१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रभावितलाई बेवास्ता गर्दै जलविद्युत् आयोजना

सार्वजनिक सुनुवाइमा गुनासो राख्न जम्मा भएका आयोजना प्रभावित स्थानिय। तस्बिर : मन्जु उप्रेती/नागरिक

रामेछाप – रामेछाप र सोलुखुम्बु जिल्लाको सिमाना भएर बग्ने लिखुखोलामा निर्माणाधीन अवस्थामा रहेका लिखु १, लिखु २ र लिखु ए जलविद्युत् आायोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई बेवास्ता गरेको दुखेसो प्रभावित क्षेत्रका सर्वसाधारणले गरेका छन्। 

आयोजनाले पीडितका गुनासो सम्बोधन नै नगरी मनोमानी ढंगले काम अघि बढाएको भन्दै स्थानीयले आयोजना र कर्मचारीको आलोचना गर्दै आफ्ना गुनासा सम्बोधन गर्नतर्फ आयोजनाले ध्यान नदिए चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिएका छन्। 

सोमबार जिल्लाको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा पान हिमालय इनर्जी प्रालि, ग्लोबल हाइड्रोपावर एसोसिएट प्रालि र नुम्बुर हिमालय हाइड्रोपावर प्रालिको संयुक्त आयोजनामा एमभी दुगड ग्रुपद्वारा निर्माणाधीन लिखु १, लिखु २ र लिखु ए जलविद्युत आयोजना सम्बन्धी जानकारीमूलक सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित अधिकांश प्रभावितले आयोजनाका काम र व्यवहारप्रति खरो आलोचना गर्दै तत्काल सच्याएर अघि बढ्न आग्रह गरेका छन्। 

सोमबारको सार्वजनिक सुनुवाइ कार्यक्रममा जम्मा भएका रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिका अधिकांश आयोजना पीडितले मौखिक र लिखित रुपमा गुनासो राखेका थिए। दुवै जिल्लाका सभासद्, पूर्वसभासद्, राजनैतिक दलका नेतृत्व, समन्वय प्रमुख, प्रशासनिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख र स्थानीय जनप्रतिनिधिसहितको छलफलमा अधिकांश पीडितले आयोजनाको कामको तीव्र आलोचना गरेका थिए। 
आयोजनाका कर्मचारीले प्रभावितलाई तल्लो तहको व्यवहार गरेको आरोप पीडितको छ। आयोजनाको गतिविधिलाई हेर्दा कुकुर जिउ र पुच्छर कुन हो पहिचान गर्न समस्या भएको सोलुखुम्बु चौलाखर्कका डबल बहादुर कार्कीले बताए। उनले परियोजनाले ठूलालाई चिप्लो घसेर चाकडी गर्ने र साना तथा निमुखालाई बेवास्ता गरेको आरोप लगाए। यतिबेला हाइड्रोपावर पहलमान (शक्तिवाला)को नजिक रहेको उनको भनाइ छ। 

पीडितका तर्फबाट लिखुपिके गाउँपालिकाका शुभराम बस्नेतले विस्तृत परियोजना प्रतिवेदनअनुसार सडक निर्माण गरिनु, आयोजनाका कारण जोखिममा परेका बस्तीलाई सुरक्षित गरिनुपर्ने, त्यहाँ काम गर्ने कर्मचारीको व्यवहार असभ्य भएको, श्रम इजाजत नभएका विदेशी कामदार हटाइनुपर्ने, स्थानीयलाई कामलाई प्राथमिकता दिनुपर्ने, बाहिरका मान्छेले गर्नुपर्ने कामसमेत आफ्नै मान्छे लगाएर गर्ने काम आयोजना आफैले गर्ने गरेकाले त्यो बन्द गरिनुपर्ने र स्थानीय क वर्गका ठेकेदारलाई बेवास्ता गरिएको लगायत आरोप  लगाउँदै २२ बुँदे लिखित माग आयोजनासमक्ष राखेका छन्। 

नेपाली कांग्रेस लिखुपिके गाउँपालिकाका तर्फबाट उद्धवप्रसाद सुवेदीले समेत आयोजनामा लिखित रुपमा १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। गुनासो राख्दा आफूहरु माथि नै धरपकड हुने गरेको, सार्वजनिक सुनुवाइमा नै प्रभावित सर्वसाधारणमाथि अपमानजनक व्यवहार गरेको उमाकुण्ड गाउँपालिका–१ का राजेन्द्र बस्नेतले बताए। आयोजना क्षेत्रमा सेनाले समेत मनोमानी तरिकाले बिस्फोटन गराउदा बस्तीमा समेत जोखिम बढेको स्थानीयको गुनासो छ। ‘लिखुखोला हाम्रो बिर्ता हो, आयोजनाले दादागिरी देखाएर स्थानीयलाई बेवास्ता गर्न पाइँदैन,’ स्थानीय पवित्रकुमार सुनुवारले भने। 

ललाइ फकाइ गरी कम मुल्यांकनमा जग्गाको मुअब्जा दिएको स्थानिय पीडित महिला शिबमाया बस्नेतले बताइन। 
यता आयोजनाका सल्लाहकार अध्यक्ष डिल्लीराम गिरीले आयोजना सञ्चालनका दौरानमा गल्ती तथ कमीकमजोरीहरु हुन सक्छन् तर सकभर नहोस भन्ने तर्फ आयोजना सजग रहन्छ नियम विपरितका कार्यहरु भएका छैनन यदि कहि कतैबाट भएको भए सच्याउन आयोजना तयार रहेको जानकारी दिए। उनले भने आयोजनका देखा परेका समस्या समाधानका लागि आफूहरु जतिखेर पनि तयार रहेको बताए। उनले प्रमाण सहित आउन र कानुनी रुपमा अघि बढन सबैमा आग्रह समेत गरे। उनले प्रभावितबाट आएका आयोजनाले गलत नै गरेको ठहर भएका गुनासाहरुलाई तत्काल सम्बोधन गरेर अघि बढने बताए। रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले भने आयोजना प्रभावित स्थानियहरुबाट आएका गुनासालाई टिपोट गर्ने र संकलन गर्ने कार्य भएको र तत्कालै जिल्ला तहबाट आवश्यक छानविन गरी निकास दिने बताए। 

हाल निर्माणाधिन अवस्थामा रहेको लिखु १ जलविद्युत आयोजनको उत्पादन क्षमता ७० मेगावाट र विद्युत खरिद सम्झौता ५१.४ मेगावट रहेको छ। त्यसै गरी लिखु २ जलविद्युत आयोजनको उत्पादन क्षमता ५५ मेगावाट र विद्युत खरिद सम्झौता ३३.४ मेगावट रहेको छ। अर्को लिखु ए जलविद्युत आयोजनको उत्पादन क्षमता  ५१ मेगावाट र विद्युत खरिद सम्झौता २४.२ मेगावट रहेको आयोजनाले जनाएको छ। हाल आयोजनाले आयोजनास्थलमा सामाजिक कार्य र संरचनाहरुको प्रारम्भिक कार्यहरु गरि रहेको छ। 

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App