालन गरेको ३५ दिने ‘अवैध हातहतियार संकलन घरदैलो अभियान’ अन्तर्गत सचेतनामलक कार्यक्रमको आयोजना गरी संकलन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिए।

जिल्ला प्रहरी कार्यलय धादिङमा ल्याइएका ३० थान भरुवा बन्दुक गत चैत्र २२ गतेपछि संकलन भएका हुन्। यसअघि गत चैत्र २१ गते उत्तरी धादिङको खनियावास गाउँपालिकाबाट मात्रै १६ थान भरुवा बन्दुक संकलन गरिएको थियो। संकलन भएका भरुवा बन्दुकहरुमा रुवीभ्याली गाउँपालिकाबाट १० थान, खनियाबास गाउँपालिकाबाट १६ थान र गंगाजमुना गाउँपालिकाबाट ४ थान रहेका छन्।

संकलन भएका सबै भरुवा बन्दुक स्थानीयबासीहरुले स्वतस्फूर्त नजिकको प्रहरी चौकीमा बुझाएका हुन्। गाउँ गाउँमा रहेका अवैधानिक हातहतियार खोज्ने अभियानकै लागि प्रजिअ पाण्डेयकै नेतृत्वमा शसस्त्र प्रहरी जिल्ला हेडक्वाटर धादिङवेशी र नेपाल प्रहरीको संयुक्त टोली केही समयअघि उत्तरी धादिङ गएका थिए। 

गृह मन्त्रालय मार्फत प्रशासन र प्रहरीले व्यक्ति विशेषले राखेका अवैध हतियार बुझाउन सार्वजनिक सूचना जारी गरिसकेको छ। सार्वजनिक सूचना बेवास्ता गरी अवैध रूपमा विस्फोटक पदार्थ र हतियार राखेको भेटिए हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही गरिने प्रशासनले जनाएको छ। 

संकलन गरिएका बन्दुकमध्ये धेरैजसो बन्दुक हाल प्रयोग गरिरहेको अवस्थामै रहेको प्रहरीले जनाएको छ। धादिङको उत्तरी क्षेत्र सुरक्षा संवेदनशीलताको हिसाबले सवैभन्दा बढी असुरक्षित क्षेत्र मानिन्छ। पटक–पटक व्यक्ति हत्यासमेत भएको उत्तरी धादिङमा गत स्थानीय निर्वाचनपछि मात्रै प्रहरीले खनियाबाँस र गंगाजमुनाबाट ३ अमेरिकन स्वचालित रिभल्वर र गोली बरामद गरी ६ जना माथि मुद्दा चलाएको छ।

उत्तरी धादिङमै पछिल्लो एक दशकमा स्थानीय युवाहरुबीच भएका विभिन्न घटनामा ७ जनाको हत्या भएको छ भने ती घटनामा संलग्न ३० जना धादिङ कारागारमा रहेका छन्। त्यस्तै जिल्ला अदातलले सजाय तोकेका १० जना व्यक्तिहरू फरार रहेका छन्।

प्रकाशित: २ वैशाख २०७६ ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App