१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्रेक्जिट सम्झौताको प्रस्ताव फेरि अस्वीकृत

प्रधानमन्त्री मेले बेलायको तल्लो सदन ‘हाउस अफ कमन्स’मा प्रस्तुत गरेको ब्रेक्जिटसम्बन्धी नयाँ प्रस्तावमा मतदान गर्दै सांसद।तस्बिर : एजेन्सी

लन्डन - बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स’ले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट)सम्बन्धी नयाँ प्रस्ताव फेरि बहुमतले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले गत जनवरीमा ल्याएको पहिलो प्रस्ताव पनि बेलायती संसद्ले भारी बहुमतले अस्वीकृत गरेको थियो ।

बेलायत आगामी मार्च २९ मा युरोपेली संघबाट औपचारिक रूपमा बाहिरिने कार्यक्रम छ । अर्थात् सो मितिदेखि युरोपेली संघका नियम बेलायतमा लागू हुने छैनन् । त्यसैले सो मितिअघि नै युरोपेली संघसँग सम्झौता गर्ने बारे प्रधानमन्त्री मेले ल्याएको प्रस्ताव दोस्रो पटक पनि असफल भएको हो । मंगलबार राति भएको मतदानमा प्रधानमन्त्रीको प्रस्ताव ३९१ का विरुद्ध २४२ ले अस्वीकृत भएको थियो । मतदान प्रक्रिया सुरु हुनुपूर्व प्रधानमन्त्री मेले आफूले तयार पारेको नयाँ प्रस्तावमा युरोपेली संघबाट कानुनी प्रत्याभूति प्राप्त भएको भन्दै संसद्ले आफ्नो प्रस्ताव स्वीकृत गर्ने विश्वास व्यक्त गरेका थिए ।

दोस्रो पटक पनि प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री मेले आफू निकै दुःखी भएको प्रतिक्रिया दिएकी छन् । खासगरी, युरोपेली संघको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको प्रान्तको रूपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने, बन्द गर्ने वा आंशिक खुला गर्ने भन्नेमा बेलायती संसद्मा मतान्तर रहेको छ ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीच सीमा खुला राख्दा युरोपेली संघका नियम बेलायतले पनि मान्नुपर्ने कानुनी जटिलता उत्पन्न हुने एकथरि सांसदको मतका कारण प्रधानमन्त्री मेको प्रस्ताव स्वीकृत हुन सकिरहेको छैन । दुवै आयरल्यान्डबीच सदियौंदेखि खुला सीमा र स्वतन्त्र आवागमन रहेको छ ।

मंगलबार संसद्समक्ष पेश गरिएको सम्झौता प्रस्ताव पारित नभएपछि बुधबार अबेर बिना कुनै सम्झौता युरोपेली संघ छाड्ने प्रस्तावबारे बेलायतको तल्लो सदनमा मतदान हुनेछ । दोस्रो पटक पनि प्रस्ताव अस्वीकृत भएपछि सम्झौता नगरीकनै बेलायतको युरोपेली संघबाट बहिर्गमन हुनुपर्ने बाध्यता उत्पन्न हुँदैछ । बुधबारको प्रस्ताव पनि पारित नभए संसद्मा बिहीबार ब्रेक्जिटको समयसीमा मार्च २९ लाइ बढाएर अरू तीन महिना थप्ने कि भन्ने विषयमा फेरि मतदान हुने बताइएको छ ।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App