आजबाट लगानी सम्मेलन

शुक्रबार, १५ चैत २०७५, ०७ : ०२ नागरिक

काठमाडौं - सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबार (आज)बाट राजधानीमा सुरु हुँदैछ। सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागेको हो। दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

सम्मेलनको पहिलो दिन सरकारको तर्फबाट लगानीको अवसर तथा लगानीसम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको लगानीसम्बन्धी अनुभवसहित सातवटा विषयगत सत्र सञ्चालन हुनेछन्। त्यसैगरी, सम्मेलनको दोस्रो तथा अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्र सञ्चालन हुने जानकारी दिइएको छ।

सहभागी मुलुकः ४०
सहभागी लगानीकर्ताः ६००
सो–केस गरिने परियोजनाः ७७ (सरकारी ५०, निजी २७)
१२ वटा समझदारीपत्र र सम्झौतामा हस्ताक्षर

मुलुकमा नयाँ संविधान जारी भएपछि दोस्रोपटक लगानी सम्मेलन हुन लागेको हो। सरकारले यसअघि २०७३ सालमा लगानी सम्मेलन आयोजना गरेको थियो। यो पटकको सम्मेलनमा ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागी हुने जानकारी दिइएको छ। साथै, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहनेछ।

सरकारले सम्मेलनमा सहभागी विदेशी लगानीकर्तासमक्ष प्रस्तुतिका लागि सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना तयार पारेको छ। लगानी बोर्डले सरकारको तर्फबाट ती परियोजना तयार पारेको हो। कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी ती परियोजनामाथि सम्मेलनमा सहभागी इच्छुक लगानीकर्ताले लगानीको प्रस्ताव गर्न सक्ने अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। अर्थमन्त्री खतिवडाका अनुसार सम्मेलनमा १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ।

‘पछिल्ला वर्षहरुमा देखिएका विकासका सम्भावनाहरु, त्यसमा निजी क्षेत्रका लगानीका थप सम्भावना र अवसरहरुलाई ‘शो केसिङ’ गर्ने र त्यससँग सम्बन्धित ७७ वटा परियोजनाबारे विस्तृतमा जानकारी दिनेछौं,’ मन्त्री खतिवडाले बुधबार सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने, ‘लगानीका लागि तयारी अवस्थामा रहेका हाम्रा समझदारीहरुलाई एमओयू गरेर कार्यान्वयनमा लैजाने काम यो सम्मेलनले गर्नेछ।’ यो सम्मेलन सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रको बीचमा ‘नेटवर्किङ’ बढाउने एउटा सुनौलो अवसर भएको उनले बताए।

लगानी सम्मेलनले मुलुकलाई समृद्ध बनाउन ढोका खुल्ला गर्ने अपेक्षा गरिएको छ। विगतका लगानी सम्मेलनमा भएका उपलब्धिहरुलाई अझ सुदृढ गर्दै त्यसको पतिफललाई अझ बढी प्रभावकारी कार्यान्वयनमा लैजान सकिने परियोजनाहरुबारे छलफल गरेर टुंगोमा पु¥याउन यो सम्मेलन आयोजना गरिएको उनले प्रस्ट पारे।

‘सरकारले यो लगानी सम्मेलनमार्फत विश्वका लगानकर्ताहरुलाई नेपालमा लगानीका अवसर, लगानी प्रवद्र्धनका लागि सरकारले लिएका नीतिगत तथा कानुनी प्रयासबारे जानकारी गराउने अवसर मिल्नुका साथै नेपाल लगानीको लागि उत्कृष्ट गन्तव्य रहेको सन्देश दिने अवसरको रुपमा लिएको छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘यो सम्मेलनबाट सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।’

