१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राहत वितरण अव्यवस्थित, पीडित कति, अझै खुलेन

भलुनी - बिहान सबा छ बजेको छ। कलैया उपमहानगरपालिका–१८स्थित भलुनी भरवलियाका ७० वर्षीय सीताराम पटेल घुर (आगो) ताप्दैछन्। पाँच वर्षीया रासना पनि हजुरबुवासँगै टाँसएर आगो तापिरहेकी छन्। आइतबार रातिको हुन्डरीले छिनभरमा बास उडाएपछि यी हजुरबुवा र नातिनी त्यही घुर तापेर रात काटिरहेका छन्।

हुन्डरीमा परी पटेलको टाउकोमा चोट लागेको छ। हुन्डरीमै परी घाइते नाति राजन र बुहारी मुन्नीदेवी नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका छन्। नाति र बुहारी कहिले ठीक भएर आउनेहुन् भन्ने चिन्तामा पटेललाई रात काट्ने ठाउँ पनि चाहिएको छ। नेपाली सेनाले बुधबार एउटा टेन्ट गाडिदिएपछि उनलाई केही राहत महसुस भयो। पत्नीसहित नातिनातिनालाई त्यसमै सुताएका पटेल भने भत्केको घरको भग्नावशेषमै सानो पालको सहारामा रात काट्न थालेका छन्। लुगादेखि अन्नपात सबै हुरीले खतम बनाएपछि मेसमा गएर भोक मेटाएका उनले रातको चिसो आगो तापेर कटाउने गरेको सुनाए। लगाएको एकसरो लुगाबाहेक खाने, लगाउने मात्र नभएर पकाउने र चलाउने भाँडाकुडासमेत नभएको सुनाउँदै उनले भने, ‘के गर्ने हजुर। यही घुरको सहारामा रात कटाइरहेको छु।’

पीडितले स्थानीय राहत वितरण समितिका सदस्यले आफ्नालाई काखा र अरुलाई पाखा गरेको आरोप लगाएका छन् । क्षति मूल्यांकनमा पनि विभेद गरिएको उनीहरुको आरोप छ।

भत्केको आफ्नै घरछेउबाट राहत बोकेका दर्जनौं गाडी दिनहुँ जानेगरे पनि आफूले आवश्यक राहत नपाएको बरु नक्कली पीडितले बढी राहत सामग्री लगेको उनको गुनासो छ। राहत वितरण व्यवस्थित हुन नसकेको गुनासो सबैतिरबाट आइरहँदा अनुगमन र वितरणको राम्रो व्यवस्था नहुँदा पीडितले भन्दा अरुले नै बढी सामान लगेको उनको बुझाइ छ। राहत सामग्री शिविरसम्म प-याउनुको साटो ठूलाबढाको घरमा थन्किएको आरोप लगाउँदै उनले भने, ‘हेर्ने मान्छे नहुँदा जसको लाठी उसकै भैंसी भएको छ।’

अनुगमन र निरीक्षणका लागि दिनदिनै नेता आए पनि पीडितलाई कसैले पनि केही नसोधेको गुनासो गर्दै उनले थपे, ‘जो नेता आउँछन् आफ्नै नजिकका मान्छेको पछि लाग्छन्, उनैसँग हिँड्छन्। अनि राहत पनि त्यसकै आधारमा बाँडिएको छ।’ उनले भने, ‘घर र परिवार गुमाएका भन्दा अरुसँगै भेटघाट गर्ने हो भने किन आएको ?’ स्थानीय जनप्रतिनिधि र गाउँका बलियाको कब्जामा राहत सामग्री परेको सुनाउँदै उनले भने, ‘पार्टी कार्यकर्ताभन्दा पनि बलिया र काम लाग्ने मान्छेलाई बढी दिइएको छ। पीडितलाई छैन।’

फेटा–१ भलुनी भरबलियाका माधव ठाकुरको गुनासो पनि उस्तै छ। हावाले सबै उडाएपछि सुत्ने र हातमुख जोर्ने कुरा पनि केही बाँकी नरहेको सुनाउँदै उनले भने, ‘वडाले पनि मुख हेरेर काम गरिरहेको छ। ठूलाठालुले जे भन्यो, त्यही भइरहेको छ।’ बुधबार जेसिआईले ल्याएको राहत सामग्री प्रभावितभन्दा अरुले नै लगेको गुनासो गर्दै उनले भने, ‘क्षति हुनेले नपाउने केही नभएकाले मात्र राहतका लागि आएको सामान लगेर घर भरिसकेका छन्।’

