११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किन बढ्दै छ चीनमा पुस्तान्तरण दूरी ?

लरेन्स ब्राहम
बितेका केही महिना यता संसारभरका धेरै मिडियाले चीनको सुधार र खुलापन नीतिबारे धेरै समाचार लेखे। चीनले सुधार र खुलापन नीति अँगालेको ४० वर्ष प्रवेशको सन्दर्भमा धेरैले यसलाई चर्चाको विषय बनाए।

गरिबीलाई पराजित गरेर आधुनिक समाज र संसारकै दोस्रो ठूलो अर्थतन्त्रको रूपमा उदाउन चीनले सामना गर्नुपरेका हजारौं प्रतिकूल अवस्थाबारे चीनभित्रै र बाहिरका समाचारमाध्यमले प्राथमिकताका साथ चर्चा गरे। 

चीनले आज सामना गरिरहेका नयाँ–नयाँ चुनौतीबारे पनि चर्चा गरिए। तीमध्ये विशेषतः आयस्रोतमा आएको अन्तरबारे निकै प्राथमिकताका साथ चर्चा गरियो। तथापि यो समस्या चीनको मात्र होइन। संसारभरि नै देखिएको छ। युरोप र अमेरिकामा आयस्रोतमा देखिएको असमानताका कारण थुप्रै सामाजिक समस्या देखिएका छन्। 

तर पर्यवेक्षकहरूले चीनमा बढ्दो पुस्तान्तरणबारे कमैमात्र ध्यान दिएका छन्। आयस्रोतमा अन्तरजस्तै युरोप र अमेरिकामा पनि यो समस्याले विकराल रूप लिएको छ। के चीनका योजना निर्माताहरू युवासम्म पुगेका छन्? के चीनका मिडिया युवासम्म पुगेका छन्? छैनन्। किनभने उनीहरू एउटै भाषा बोलिरहेका छैनन्। आजभोलि विश्वव्यापी बनिसकेको प्रविधिले चीनमा पुस्तान्तरणको दूरी फराकिलो बनाएको छ। प्रविधिले नयाँ भाषा जन्माइरहेको छ। 

हाम्रो पुस्ताले बोल्ने भाषाभन्दा आजका युवाहरूले बोल्ने भाषा निकै भिन्न छ। जसरी हरेक भाषा समयसँगै विकास हुँदै जान्छ, चिनियाँ भाषा पनि हजारौं वर्षको इतिहासदेखि उल्लेख्य मात्रामा परिवर्तन हुँदै आएको छ।

अंग्रेजी भाषामा पनि उल्लेखनीय परिवर्तन भएको छ। धेरै मानिस आफूलाई शेक्सपियर मनपर्ने बताउँछन्। तर वास्तवमा उनीहरूले शेक्सपियरको भाषा बुझेका हुँदैनन्। शेक्सपियर बुझ्न तपाईंले हरेक वाक्य वाक्यलाई आजको भाषामा अनुवाद गर्नुपर्ने हुन्छ किनभने शताब्दियौंदेखि अंग्रेजी भाषामा धेरै परिवर्तन हुँदै आइरहेको छ। 

प्रविधिले भाषामा आएको यो परिवर्तनलाई सहज बनाएको छ। चिनियाँ भाषा पनि आज अरू कुनै पनि समयमा भन्दा तीव्र गतिले परिवर्तन भइरहेको छ। तर, चीनमा विकास भइरहेको यो नयाँ प्राविधिक भाषा अमेरिका वा युरोपका युवाहरूको भन्दा केही फरक छैन। 

हामी निकै प्रतिस्पर्धापूर्ण समयमा बाँचिरहेका छौं। नवदम्पतीहरू आफ्नो जीवनबारे धेरै प्रकारले सोच्ने गर्छन्। कसरी जीवन अघि बढाउने र कसरी समृद्ध बन्नेबारे विचार गर्छन्। त्यसैले चीनमा धेरै नवदम्पती छोराछारी पाउनेतिरभन्दा आफ्नो वृत्तिविकास (करिअर), यात्रा र आफ्नै जीवनशैलीमा केन्द्रित हुन थालेका छन्। 

यो अवस्था युरोपको भन्दा फरक छैन। यो एउटै प्रकारको धार हो। यो धारमा हामी चिनियाँ संस्कृति होइन, विश्वव्यापी अर्थतन्त्र र प्रविधि फेला पार्न सक्छौैं। चिनियाँहरू पहिले आफ्नो परिवार र भविष्यबारे निकै जोडिएका हुन्थे। तर आजभोलिका युवा दम्पतीहरू बालबच्चा जन्माउनै चाहिरहेका छैनन्। 

