१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्य

तीन धाम

भेडेटार
रोमाण्टिक डेष्टिनेशनका रुपमा ख्याती कमाएको छ भेडेटारले। यो हिलस्टेशन (१,४२० मिटर) हो। सुनसरी र धनकुटा सीमा बजार। सधैं चिसो हुन्छ भेडेटार। त्यसैले पूर्वी नेपालका युवा गर्मी छल्न त्यहाँ पुग्छन्। भारतीय पर्यटक पनि आइपुग्छन्।  भेडेटारमा चार दर्जन हाराहारीमा होटल छन्। भेडेटार भञ्ज्याङमा किरात भाषा, साहित्य र संस्कृतिका अन्वेषक इमानसिंह चेम्जोङको सालिक छ।

त्यहाँ शंखेश्वर महादेव मन्दिर छ। शंख आकारको १८ फिट अग्लो मन्दिर भित्र महादेव छन्। शंखेश्वर हातामा किरातेश्वर, बुद्ध र शिवका मूर्ति छन्। मन्दिर कलाकार रोजन राईले बनाएका हुन्। भेडेटार सेरोफेरो घुम्न लायक छ। १० किमिमा सिम्सुवा झरना (नमस्ते झरना) छ। जुन ५५ मिटर लामो छ। त्यहाँ क्यानोनिङ गराइन्छ।

भेडेटार तीसको दशकदेखि चर्चित बन्यो। जब धरान–धनकुटा सडक खन्न सुरु भयो, संखुवासभा, ताप्लेजुङ, भोजपुरलगायत जिल्लाबाट हिँडाएर हुलका हुल भेडा धरान  ल्याइन्थ्यो। तिनलाई भेडेटारमा राखिन्थ्यो। भेडा राख्ने र चराउने टार भएकाले भेडेटार भनिएको। भेडेटारबाट कुम्भकर्ण, सगरमाथा र मकालु हिमाल देखिन्छ। डाँडाबाट तीन किमि दुरीमा पाथिभरा मन्दिर छ। त्यहाँ साँगुरीगढी छ, लिम्बु राजा सायोक हाङले बनाएको गढी।

आन्तरिक पर्यटकको भिड लाग्ने गन्तव्य हुन् भेडेटार, हलेसी र लुम्बिनी। तीनवटै ठाउँमा आरामदायी होटल तथा लज सुविधा छ।

भेडेटारबाट ४ किमिमा छ नाम्जे गाउँ। अर्गानिक खाना, मगर संस्कृति र आत्मा बस्ने घर त्यहाँका विशेषता। मगरका पुर्खाको लास गाडिएका २१३ चिहानमा भएका ढुंगा बटुलेर बनाइएको सामूहिक चिहानलाई आत्मा बस्ने घर भनिन्छ।

कसरी पुग्ने : काठमाडौं–धरान ५५० किमि। धरान–भेडेटार १७ किमि. काठमाडौंबाट बिहान पाँच र दिउँसो तीन बजे धरान जाने डिलक्स गाडी छुट्छन्। बसमा १२ घन्टा।

हलेसीधाम
सडक जोडिएपछि हलेसीधाममा चहलपहल बढ्यो। खोटाङको हलेसीधाम हिन्दु, बौद्धमार्गी र किरातीको साझा तीर्थ मानिन्छ। हिन्दुका भगवान् शिव, बौद्धमार्गीका गुरु पद्मसंभव र किराती पुर्खा रैछाकुलेसँग सम्बन्धित ठाउँ।

हलेसी दर्शनले दुःखबाट मुक्ति, पदोन्नति, खडेरीबाट मुक्ति, सन्तान लाभ र निरोगी हुने जनविश्वास छ। गुफामा धर्मद्वार, जन्मद्वार र पापद्वार छन्। गुफाका मूर्तिलाई धर्मपिच्छे फरक–फरक नाउँले पुजिन्छ। तीर्थालुहरू गुफामा आ–आफ्नै हिसाबले पूजा गर्छन्। बत्ती बाल्छन्। ध्यानमा बस्छन्। हलेसी गुफामा महादेवको बास भएको मानिन्छ। त्यहाँ शिवलिंग, गणेश, कुमार र पार्वतीका मूर्ति छन्।

