१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धन अभियान

इन्डोनेसिया– नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धनका लागि नयाँ अभियान सुरु भएको छ। पर्यटकीय सम्भावना बोकेका दुुई मुलुकबीच पर्यटक आदानप्रदान गरेर अर्थतन्त्रमा टेवा पु-याउने ध्येयले सरकारी तथा निजी क्षेत्रको सक्रियतामा यो अभियान सुरु गरिएको हो। फेमिलीराइजेसन ट्रिप (परिचित यात्रा) नामको अभियान अन्तरगत पर्यटकीय गन्तव्यको चिनारी गराउने र सहयोग आदानप्रदान गर्ने कार्यक्रम रहेको छ। 

उक्त कार्यक्रममा सहभागी हुन नेपाली टोली इन्डोनेसिया सरकारको निमन्त्रणामा यहाँ आएको छ। इन्डोनेसियाको पर्यटन मन्त्रालयको सहयोग र इन्डोनेसियन दुताबास ढाकाको संयोजन फयाम ट्रिप कार्यक्रममा नौ जना नेपाली सहभागी छन्। आइएमई समूहले प्रवर्द्धन गरिरहेको आइएमई ट्राभल्स, काठमाडौंको समन्वयमा नेपालका पर्यटन व्यवसायी, मिडियाकर्मीसहितको टोली यहाँ आएको हो।

नेपाली टोलीले इन्डोनेसियाका विभिन्न पर्यटकीय स्थल अवलोकन भ्रमण गरी त्यहाँका पर्यटकीय गन्तव्यको बारेमा जानकारी लिएका छन्। इन्डोनेसियाको बालीमा क्रियाशील पर्यटन व्यवसायीको सस्था जिडी टुर्स र नेपालका पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा दुई देशका पर्यटकीय सम्भावना, अवसर, पर्यटकीय गन्तव्यका बारेमा छलफल भएको थियो।  उक्त कार्यक्रममा पर्यटनको विकासमा आ—आफ्नो क्षेत्रबाट सघाउने प्रतिवद्धता जनाएका थिए।

कार्यक्रममा इन्डोनेसियन दूतावास ढाकाका तृतीय सचिव मुर्नी न्यारिष्टीले इन्डोनेसियाको पर्यटन विकासमा टेवा पुयाउन नेपाली अधिकारीलाई भ्रमण कार्यक्रमको आयोजना गरेको बताइन्।  दूतावासको सूचना, संकृति तथा पर्यटन विभागकी प्रमुखसमेत रहेकी मुर्नीले इन्डोनेसियामा बाली मात्र नभएर अन्य पर्यटकीय गन्तव्य रहेको जानकारी दिइन्।

कार्यक्रममा आइएमई ट्राभल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद सापकोटाले इन्डोनेसियाले पर्यटन प्रवर्द्धनमा अपनाएका पद्धति नेपालको पर्यटकीय क्षेत्रमा अनुशरण गर्न सकिने बताए। पर्यटन सम्भाव्यता अध्ययन तथा प्रचारप्रसारमा सघाउन सकिने सिइओ सापकोटाको धारणा थियो। 

सापकोटाले काठमाडौं र इन्डोनेसियाको बालीलाई भगिनी सम्बन्ध स्थापना गर्दा दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने बताए। इन्डोनेसियाका नागरिकलाई नेपालको साहसिक पर्यटनमा रमाउन आउनका सापकोटाले आग्रह गरे। 

इन्डोनेसियाका पर्यटन व्यवसायी विष्णु आरिमबावाले नेपालीले इन्डोनेसियाको सामुन्द्रिक किनारमा आएर भरपुर आनन्द लिन सक्ने बताए। उनले नेपालमा पर्यटक पठाउन आफूहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरे। पर्यटन मन्त्रालयका प्रतिनिधि डिडिनले पर्यटन प्रवर्द्धनका लागि वन्डरफूल इन्डोनेसिया अभियान चलाएको बताए।

नेपाली टोलीले बालीको हिन्दु महासागर किनारमा रहेको उल्लुबातु मन्दिर, रामायणको कथासँग सम्बन्धित केचक नृत्यको अवलोकन गरेका थिए। त्यसैगरी तन्जुङ बनुवाले परिचित सामुन्द्रिक किनारमा जलसँग सम्बन्धित विभिन्न मनोरन्जनात्म्क खेल खेल्नुका साथै बाउन्टी क्रुजमा डिनर यात्रा, सामुन्द्रिक किनारको मुसाडुवा क्षेत्र, विश्व सम्पदा सुचीमा सुचिकृत परमान्न मन्दिरको भ्रमण गरेका छन्। 

सन् २०१०मा इन्डोनेसियामा मेरापी पहाडमा भएको ज्वालामुखी विस्फोट भएको क्षेत्र, त्यसले पु¥याएको असरका भग्नावशेषको पनि नेपाली टोलीले अवलोकन गरेको थियो। 

इन्डोनेसिया बालीकै उमापाक्यलमा कृषि पर्यटनका बारेमा जानकारी लिएका थिए। नेपालबाट वार्षिक करिब २० हजार पर्यटक इन्डोनेसिया भ्रमण गर्न जान्छन् भने इन्डोनेसियाका करिब सात हजार पर्यटक वार्षिक रुपमा नेपाल आउने गरेका छन्। उक्त अवसरमा दुवै देशका पर्यटन व्यववसायी र सरकारी अधिकारीबीच मायाको चिनो आदान प्रदान गरिएको थियो। 

प्रकाशित: १७ चैत्र २०७५ १५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App