१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पुल अलपत्र छाडेर भागेका ठेकेदार फर्किए

गोरखा- आरुघाट गाउँपालिकाको सोती खोलामा पाँच वर्षअघि पक्की पुल निर्माण सकिनुपर्ने थियो। तर, ठेकेदार भागेपछि पुल अहिलेसम्म अलपत्र अवस्थामा छ। २०६८ सालमा ठेक्का सम्झौता भएको उक्त पुल २०७० सालमा पूरा हुनुपर्ने भए पनि ठेकेदार भागेपछि पुल बन्न सकेन। तर, अहिले ठेकेदार फर्किएकाले पुल बन्ने आशा पलाएको छ।

‘हामी ताकेता गरेर जरिवाना तिराउने प्रक्रियामा गएका थियौं, अहिले निर्माण कम्पनीले काम थालेको छ,’ ठेक्का लगाउने ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका इन्जिनियर राजेश यादवले भने। दुई करोड २४ लाखमा ठेक्का भएको उक्त पुलको निर्माण कम्पनीले ९९ लाख भुक्तानी लिइसकेको छ।

सम्झौतापछि निर्माण कम्पनीले २०७० सालमा पुलको दुवैतर्फ ‘फाउन्डेसन’ तयार गरेको थियो। सोतीखोलामा बाढी आएर फाउन्डेसन पुरेपछि ठेकेदारले काम छाडेका थिए। उनले काम गर्न समस्या भएको दाबी गर्दै काम भएजति भुक्तानी लिएर छाडेपछि अयोजनाले काम लगाउन सकेन।

समयमै काम नगरेको भन्दै सडक कार्यालयले १० लाख रुपैयाँ जरिवाना गरेर अहिले काम लगाउन सुरु गरेको इन्जिनियर यादवले बताए। ‘लामो समयसम्म पुल अलपत्र छाडेपछि समस्या भयो, जरिवाना गरेर ठेक्का तोड्ने तयारी गरेका थियौं, दुई सातादेखि निर्माण कम्पनीले काम गर्छु भनेर सुरु गरेको छ,’ उनले भने।

उक्त कम्पनीले अब काम गर्दा पहिलेकै कबुल रकमभित्र रहेर गर्नुपर्ने, १० लाख जरिवाना तिर्नुपर्ने हुन्छ। कालो सूचीमा पर्ने डरले निर्माण कम्पनी काममा फर्किएको हो। यसअघि उक्त पुलको डिजाइन परिर्वतन गर्ने विषयमा पनि प्राविधिक लागेका थिए।

पुल निर्माण अलपत्र छाडेका ठेकेदार पुनः फर्किएपछि कार्यालयले म्याद थप गरेर काम गराउन लागेको छ। त्यस पुलका लागि लगिएका रड, सिमेन्ट अलपत्र अवस्थामा छ। खिया लागेको रड र जमेको सिमेन्ट, पुलका अन्य सामग्री काम नलाग्ने भएको छ।

सडक कार्यालयलाई पुल निर्माण छिटो गरिदिन बारम्बार आग्रह गर्दै आएका स्थानीय आजित बनिसके। उक्त पुलले गोरखाको उत्तरी भेग जोडिन्छ। मनास्लु पदमार्ग हुँदै तिब्बतसम्म जोडिने सडकमा पर्ने पुल अलपत्र भएपछि धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाका सर्वसाधारणले सास्ती खेपेका छन्।

नेपाली सेनाले अहिले तिब्बत जोड्ने सडकको ट्र्याक खनेको छ। करिब १८ किलोमिटर नयाँ ट्र्याक खोलिसकेको सेनालाई उक्त पुल नबन्दा निर्माण सामग्री, तेल, खाद्यान्न ढुवानी गर्न समस्या भएको छ।

पक्की पुल नबनेपछि खोलाबाट गाडी आउजाउ गर्छन्। पुल नहुँदा बर्खाको बेला सोती खोलामाथि सवारी चल्न सक्दैन। झोलुंगे पुल भएर खच्चडलाई बोकाएर, मानिसले बोकेर ढुवानी गर्नुपर्ने बाध्यता रहेको चुमनुब्री गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले बताए। मनास्लु पदमार्गमा पर्ने उक्त पुल नबन्दा पैदलयात्रीलाई पनि समस्या भएको छ।

गोरखामा गणेश कँडेल प्रमुख हुँदा उक्त पुलको काम भएको हो। पुलको डिजाइन उनैले गरेका थिए। एकपटक सोती खोलामा बाढी आएपछि सोही कारण देखाएर र त्यसपछि भूकम्पलाई देखाउँदै ठेकेदारले काम गरेका थिएनन्। त्यसयता ६ जना प्रमुख फेरिए, तर पुल निर्माणमा कसैले चासो दिएनन्।

अहिले माछाखोलासम्म हिउँदको समयमा गाडी चल्छ। बर्खाको समयमा चलाउन भने सोती खोला तरेर जानु पर्दा समस्या भएको छ।

 

प्रकाशित: २३ चैत्र २०७५ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App