१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दोषीलाई कठघरामा ल्याउँछौं : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले एनसेलको टावरमा लक्षित गरी बम विस्फोट गराउने काम नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहको भएको सूचना प्राप्त भएको जानकारी दिँदै दोषीलाई कानुनी कठघरामा ल्याउन अनुसन्धान जारी रहेको बताएका छन्।

प्रतिनिधिसभा राज्य व्यवस्था समितिको आइतबारको बैठकमा गृहमन्त्री थापाले भने, ‘हामीलाई प्राप्त सूचनाअनुसार घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता देखिएको छ।’ अहिलेसम्म विस्फोटमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको गृहमन्त्री थापाले जानकारी दिए। उनले भने, ‘यो घटनाको प्रकृति हेर्दा केन्द्रीय योजनाअनुसार नै भएको पाइयो, यसबारे अनुसन्धान जारी छ। नेत्रविक्रम चन्दको पार्टीको हालै बसेको बैठकले पनि सत्तालाई उल्ट्याउने र समानान्तर सत्ता चलाउने निर्णय गरेको सूचना गृह मन्त्रालयले प्राप्त गरेको थापाले बताए। गृहमन्त्री थापाले यस घटनालाई सरकारले गम्भीररुपमा लिएको दाबी गरे। ‘देशको शान्ति सुरक्षाका लागि सरकार ठोस कार्ययोजना बनाउँदैछ’, उनले भने, ‘विगतमा उन्मुक्ति दिँदा हौसिएकालाई अब छाडिनेछैन।’

अहिले भएका विस्फोट तथा आगजनी आगामी मार्चमा हुने लगानी सम्मेलनलाई समेत प्रभावित पार्ने मनसायबाट भएको देखिएको गृहमन्त्री थापाले बताए। दुई दिनअघि फागुन १० र ११ गते देशका विभिन्‍न जिल्लामा भएका विस्फोट तथा आगजनीका घटना र त्यसमा भएको मानवीय एव धनमालको क्षतिबारे समिति सदस्यले सरकारको धारणा माग गरेका थिए।

फागुन १० र ११ गते बेलुका ७ देखि राति १२ बजेको बीचमा २१ जिल्लामा विस्फोट तथा आगजनीका घटना भएका थिए। त्यसको मुख्य निसाना एनसेलका टावर तथा कार्यालय रहेका थिए। प्रदेश नम्बर १ बाहेक ६ प्रदेशका विभिन्‍न जिल्लामा विस्फोट तथा आगजनी भएका छन्। विस्फोटको घटनामा एकजनाको मृत्यु भएको र दुईजना घाइते भएको गृहमन्त्रीले बताए। घाइतेको उपचारको जिम्मा सरकारले लिएको र मृतकका आफन्तलाई राहत दिनेबारे पनि सोचिरहेको उनले बताए। राज्य व्यवस्था समितिले बम विस्फोटको घटनामा घाइते भएकालाई उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App