यो खासमा प्रगति हो वा दुर्गति ? बच्चा जन्माउन नचाहने दम्पतीबारे चीनको अनुभव युरोपसँग धेरै मेल खान्छ। शिक्षा निकै महँगो भइरहेको छ। दम्पतीहरू आफ्ना छोराछोरीलाई सर्वोत्कृष्ट शिक्षा दिन चाहन्छन्। युरोप र उत्तरअमेरिकामा जस्तै चीनमा पनि धेरै दम्पतीका लागि बालबच्चा हुर्काउने पैसा निकै धेरै ठूलो आकारको हुने गरेको छ। 

त्यसमाथि प्रविधिले ‘मपाई मार्का’ पुस्ता जन्माएको छ। अधिकांश युवा आफ्नो जीवन, आजको जीवन र खुसीमा केन्द्रित छन्। उनीहरूलाई परिवारबारे कमै मात्र चासो हुन थालेको छ। पछिल्लो पुस्ताका निम्ति केही छोडेर जानुपर्छ भन्ने भावना उनीहरूमा क्षीण बन्दै गएको छ। धेरैले सोध्न सक्छन्, ‘उनीहरूले किन यी सबै कुराको चिन्ता लिनुपर्छ र? आखिरमा मानिसको ठाउँ सबै रोबोटले नै लिने हो ।’

छोटोमा भन्नुपर्दा, प्रविधि र सामाजिक सञ्चारमाध्यमका कारण आजको चिनियाँ युवा अमेरिकी र युरोपेली युवाबीच निकै कममात्र भिन्न र धेरै समान हुन थालेका छन्। प्रविधिले विकास गरेको भाषा र सञ्चारमा सरलताले आज चीनमा बुवाआमा पुस्ता र छोराछोरी पुस्ताबीच अन्तर बढ्दै गएको छ। 

सुधार र खुलापनको नीतिले आजका चिनियाँ युवालाई भौतिक संसारभन्दा पर जाने आधार तयार गरिदियो भन्ने एकथरी दृष्टिकोण छ। यसले उनीहरूलाई बा“की संसारको हिस्सा बन्ने अवसर प्रदान गरेको छ। नयाँ पुस्तालाई यो नीतिले अझ आपसमा गा“सिएको, बहुआयामिक र ऊर्जाशील विश्व नेता बन्ने अवसर दिएको छ। 

युरोप र अमेरिकामा आज उठिरहेको राष्ट्रवाद, लोकप्रियतावाद, अभूमण्डलीकरण र आक्रोशले संसारलाई अझ धुव्रीकरणतिर डोहो-याएको छ। सामाजिक सञ्जालहरूले हिंसा र आक्रोशलाई पनि फैलाइरहेको छ। ध्रुवीकरण आज मूलधार बनिरहेको छ। 

मेरो विचारमा एसियाली मूल्यमान्यताको अन्तर्य भनेको सद्भाव र सहकार्य हो। यिङ–याङ, कालो–सेतो विपरीतार्थक होइनन्। उनीहरू आपसमा जोडिएको पूर्णता हो। के चिनियाँ युवाले यो आदर्शलाई संसारसम्म पु¥याउन सक्छन्? के उनीहरूले यससम्बन्धी एप्स र सामाजिक सञ्चार भिडियो तयार गर्न सक्छन्? 

मेरो विचारमा चीन, भारत, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका युवाका मूल्य मान्यताको अन्तर्यमा सद्भाव र सन्तुलन छन्। यो नै उनीहरूको सांस्कृतिक डीएनए हो। के हामीले वातावरण संरक्षण, सञ्चार, स्वास्थ्य सेवा र अन्तरिक्ष यात्राजस्ता नया“ क्षेत्रको विकासका लागि प्रविधिलाई दर्शनसँग जोड्न सक्छौं? त्यसो गर्न सके हामीले आजभन्दा निकै भिन्न खालको पृथ्वी बनाउन सक्नेछौं। त्यो विश्व वैमनश्य र परिणामशून्यबाट मुक्त हुनेछ। 

कुनै एउटा मात्र देश नै नम्बर १ हो भन्ने निष्कर्षले हामीलाई पछाडि धकेल्नेछ। त्यसो हुँदा सिंगो संसारका लागि साझा मानिसको रुपमा हामी अघि बढ्न सक्ने छैनौं। त्यसकारण चीन र बा“की विश्वको नयाँ पुस्तालाई कसरी हेर्ने भन्ने कुरा वास्तवमै हामीमा भरपर्ने कुरा हो।

नयाँ पुस्ता आधुनिक सञ्चारका कारण सिंगो संसारसँग पूर्णतः एकीकृत भइसकेको छ। उनीहरूले आफ्ना आमाबुवाको पुस्ताका सफलता र कमजोरीबाट सिकेर अझ सुन्दर संसार बनाउन काम गर्ने आशा गरौं। म यो पुस्तालाई विश्वास गर्छु। 

(लेखक हिमालय कन्सेससका संस्थापक निर्देशक र सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसनका अनुसन्धानकर्ता हुन्।)
चाइना डेलीबाट नीरज लवजूले गरेको अनुवाद

 

प्रकाशित: ११ चैत्र २०७५ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App