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीका लागि सम्भावित क्षेत्र भनिएका आयोजनाको ‘प्रि–फिजिबिलिटी डेस्क स्टडी’ तयार रहेको र त्यसैका आधारमा लागत अनुमान गरिएको जानकारी दिए। ‘हामीले प्रारम्भिक चरणको अध्ययन गरेर आयोजनाको सूची बनाएका छौं,’ उनले भने, ‘लगानीकर्ताले भविष्यमा आफूले अघि बढाउने आयोजनाको विस्तृत अध्ययन गर्छ र काम अघि बढाउँछ।’ लगानी सम्मेलनमा आउने लगानीकर्ताले शो–केस गरिएका आयोजना अघि बढाउन प्रस्ताव राख्न सक्ने प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए। सम्मेलनमा परेका प्रस्तावमाथि दुई महिनाभित्रमा निर्णय दिइसक्ने उनको भनाइ छ।

उत्साहित निजी क्षेत्र
सरकारले आयोजना गरेको लगानी सम्मेलनबाट स्वदेशी निजी क्षेत्रसमेत उत्साहित बनेका छन्। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले लगानी सम्मेलनका लागि सरकारले राम्रो तयारी गरेको बताइन्। सरकारले आफूहरुले उठाउँदै आएको धेरै कुरा कानुनी रुपमा सम्बोधन गरिसकेकाले लगानीकर्तालाई आकर्षित गर्न सकिने उनको भनाइ छ। ‘सरकारले गरेको एकद्वार सेवाको विषयले वैदेशिक लगानीकर्तालाई आकर्षित गर्नेछ,’ उनले भनिन्, ‘समग्रमा लगानी सम्मेलन फलदायी र उपलब्धिमूलक हुनेमा निजी क्षेत्र पूर्ण आशावादी छ।’

विगतमा विदेशी लगानीकर्ताले नेपालमा राजनीतिक अस्थिरताका कारण लगानीमैत्री वातावरण नभएको बताउँदै आएको उनले बताइन्। ‘अहिले स्थिर र शक्तिशाली सरकार बनेको छ। ऊर्जाको समस्या छैन,’ अध्यक्ष राणाले भनिन्, ‘सरकारको नारा नै आर्थिक समृद्धि रहेकाले लगानीमैत्री वातावरण बनेको छ। यसबाट लगानीकर्तालाई आकर्षित गर्न सक्छौं।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकार र निजी क्षेत्र मिलेर लगानी सम्मेलनलाई सफल बनाउनुपर्नेमा जोड दिए। सम्मेलनमा ६ सय विदेशी लगानीकर्ता आउनु एकदमै सकारात्मक भएको उनले बताए। ‘राजदूतहरुले लगानीको वातावरणका विषयमा सकारात्मक कुराकानी गरिरहेका छन्,’ उनले भने, ‘ऐन कानुन सुधारका विषयमा पनि कूटनीतिक नियोगले नजिकबाट हेरिरहेका छन्। अहिले सकारात्मक प्रचार भएकोले पनि विदेशी लगानीकर्ताहरु आकर्षित हुने अपेक्षा छ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले लगानी सम्मेलनले समृद्धिको ढोका खोल्ने आशा व्यक्त गरे। निजी क्षेत्रको समेत सहभागितामा सरकारले लगानी सम्मेलन आयोजना गरिएको हुँदा सफल हुने उनको विश्वास छ। ‘धेरै समयपछि ठूलो संख्यामा लगानीकर्ताहरु भेला हुन लागेका छन्,’ उनले भने, ‘नेपालमा लगानीको अवसरबारे सकारात्मक सन्देश विश्वभर पु-याउने यो उपयुक्त अवसर हो।’ नेपालमा घाटा बेहोर्नु नपर्ने पक्ष विदेशी लगानीकर्ताका लागि राम्रो भएको उनको भनाइ छ।

को को सहभागी हुँदैछन् ?
सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टविग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केइको होन्डा, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस र एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष डोङ लीको उपस्थिति रहने अर्थ मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी, माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डाबर, युनिलिभर लगायत विश्व प्रसिद्ध कम्पनीहरुका उच्चपदस्थ प्रनिनिधिसमेत सम्मेलनमा सहभागिता रहनेछ।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad