१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जसले इन्जिनियर पढाइ छाडेर विद्यालय स्थापना गरे

बिहानको पारिलो घाम। मोतीजस्तै टल्किएको हिमशृंखला। विद्यालयको आँगनमा लामबद्ध भएर राष्ट्रिय गीत गाइरहेका विद्यार्थी। स्टेजमा रहेका विद्यार्थी माइकबाट निर्देशन दिँदै थिए भने लामबद्ध अन्य विद्यार्थी निर्देशन पालना गर्दै थिए। सतर्कका साथ विद्यार्थीसँगै छेउमा उभिएका थिए शिक्षक।

यो दृश्य हो, मेलम्ची घ्याङ्ग माध्यमिक विद्यालयको। विद्यालय २०४५ सालमा स्थापना भएको हो। विद्यालयका प्रअ हुन् पूर्णबहादुर गौतम। उनी प्रअको रूपमा काम गर्न थालेको ३४ वर्ष भइसक्यो। विद्यालयमा २०६३ सालदेखि कक्षा दससम्मको पढाइ सुरु गरिएको हो। गाउँको सामुदायिक विद्यालयबाट प्रत्येक वर्ष शतप्रतिशत नतिजा निकाल्न सफल भएको उनको दाबी छ। सफलता हात पार्नको लागि इच्छाशक्ति मुख्य रहेको उनी बताउँछन्। सरकारी विद्यालयलाई सफल र शतप्रतिशत नतिजा दिने स्थानसम्म आउन धेरै मेहेनत गर्नुपरेको उनी अनुभव सुनाउँछन्।

‘आफ्नो कामप्रति जिम्मेवार भएर लागे–देखेको सकारात्मक सपना पूरा हुन्छ,’ उनले भने। १८ जना शिक्षकमध्ये ५ स्थानीय र १३ बाहिरबाट अध्यापनको लागि मगाएको उनले जानकारी दिए। ‘हाम्रो विद्यालयमा १८ शिक्षक छौं, १० जना शिक्षकलाई सरकारी तलब दिएका छौं भने बाँकी ८ लाई निजी स्रोतबाट उपलब्ध गराएका छौं।’ हेलम्बु पर्यटकीय स्थल भएकाले यहाँ आउने विदेशी पर्यटकबाट सहयोग पाइने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘पर्यटकले गरेको आर्थिक सहयोगबाट निजी स्रोतका शिक्षकलाई तलब व्यवस्था गर्छाैं।’

विद्यालय स्थानीय बासिन्दाको पहलमा स्थापना भएको हो। विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुने गरेको छ। ‘भूकम्पपछिको भग्नावशेष विद्यालय बनाउन विदेशी संस्थाले सहयोग गरेको छ। विद्यालय बन्दैछ, आगामी अप्रिलसम्म केही बनिसक्छ,’ उनी भन्छन्, ‘केही बनाउन बाँकी नै छ, हामीलाई अझै आठ कक्षाकोठा अपुग भइरहेको छ, सहयोगको अपेक्षामा छौं।’  विद्यालयमा विभिन्न जिल्लाका विद्यार्थी होस्टलमा बसेर अध्ययन गरिरहेको उनले बताए।

विद्यालयमा प्रयोगात्मक तरिकाले अध्यापन गराउने उनी बताउँछन्। ‘विद्यार्थीलाई परीक्षामा बढी नम्बर ल्याउने मात्र होइन, जीवनमा नै सफल बनाउन शिक्षकले मेहेनत गर्नुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘विद्यार्थीलाई पठनपाठनमा मन लाग्ने बनाउनको लागि के गर्न सकिन्छ भन्ने विषयमा अभिभावक र शिक्षक बसेर छलफल गर्छौं, विभिन्न शैक्षिक क्रियाकलापमा अग्रसर बनाउनेदेखि पाठ्यक्रमको पहिले नै योजना तयार गर्छौं।’ विद्यार्थीले बुझ्न सक्ने सामथ्र्य अनुसार पठनमा जोड दिँदै आएको उनी बताउँछन्। विद्यालयमा बाहिरी जिल्लाका विद्यार्थीसमेत अध्ययनका लागि आउने गरेको उनले बताए। उनका अनुसार विद्यालयमा बाहिरी जिल्लाका १२ विद्यार्थी छन्। ‘दैनिक चार छाक खानाका लागि ८५ रूपैयाँमात्र तिर्नुपर्छ, अन्य रकम निःशुल्क छ,’ उनले भने। विद्यालयमा निःशुल्क अध्ययन गर्न पाइने भएकाले बाहिरी जिल्लाबाट विद्यार्थी आउने गरेको उनको भनाइ छ। उनका अनुसार २५२ विद्यार्थीलाई होस्टेलमा राखिएको छ।
विद्यालयमा अध्ययन गर्न चाहनेले प्रवेश परीक्षा दिनुपर्ने उनको भनाइ छ। प्रवेश परीक्षामा गरेको पर्फमेन्स अनुसार विद्यार्थीको क्षमता अभिवृद्धि  गरिने उनले बताए। विद्यालयमा गत वर्ष २४ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए।

