१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

रौनियारलाई नहटाउन अन्तरिम आदेश

उपकुलपति डा. राजकुमार रौनियार।

धरान – बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधिश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासले रौनियारलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न मंगलबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

सर्वाेच्चको यो आदेशसँगै मुद्दाको अन्तिम किनारा नलागेसम्म रौनियारले उपकुलपति पदमा रही काम गर्न पाउने भएका छन्। यसअघि चैत ४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले रौनियारलाई पदबाट हटाउने निर्णय अन्तरिम आदेशको छलफलबाट टुंगो नलागेसम्म कार्यान्वयन नगर्नू–नगराउनु भनि विपक्षीको नाामा अल्पकालीन अन्तरिम आदेश दिएको थियो। राउतको सो इजलासले रौनियारले अन्तरिम आदेश मागेको सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्नु उपयुक्त देखिएको भन्दै मंगलबार (चैत १२) का लागि पेसी तोकेका थिए। सोही आदेशअनुसार मंगलबार प्रधानन्यायाधीश जबरा र न्यायाधीश खड्कको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको थियो।

सर्वोच्चबाट अन्तरिम आदेश जारी भएपछि रौनियारले आफूले न्याय पाएको प्रतिक्रिया दिए। ‘ममाथि अन्याय भएको थियो। मैले के गरेको थिएँ र पदबाट हटाइएको हो ? बुझ्न सकेको थिइनँ,’ मोबाइलमा प्रतिक्रिया दिँदै रौनियारले भने, ‘मलाई विश्वास छ– न्याय छ, सत्यको जित हुन्छ। म सबैसँग मिलेर बिपीलाई राम्रो ढंगले चलाउन चाहन्छु। मन्त्रीज्यू, प्रधानमन्त्री र मन्त्रालयको साथ र सहयोग चाहिन्छ।’

फागुन १६ र १७ गते बसेको प्रतिष्ठानको ४२औं विशेष सिनेट बैठकले पदीय मयार्दाविपरीत काम गरेको भन्दै रौनियारलाई उपकुलपति पदबाट बर्खास्त गर्न कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गर्ने निर्णय लिएको थियो। सिनेटको सिफारिस फागुन २६ गते कुलपति तथा प्रधानमन्त्री ओलीले सदर गरेका थिए। सोही दिन सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट हटाउने निर्णय भएको पत्र प्रतिष्ठान तथा रौनियारलाई पठाएका थिए। रौनियारले त्यसविरुद्ध चैत ३ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए। चैत ४ गते रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

स्वास्थ्यमन्त्री यादवले चैत ४ गते नै प्रतिष्ठानका रेक्टर डा. गुरु खनाललाई आर्थिक, प्रशासनिक अधिकार हेर्नेगरी निमित्त भिसीको जिम्मेवारी दिएका थिए। निमित्त भिसी खनालले चैत ५ गते किार्यभार सम्हालेका थिए। चैत ६ रौनियारले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशका आधारमा पुनः पदवहाली गरेका थिए। दुई उपकुलपति भएपछि प्रतिष्ठानमा अन्योल बढेको छ।

प्रकाशित: १३ चैत्र २०७५ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App