त्यस्तै सोही टोलकी सुनीता दासले पनि राहत वितरणमा विभेद गरेको गुनासो गरिन्। आफूहरुले राहत सामग्री नपाएको तर घर नभत्केकाले धेरै लगेको सुनाउँदै उनले भनिन्, ‘उपचार निःशुल्क भनिएको छ तर पैसा नभई औषधि नै पाइँदैन।’ हावाले घर भत्किँदा भाइ शिवपूजन दास घाइते रहेको र उनको उपचार नेसनल मेडिकल कलेजमा भइरहेको सुनीताले बताइन्। उनले भनिन्, ‘यता पनि राहत छैन। उता पनि औषधि पाएका छैनौं।’ अस्पतालले तोकेको मेडिकलमा औषधि लिन जाँदा नदिएको सुनाउँदै उनले भनिन्, ‘पैसा लिएर गयो भने त्यही औषधी दिन्छन्। निःशुल्क भन्यो भने औषधी दिँदैनन्।’
भरबलियाका प्रेमचन्द्र ठाकुरले प्रभावितहरुको अवस्था मूल्यांकन गरेर राहत वितरण गरेको दाबी गरे। स्थानीय स्तरमा राहत वितरणका लागि समिति गठन भएको सुनाउँदै उनले भने, ‘हामीले ए,बी,सी भनी वर्गीकरण गरेर सोही अनुसार राहत वितरण गरेका छौं।’ राहत सामग्री लिएर आएका संघसंस्थाले आफैं वितरण गर्दा केही तलमाथि भएको हुन सक्ने बताउँदै स्थानीय राहत वितरण समिति सदस्यसमेत रहेका ठाकुरले भने, ‘यो वा त्यो पक्ष भनिएको छैन।’

देवताल–७ रामपूर्वाका १ सय ९७ घरमध्य ८० घरमा क्षति पुगेको छ। बुधबारबाट मात्र रामपूर्वामा राहत सामग्री आउन थालेकोमा वडाध्यक्षसहित स्थानीय राहत वितरण समितिले पक्षपात गरेको स्थानीयको गुनासो छ। राहत वितरण र लगत संकलन गर्न गठन भएको समितिका सदस्यले आफ्नो र अर्को भनेर विभेद गरेको सुनाउँदै स्थानीय रावज्ञप्रसाद साहले भने, ‘समिति सदस्यले आफ्ना छोराको सामान्य क्षति भएको घरलाई पनि पूर्ण क्षति भएको बनाइदिएका छन्।’ गाईबस्तुका लागि बनाएको फुसको गोठ र घरलाई एउटै मूल्यांकन गरेको गुनासो गर्दै उनले भने, ‘राहत वितरण ठीक ढंगबाट हुन सकेको छैन। यहाँ पनि दुई पार्टीको कुरा छ।’ १७ जना र दुईजनाको परिवारलाई समान राहत वितरण भइरहेको सुनाउँदै उनले भने, ‘एक घण्टामा सबै गाउँको लगत संकलन हुन्छ तर त्यसो नगरेर मनपरी गरिएको छ।’
विभिन्न संघसंस्थाबाट आएको राहत पनि एक दिनपछि मात्र वितरण गर्ने गरेको सुनाउँदै रामपूर्वाका अरविन पटेलले भने, ‘रातभरिमा सेटिङ गर्ने र बिहानमात्र बाँडिँदै आएको छ।’ वडाध्यक्ष सतेन्द्रप्रसाद यादवले प्रभावितलाई आवश्यक राहत पु¥याइरहेको दाबी गरे। सबैलाई समानरुपमा वितरण गर्नकै लागि एक दिनपछि मात्र आएका राहत सामग्री बाँड्ने गरेको सुनाउँदै उनले भने, ‘क्षतिको अवस्था हेरेर राहत वितरण गरेका छौं।’