विद्यालयमा अपांगमैत्री वातावरणसमेत रहेको उनी बताउँछन्। सबैको मेहनतले विद्यालयले शत प्रतिशत नतिजा निकालेको उनले बताए। ‘परीक्षामा शत प्रतिशत नतिजा दिन मेहनत पनि गरिरहेका छौं,’ उनी भन्छन्, ‘शिक्षक पनि विद्यालयको गुणस्तर बढाउन लागिरहनुहुन्छ।’ शिक्षकको क्षमता अभिवृद्धिका लागि पनि पहल गरिरहेको उनको भनाइ छ। ‘शिक्षकको क्षमता अभिवृद्धिका लागि तालिममा पठाउने गरेको छु,’ उनी भन्छन्।विद्यालयबाट एसइईपछि माथिल्लो तहमा पढ्नेले राम्रो अंक ल्याएकोमा उनी खुसी छन्।

पहाडको टाकुरामा सानो कोठाबाट विद्यालय सुरु गर्दा धेरै चुनौती सामना गर्नुपरेको उनी बताउँछन्। ३४ वर्षअगाडिको कुरा सम्झदै उनी भन्छन्, ‘एसएलसीपछि पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन गर्ने सोचमा थिएँ। तर, शिक्षक भएँ। यसमा म खुसी र सन्तुष्ठ छु।’ दुई महिना साथीसँग हेलम्बु घुम्न जाने सोचले आएका गौतमले यहाँ विद्यालय नभएको थाहा पाए। त्यसपछि उनलाई इन्जिनियर पढ्नुभन्दा पनि हेलम्बुमै विद्यालय खोल्ने सोच आयो।

विद्यालयको सुरुवातका क्रममा दोर्जे शेर्पा र लाकु दोर्जे शेर्पा संस्थापक रहेको उनले बताए। ‘मैले हेलम्बुवासीसँग विद्यालय खोल्छु, खान–बस्न दिनुस् भनेपछि उहाँहरूले मान्नुभयो, त्यसपछि मात्रै विद्यालय स्थापना भएको हो,’ उनले मुस्कुराउँदै भने। परिवारको अनुमति नपाए पनि आफ्नो इच्छा र चाहनाले विद्यालय स्थापना गरेको उनी सम्झन्छन्। त्यही कामले सन्तुष्ठ रहेको उनको भनाइ छ। ‘सुरुवातमा १९ विद्यार्थी थिए,’ उनले सम्झिए, ‘त्यसपछि निमावि हुँदै मावि बनाइयो।’

आसपासका होटल सञ्चालकलाई पर्यटकलाई विद्यालयको बारेमा बताइदिन आग्रह गरेका छन्। विद्यालयको आर्थिक स्रोत पर्यटकले पूरा गरेको उनी सुनाउँछन्। मेलम्ची घ्याङ्ग विद्यालयमा किन्डर गार्डेन र कक्षा दश सम्म गुणस्तरिय र रोचक तरिकाबाट अध्यापन गराउँने उनी बताउँछन्। मेलम्ची घ्याङ्गमा अंग्रेजी माध्यमबाट अध्यापन गराइने उनी बताउँछन्। उनी भन्छन्, ‘अन्तराष्ट्रिय जगत सम्म अग्रेजी भाषाको निकै महत्व छ तसर्थ मेलम्ची घ्याङ्गका विद्यार्थीलाई अग्रेजीमा समस्या नहोस् भनी सानैबाट अभ्यास् गराउदै छौ।’ मेलम्ची घ्याङ्गमा अगेजी मात्र नभएर कक्षा १ देखि ५ सम्म तिब्बतीयन भाषा अध्यापन गराउँदै आएको उनले बताए। पहिले पढाउँने तौरतरिका निकै फरक भए पनि अहिले पढाउने तरिकामा धेरै परिमार्जन भएको उनी अनुभब सुनाउँछन्। ‘म शिक्षक भएकोमा निकै खुसी अनी सन्तुष्ट छु’ उनले भने।

प्रकाशित: २ चैत्र २०७५ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App