१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुन्तलामा बोट सुक्ने समस्या

रावाबेंसी गाउँपालिकाको लामीडाँडामा सुन्तलाको सुकेका बोट। तस्बिर : नागरिक

खोटाङ – खोटाङको रावाबेंसी गाउँपालिकामा लगाइएको सुन्तलामा बोट सुक्ने समस्या देखिएको छ। सुन्तलाको पकेट क्षेत्रकारुपमा रहेको उक्त गाउँपालिकाको लामीडाँडा, खार्पा, कुभिन्डेलगायत वडामा लगाइएको सुन्तलाका बोट मर्ने समस्या देखिएको हो।

२०७३ यता देखिएको समस्याका कारण पकेट क्षेत्र भनिएका लामीडाँडाका किसानले लगाएका सुन्तलाका बगान रित्तिन थालेको छ। सुन्तलाको जरा कुहिने, हाँगा सुक्दै जाने, पात पहेँलो हुने र अन्तमा बोट नै सुक्ने समस्याले सुन्तलाको बगैंचा रित्तिएको रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका सुन्तला किसान डम्बरबहादुर श्रेष्ठले बताए। सुन्तला खेतीका लागि प्रख्यात मानिने लामीडाँडामा हिजोआज सुन्तला उत्पादन अनपेक्षित मात्रामा घटेको छ। पूर्वशिक्षक रहेका श्रेष्ठले २०५२ सालमा नमूना बगैंचा निर्माण गरी डेढ सय बोट सुन्तला रोपेकामा हाल बोट सुक्दै गएका हुन्। विगत तीन वर्षयता सुन्तलाका बोट मर्न थालेकाले कतिपय सुकेको बोट दाउराका रुपमा प्रयोग हुन थालेको छ। सुन्तलाका बोट मर्ने समस्या देखिएपछि किसान निरास छन्। मंसिरको अन्तिम सातादेखि पहेंलपुर हुनेगरी सुन्तला पाइने लामीडाँडामा सिजनमा समेत पर्याप्त सुन्तला पाइन छाडेको छ।

सुन्तलामा देखिएको समस्या निराकरण प्रयास नहुँदा कतिपय किसानमा सुन्तला खेतीप्रति जाँगर हराउन थालेको छ। बर्सेनि सुन्तलाको बोट मर्दै गएपछि नयाँ बोट लगाउँदा पनि एक–दुई वर्ष फल दिने र बोट सुकेर मर्ने गरेको स्थानीय खिलाराज श्रेष्ठले बताए। ‘आँप र जुनारमा किरा लाग्ने समस्या त थियो। अब सुन्तलामा पनि बोट सुक्ने समस्या आयो,’ श्रेष्ठले भने, ‘हामीले कृषिका जेटिएलाई समस्या बतायौं। तर, समस्या हल गर्नमा ध्यान दिइएन।’

खार्पा र कुभिन्डेमा २०७४ देखि सुन्तलामा समस्या देखिन थालेको हो। खार्पा र कुभिण्डेमा लगाइएका सुन्तलामा सुरुमा हाँगा सुक्ने, बोट मर्ने, साना बिरुवा पनि सुक्ने, फलमा किरा पर्ने समस्या देखिएको किसानको भनाइ छ। वडामा खटिएका जेटिएले जलवायु परिवर्तनका कारण सुन्तलाको बोट मरेको जवाफ दिने गरेको छ। सुन्तलाको बुढा बोट ढालेर नयाँ बिरुवा लगाउने गरेमा सुन्तलाको समस्या केही हल हुने लामीडाँडाका जेटिए द्रोण रेग्मीले बताए। सुन्तला बगानमा सिँचाइ व्यवस्थाका लागि गाउँपालिकाले ‘सुन्तला सिँचाइ तथा सुदृढीकरण’ कार्यक्रमका लागि पाँच लाख बजेट छुट्याइएको जनाएको छ।

प्रकाशित: १९ फाल्गुन २०७५ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App