१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

प्रतिमिनेट गुड्छन् २१७ सवारी

हिमाल लम्साल
काठमाडौंको व्यस्त र अत्याधिक जाम हुने सडकमा पर्छ, कोटेश्वर–भक्तपुर सडकखण्ड। जहाँ सवारी साधन दैनिक १० मिनेटदेखि डेढ घण्टासम्म ट्राफिक जाममा पर्ने गर्छन्। काठमाडौं महानगरपालिका सहरी विकास आयोजनाले गरेको प्रारम्भिक सर्भेले पनि कोटेश्वर–भक्तपुर सडकखण्डमा अत्याधिक सवारीसाधन गुड्ने तथ्य फेला पारेको छ। सर्भेले कोटेश्वर–भक्तपुर सडकखण्डमा प्रतिमिनेट दुई सय १७ सवारीसाधन गुड्ने देखाएको छ। यो तथ्यांक बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्मको हो।

सर्भे समितिका सदस्य तथा पूर्वट्राफिक प्रहरी सीताराम हाछेंथुले दुई साताको प्रारम्भिक सर्भेले कोटेश्वर–भक्तपुर सडकखण्डमा प्रतिमिनेट दुई सय १७ वटा सवारीसाधन गुड्ने तथ्य फेला पारेको बताए। ‘यो सडकखण्डमा पिक आवरमा दुई सय १७ वटा सवारीसाधन गुड्ने सर्भेले देखाएको छ,’ उनले भने, ‘यो एक दिन मात्रै गरेको सर्भेको रिपोर्ट होइन। दुई सातासम्म लगातार  गरेको सर्भेको सरदर रिपोर्ट हो।’

काठमाडौं महानगरपालिका सहरी विकास आयोजनाले गरेको प्रारम्भिक सर्भेले कोटेश्वर–भक्तपुर सडकखण्डमा प्रतिमिनेट दुई सय १७  सवारीसाधन गुड्ने देखाएको छ।

उनका अनुसार अब सवारीको चाप अनुसार नै ट्राफिक व्यवस्थापन समिति रणनीति बनाउनुपर्ने जरुरी भइसक्यो। काठमाडौं महानगरपलिका सहरी विकास आयोजनाले गरेको प्रारम्भिक सर्भेले भक्तपुरबाट कोटेश्वरतर्फ बिहान र बेलुकाको पिकआवरमा १९ हजार ३ सय ३४ दुईपांग्रे सवारीसाधन कोटेश्वर भित्रिने गरेका छन्। सर्भे अनुसार भक्तपुरबाट कोटेश्वरतर्फ बिहान ६ हजार ४ सय ६८ चार पांग्रे सवारीसाधन भित्रिने गर्छन्। बेलुकीपख कोटेश्वरबाट भक्तपुरतर्फ ८ हजार १ सय ७० चार पांग्रे गाडी जाने गरेको प्रारम्भिक अध्ययनले देखाएको छ।

कोटेश्वर चोकमा पिक आवरमा २० हजारले बाटो काट्छन्
अध्ययनले कोटेश्वर चोकमा बिहान ९ बजेदेखि ११ बजेसम्मको पिक आवरमा १० हजार १ सय ७५ जना पैदलयात्रुले बाटो काट्ने गर्छन्। त्यस्तैगरी बेलुकाको ४ बजेदेखि ६ बजेसम्मको अवधिमा १० हजार ७० जनाले बाटो काट्ने गरेका छन्। भक्तपुरबाट सातदोबाटोतर्फ जाने सवारीको संख्या १० प्रतिशत मात्रै देखिएको छ।

बानेश्वर चोकमा पनि पैदलयात्रुको लागि आकाशे पुल चाहियो
बानेश्वर चोकमा बिहानको पिक आवरमा पाँच हजार ८ सय ६२ पैदल यात्रुले बाटो वारपार गर्ने भेट्टिएको छ। बेलुकको पिक आवरमा ६ हजार ४ सय ७४ जनाले बानेश्वरको चोकबाट बाटो वारपार गर्ने महानगरको प्रारम्भिक सर्भेले देखाएको छ। पूर्वट्राफिक प्रहरी हाछेंथु प्रारम्भिक सर्भेले बानेश्वर र कोटेश्वर चोकमा पैदलयात्रुको लागि अनिवार्य रूपमा आकाशेपुल वा ओभरहेड ब्रिज बनाउनुपर्ने बताउँछन्।

कोटेश्वर चोकमा बिहान र बेलुकाको पिक आवरमा मात्रै २६ हजार भन्दा धेरै सवारीसाधन गुड्ने गर्छन। कोटेश्वर चोकमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ४ देखी ६ बजेसम्म २० हजार भन्दा धेरै पैदलयात्रुले बाटो काट्ने गर्छन्। जसको कारणले कोटेश्वर चोकमा पैदलयात्रुको लागि तत्कालै आकाशे पुलको आवश्यकता देखिन्छ।

प्रहरी निरीक्षक हाछेंथु कोटेश्वर चोकमा अन्डरपास तथा फ्लाइओभरको विकल्प नभएको बताउँछन्। ‘कोटेश्वर चोकमा जामको दीर्घकालीन अन्त्य गर्न अन्डरपास वा फ्लाइओभरको विकल्प छैन,’ उनले भने, ‘अहिले कोटेश्वर चोकमा तीनैतर्फ घुमेको आकाशे पुलको आवश्यकता भइसक्यो।’

