१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१२ वर्षपछि काठमाडौंमा हिउँ

काठमाडौं - काठमाडौं उपत्यकामा १२ वर्षपछि हिउँ परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक २०६३ फागुन २ गतेजस्तै काठमाडौं उपत्यकामा हिउँ परेको हो। महाशाखाका अनुसार बिहीबार उपत्यकाआसपासका पहाड र उपत्यकाको पूर्वी क्षेत्रमा हिउँ परेको छ। वरिपरिका पहाडलगायत भक्तपुरका साँगा, सूर्यविनायकलगायतका ठाउँमा हिउँ परेको छ। पश्चिमी वायु प्रणालीको प्रभावबाट आएको बादल धेरै उचाइमा पुगेपछि उपत्यकामा हिउँ परेको मौसमविद् बताउँछन्।

बुधबार राति र बिहीबार बिहान काठमाडौंमा आएको बादल धेरै उचाइमा पुगेको उनीहरूको भनाइ छ। मौसमवीद् समिर श्रेष्ठले भने, ‘बादल जति उचाइमा पुग्यो, त्यति नै चिसो बढ्छ, जसबाट हिउँ पर्ने सम्भावना रहन्छ।’ बिहीबार बिहान काठमाडौंको बादलमा ‘क्युमलो निम्बस’ आएको मौसमविद्हरू बताउँछन्। ‘यो भनेको धेरै उचाइको बादल हो। यसबाट चिसो बढेपछि जमिनमा आएको हिउँ पनि पग्लन पाउँदैन’, श्रेष्ठले भने। बिहीबार काठमाडौंको तापक्रम पनि ह्वात्तै घट्यो। बुधबारसम्म काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलब ६ थियो भने बिहीबार २ मा झरेको थियो। यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा २६ दशमलब ८ मिलिलिटर वर्षा भएको छ। महाशाखाले शुक्रबारदेखि काठमाडौंको मौसममा सफा हुने जनाएको छ।

बिहीबार काठमाडौंको तापक्रम पनि ह्वात्तै घट्यो। बुधबारसम्म काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलब ६ थियो भने बिहीबार २ मा झरेको थियो।

महाशाखाका अनसार शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। शनिबार भने काठमाडौंमा फेरि बादल लाग्ने सम्भावना छ। शनिबार देशको पश्चिमी र मध्य भागमा सामान्य बदली रही पूर्वी नेपालमा आंशिक बदली हुनेछ। यसैगरी शनिबार पश्चिमी नेपाल र अन्य पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुुने सम्भावना छ भने पश्चिमी उच्च हिमाली भूभागमा हल्का देखि मध्यम र अन्य उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा भएको महाशाखाले जनाएको छ। यस वर्ष हिउँदमा पटकपटक पश्चिी वायु प्रणाली नेपालमा भित्रियो। जसबाट यस वर्ष देशका अधिकांश ठाउँमा औसतभन्दा बढी वर्षा भएको मौसमविद्हरूले जनाएका छन्।

प्रकाशित: १७ फाल्गुन २०७५ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App