किरातीहरू हलेसीलाई पितृ मान्छन्। उनीहरूका पुर्खा रैछाकुलेले गुफा पत्ता लगाएको मानिन्छ। हलेसीधाम माथि तुवाचुङ डाँडामा किराती आदि पूर्खा तोयामा र खियामासँग सम्बन्धित तान ढुँगा छ।  बौद्धमार्गीले हलेसीलाई मारातिका भन्छन्। हलेसीमा बसेर ध्यान गरेपछि गुरु पद्मसंभव चिरञ्जीवी बनेका हुन्। गुफा छेउमा मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा र गणेश मन्दिर छ।  

हलेसी गुफा पश्चिमपट्टि बसाहा गुफा छ। त्यसको पल्लोछेउमा पुगेर हेर्दा माथि आकाश खुला देखिन्छ। गुफा भएको पर्वतलाई बौद्धमार्गी अवलोकितेश्वर पर्वत मान्छन्। बसाहा अघिल्तिरको बज्रपाणी र उत्तरपट्टिको मञ्जुश्री पर्वत। गुफामा बुद्धपूर्णिमा, लोसार, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी, तीज, उभौली र उधौलीमा मेला लाग्छ। हलेसीमा खान, बस्न सय भन्दा बढी होटल, लज र रिसोर्ट छन्। हलेसी गुफा नजिकसम्मै मोटर जान्छ।  

कसरी पुग्ने : काठमाडौंदेखि बनेपा–बर्दिबास सडकको खुर्कोट खण्डबाट मध्य पहाडी लोकमार्ग हुँदै घुर्मीबाट हलेसी पुग्न २१६ किमि। काठमाडौंको चाबहिल र कोटेश्वरबाट जीप छुट्छन्। जीपमा १० घन्टा।

लुम्बिनी
प्रदेश नं ५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउँदै छ। लुम्बिनी अर्थात् गौतम बुद्धको जन्मथलो। कपिलवस्तुका राजा शुद्धोदन र रानी मायादेवीको पहिलो सन्तानका रूपमा इसापूर्व ६२३ मा जन्मेका थिए गौतम बुद्ध। तिलौराकोट दरबारबाट माइती देवदह जान हिँडेकी मायादेवीले पुष्करिणी पोखरीछेउमा सिद्र्धाथलाई जन्म दिएकी थिइन्।    

लुम्बिनीको मायादेवी मन्दिरमा इसापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष छन्। सिद्धार्थको जन्मस्मारक शिला त्यहीँ छ। खासमा बुद्धको अर्थ ‘ब्युँझेको मानिस’। दरबारको सुख त्यागेर सिद्धार्थ गौतम ब्युँझिए। लोभ, ईष्र्या, घमण्ड, मोह र रिस त्यागे। शान्ति मन्त्र बाँडे।  

मन्दिर वरपर विहारका भग्नावशेष छन्। दक्षिणपट्टि पीपल चौतारी। त्यहाँ भिक्षु बौद्धमन्त्र जप्छन्। मन्दिर बाहिर अशोक स्तम्भ छ। विज्ञहरूले सन् १९९२–१९९६ सम्म लुम्बिनी उत्खनन गर्दा स्तम्भ र शिला भेटेका थिए। लगत्तै सन् १९९७ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत ग-यो।  

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले लुम्बिनीको गुरुयोजना बनाए। योजनाअनुसार ११ सय ५५ बिगाहा जग्गा अधिग्रहण गरियो। तीन खण्डमा बाँडियो। तीन वर्गमाइलमा उत्तर–दक्षिण फैलिएको भूमिमा उत्तरमा नयाँ लुम्बिनी गाउँ, बीचमा विहार क्षेत्र र दक्षिणमा मायादेवी मन्दिर सहित उद्यान बनायो।

लुम्बिनी ई रिक्सा, साइकल वा टयाक्सीमा घुम्नु पर्छ। बीचको नहरमा भने डुंगा चढ्ने सुविधा छ। लुम्बिनीमा खाना र बासको समस्या छैन। साना ठूला गरि ७० वटा होटल छन्।  

कसरी पुग्ने : काठमाडौं–लुम्बिनी ३२५ किमि। काठमाडौंबाट लुम्बिनीसम्म बसमा ८ घन्टा। काठमाडौं–भैरहवा हवाई यात्रा ३० मिनेट। भैरहवा–लुम्बिनी २० किमि। भैरहवामा लुम्बिनी जाने गाडी पाइन्छ।  

प्रकाशित: ९ चैत्र २०७५ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App