१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल कुवेत र मलेसियासँग भिड्दै

फाइल तस्बिर।

काठमाडौं - आगामी चैत्र ७ र १२ गते नेपाली राष्ट्रिय पुरुष टोलीले कुवेत र मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नवनियुक्त प्रशिक्षक जोहान कालिनको प्रशिक्षणमा नेपालको राष्ट्रिय फुटबल टोलीले कुवेतसँग कुवेतमा खेलेको पाँच दिनपछि मलेसियासँग मलेसियामा नै मैत्रीपूर्ण खेल खेल्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । 

कुवेत र मलेसियासँग हुने खेललाई हालै मात्र राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका कालिनको परीक्षाका रूपमा हेरिएको छ । नेपालले अहिलेसम्म कुवेतसँग चार र मलेसियासँग छ मैत्रीपूर्ण खेल खेलेको छ ।

नेपालले पहिलो पटक कुवेतसँग सन् १९८२ को एसियन गेम्समा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३–१ ले पराजित भएको थियो । सन् १९८६ को एसियन कपमा पनि प्रतिस्पर्धा गरेको नेपाल ५–० ले पराजित भएको थियो भने सन् १९९४ को तेस्रो भेटमा पनि नेपाल ८–० ले पराजित भएको थियो । पछिल्लो पटक सन् २००० को एएफसी एसियन कपमा कुवेतसँग आमनेसामने हुँदा नेपाल ५–० ले पराजित भएको थियो । अहिलेसम्म भएको प्रतिस्पर्धामा नेपालले कुनै खेलमा पनि जित निकाल्न सकेको छैन । त्यसैले कुवेतसँगको खेलले नेपालको फुटबल उकालो चढ्ने क्रममा छ या छैन भन्ने जनाउनेछ । 

उता मलेसियासँग भने नेपालले अहिलेसम्म छ पटक मैत्रीपूर्ण खेल खेलेको छ । एक खेलबाहेक अन्य खेल गुमाएको नेपाल नयाँ इतिहासको खोजीमा हुनेछ । नवनियुक्त प्रशिक्षक कालिनले कुवेत र मलेसियासँग हुने मैत्रीपूर्ण खेल परीक्षा हुने बताए । ‘यो मेरो पहिलो कार्यभार हुनेछ । दुई मैत्रीपूर्ण खेल मेरो र टोलीका लागि परीक्षा हो,’ प्रशिक्षक कालिनले भने, ‘केही राष्ट्रिय खेलाडीसँगै एएफसी यु–२३ मा भएका खेलाडीलाई टोलीमा समावेश गरेको छु । सँगै नयाँ अनुहार पनि टोलीमा अटाएका छन् । यो खेलले नेपाली खेलको स्तर पनि चिनाउनेछ ।’

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App