कलैया उपमहानगरपालिका–१२ धर्मपुरबासीको गुनासो पनि कम छैन। हावाहुरीबाट धर्मपुरका स्थानीयले कुनै मानवीय क्षति बेहोर्नुपरेन तर टोलमै सञ्चालनमा रहेको इँट्टाभट्टामा कार्यरत बकुलीमा भारतका छ नागरिकले ज्यान गुमाए। मृतकका परिवारले उनीहरुको शव गाउँ लगिसकेको जानकारी दिंदै वडाध्यक्ष राजेश्वरप्रसाद केशरीले स्थानीय तहमा ठूलो मात्रामा अन्नपात नोक्सानी भएको सुनाए। तर सरोकारवालाको धर्मपुरमा आँखा नपरेको उनको गुनासो छ। ९५ प्रतिशत जनताको बाँच्ने आधार सकिएको सुनाउँदै उनले भने, ‘छिनभरमै गहँु, मुसुरो सखाप पार्नुका साथै सयौंको संख्यामा आँप, लिची, बाँस, सिसौका रुख ढालिदिएको छ। त्यसले यहाँका जनताको गाँस टुटेको छ।’
मानवीय र भौतिक क्षति पुगेका जनतालाई पहिलो प्राथमिकतामा राखेर उद्धार र राहतको काम गर्नुपर्नेमा विमति नरहेको सुनाउँदै उनले थपे, ‘जीवन जिउने सबै कुरा गुमाएकालाई पनि सरकारले केही हेरिदिनु प¥यो।’ उनले प्रधानमन्त्री, विपक्षी दलका नेताहरु मात्र नभएर राहत लिएर आउने संघसंस्था र निकाय फेटामा अल्झेको सुनाए।

खेतमा लगाएको अन्नपात सखाप भएको सुनाउँदै धर्मपुरकै रामचन्द्र मण्डलले ढलेका बाँस, आँप र लिचीका रुख देखाउँदै भने, ‘हाम्रो बाँच्ने सहारा यही थियो, सबै हावाले एकैछिनमा लग्यो। अब हामी के गरेर खाने ? हाम्रो दुःख सुन्न कोही आएन।’
हावाहुरीबाट कलैया नगरपालिका–१३ का फुलबरिया र बलरामपुर गाउँ पनि प्रभावित छन्। त्यहाँका दुई दर्जन बढी घर भुमरीमा परेर ध्वस्त भएका छन्। बलरामपुरका दिनेश पटेलले ठूलो मात्रामा बालिनालीमा क्षति पुगेको सुनाए। ‘घरमा खासै धेरै नोक्सान छैन,’ उनले भने, ‘जेजतिको क्षति पुगेको छ, सबैले केही न केही राहत पाएका छन्।’

फुलबरियाका अम्बिका यादवले मानवीय क्षति नपुगेको क्षेत्रमा धेरैको ध्यान पुग्न नसकेको सुनाए। ‘खेतीपातीका साथै रुखहरु धेरै नोक्सान भएका छन्,’ उनले भने, ‘त्यसको कुनै लेखाजोखा भएको छैन।’ प्रभावित सबैलाई क्षतिअनुसार राज्यबाट राहत र सुविधाको व्यवस्था गर्नुपर्ने बताउँदै उनले थपे, ‘कसैलाई तीन हुन्छ भने कसैले एक त पाउनु प¥यो नि ?’
मानवीय र भौतिक संरचनाको क्षति भएकालाई मात्र राहत दिँदा कृषिबाटै गुजारा चलाउनेहरु मर्कामा पर्ने उनको बुझाइ छ। ‘बास गुमाएकालाई मात्र होइन, गाँस गुमाएकालाई पनि सरकारले राहतको उचित व्यवस्था गर्नुपर्छ,’ उनले भने।

महागढीमाई नगरपालिका–७ तेलगाई होस् वा फोटा गाउँपालिका–६ पुरेनिया गछियाटोलाका स्थानीयमात्र होइन, सुवर्ण गाउँपालिका–४ हर्दियाका प्रभावितको गुनासो पनि उस्तै छ। विभिन्न संघसंस्था र व्यक्तिबाट दैनिकजसो राहत सामग्री आइरहेका छन्। तर ती सामग्री व्यवस्थितरुपमा वितरण नहुँदा प्रभावित सबै क्षेत्रमा गुनासैगुनासो मात्र आइरहेको छ। स्थानीय प्रशासनसँग बिहीबारसम्म पनि प्रभावितहरु यकिन तथ्यांक छैन भने राहत सामग्री कहाँबाट आयो र कहाँ कति पुग्यो भन्ने विवरण पनि छैन।
नेपाल प्रहरी स्थानीय स्तरमा सञ्चालन गरेको मेस र राहत वितरणको सुरक्षामा खटिएको छ भने नेपाली सेना केन्द्र सरकारले पठाएको टेन्ट प्रभावितका घर पुगेर गाड्न सक्रिय छन्।

प्रकाशित: २२ चैत्र २०७५ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App