टुँडिखेलमा प्रतिमिनेट २९४ सवारीको चाप
टुँडिखेलमा प्रतिमिनेट दुई सय ९४ वटा सवारीसाधन गुड्ने गरेका छन्। महानगरले गरेको प्रारम्भिक सर्भेका अनुसार टुँडिखेल आसपासमा प्रतिमिनेट १ सय ८३ वटा दुई पांग्रे सवारीसाधन चल्ने गरेका छन्। त्यस्तैगरी १ सय ९ वटा चार पांग्रे सवारी गुड्ने गरेको छन्।

काठमाडौंको मुख्य चोकमध्ये अत्यधिक मात्रामा टुँडिखेल आसपासमा सबैभन्दा धेरै सवारीको चाप हुने गरेको सर्भेले देखाएको थियो। काठमाडौं महानगरपालिका सहरी विकास योजनाका शाखा अधिकृत सुशील सुवेदीले महानगरपालिकाले आन्तरिक रूपमा ट्राफिक व्यवस्थापनको विषयमा अध्ययन भइरहेको बताए।

काठमाडौं महानगरपालिका सहरी विकास आयोगका सदस्यसचिव सरोज बस्नेतले काठमाडौं उपत्यकाको कोर एरिया र मुख्यचोकमा सवारी तथा यात्रुको चापको विषयमा अध्ययन भइरहेको बताए। ‘सहरी विकास आयोगले कुन चोकमा कति सवारीसाधन गुड्छन्। कति पैदलयात्रुले बाटो काट्छन् भन्ने विषयमा अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘अहिले  ट्राफिक व्यवस्थापनको अध्ययन गरिरहेका छौं। अबको केही समयभित्रै महानगरपालिकालाई प्रतिवेदन बुझाउनेछौं।’ उनका अनुसार  टुँडिखेल, काठमाडौं मल अगाडि, रत्नपार्क, सहिदगेट, पुतलीसडक, सिंहदरबार, थापाथली, माइतीघर, बानेश्वर, कोटेश्वर लगायतका १३ स्थानको सवारीचाप र पैदलयात्रुको चापको विषयमा अध्ययन गरिरहेका छौं। अहिले दुई पांग्रे र चार पांग्रे सवारीसाधन कति गुड्छन् भनेर अध्ययन गरिरहेका उनले बताए। ‘काठमाडौंको कोर एरियाको सवारीचाप र पैदलयात्रुको चापको अध्ययनपश्चात निर्माण गर्नुपर्ने पूर्वाधारको बारेमा सुझाव दिनेछौं,’ उनले भने, ‘लगभग अध्ययन सकियो। अब प्रतिवेदन तयार पारेर महानगरलाई हस्तान्तरण गर्नेछौं।’

टुँडिखेल आसपासमा प्रतिमिनेट २९४ सवारीसाधन गुड्ने गर्छन्।

किन अत्याधिक जाम हुन्छ कोटेश्वर–भक्तपुर सडकखण्डमा ?
सूर्यविनायक–कोटेश्वरको दूरी १२.८ किलोमिटर छ। कार्यालय समयमा अर्थात् (पिक आवर)मा  यो दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई एक–डेढ घण्टासम्म लाग्ने गरेको छ। ट्राफिक नियमअनुसार सहरी क्षेत्रमा प्रतिघन्टा ४० किलोमिटरसम्म गतिमा सवारीसाधन गुडाउन पाइन्छ। यो गतिमा गाडी गुड्न पाउने हो भने सूर्यविनायक–कोटेश्वरको दूरी  १९  मिनेटमै तय गर्न सकिन्छ। तर, अत्यधिक ट्राफिक जामकै कारणले १९ मिनेटमा पार गर्न सकिने दूरीका लागि समेत एक–डेढ घन्टा लाग्ने गरेको छ। सूर्यविनायकदेखि कोटेश्वरसम्म कम्तीमा चार स्थानमा लामो जाम हुने गर्छ। पिक आवरमा कौशलटार, लोकन्थली र जडीबुटी चोक पार गर्न बढीमा डेढ घन्टासम्म लाग्ने गर्छ। महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक  भगिरथ रेग्मीले भक्तपुरबाट आउने सवारीसाधन १० मिनेट देखि ४० मिनेटसम्म जाम हुने बताउँछन्। ‘कोटेश्वर चोकको सडक ‘बोतलको घाँटी’ जस्तै आकारमा साँघुरिएको छ,’ उनले भने, ‘कोटेश्वरबाट आएको आठ लेनको सडक दुई लेनमा खुम्चिएको छ। त्यतिमात्रै होइन, एयरपोर्ट एरियाबाट आउने सवारीसाधन पनि दुई लेनमा नै खुम्चिएको छ। जसको कारणले ट्राफिक जाम बढेको हो।’

पूर्वट्राफिक प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ सहर विस्तारको तुलनामा चोकहरू व्यवस्थापन हुन नसकेकाले जाम बढेको बताउँछन्। ‘सडकको इन्जिनियरिङ अनुसार चोक व्यवस्थापन गर्नै सकेनौँ,’ उनले भने, ‘त्यसले अहिले समस्या देखिएको हो।’ उनले चोकहरू गाडी घुमाउन मिल्ने गरी ‘ओभल सेप’मा हुनुपर्ने बताए। ‘यहाँका अधिकांश चोक ९० डिग्री कोणमा बनेका छन्,’ श्रेष्ठले भने, ‘दुई–चार सवारी घुम्नेबित्तिकै चोक अस्तव्यस्त हुने अवस्था छ।’ ट्राफिक प्रहरीका अनुसार कोटेश्वर भित्रिने सवारीसाधन पछिल्लो समय अत्याधिक ढंगले वृद्धि भएको छ।

प्रकाशित: ११ चैत्र २०७५ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App