१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वन्यजन्तुको काल बन्दै जंगलबीचकाे सडक

धरानको महादेव चोक–पानवारा सडक छेउको तारजालीमा मंगलबार बिहान ठोक्किएर मुन्टो भाँचिएको चित्तल। तस्बिर : रोहित/नागरिक

धरान  - धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानवारी सामुदायिक वन बीचबाट महादेव चोक–पानवारा सडक पर्छ। यो सडकको एकापट्टि(दक्षिणतर्फ)बिरुवा जोगाउन वन उपभोक्ता समूहले सिमेन्टको पिलर गाडेर फेन्सिङ (तारजाली) लगाएको छ।

रूखका लाथ्रा अत्यधिक चोरीनिकासी भएको भन्दै नियन्त्रण गर्न वन समूहले तारजाली लगाएको हो। यसबाट काठ चोरीमा केही हदसम्म नियन्त्रण भएको पनि छ। तर त्यही तारजाली अहिले वन्जजन्तुका लागि काल बनिरहेको छ। मंगलबार बिहान पनि भर्खर निर्माण भएको सेउती पुल र सेहरा पुल बीचमा लगाइएको तारजालीमा ठोक्किएर एउटा वयस्क चित्तल मर्‍यो। उत्तरपट्टि फेन्सिङ छैन। त्यताबाट दौडिएर आएको चित्तल सडक पारिपट्टिको तारजाली नाघ्न नसक्दा वा नदेख्दा ठोक्किएको हो। मुन्टो भाँचिएको उक्त चित्तल सडक किनारमा छटपटाइरहेको अवस्थामा धरान बजार आउँदै गरेका यात्रुहरूले देखे। उनीहरूले नै खबर गरेपछि प्रहरी र जनप्रतिनिधिहरू तत्काल घटनास्थल पुगेर वन कार्यालयलाई जानकारी गराए। ‘म धरान बजारतिर जाँदै थिए, बाटो पार गर्दै गर्दा चित्तल आत्तिएर कुद्यो र पिलर, जालीमा ड्याम्मै ठोक्कियो,’ प्रत्यक्षदर्शी पानवारी निवासी दीपक लिम्बूले भने, ‘विचराको मुन्टो नै भाँच्चिएछ।’

जंगल बीच भएर सडक खुलेपछि वन्यजन्तुलाई ओहोरदोहोर गर्न समस्या हुन्छ। गाडीको चर्काे आवाज र हर्नले वन्यजन्तु तर्सिएर तीव्र गतिमा दौडने गर्छन्। कति तारजाली नाघेर जान्छन् त कति त्यसैमा ठोक्किएर घाइते हुने तथा मर्ने गरेका छन्।

धरान–६ का वडाअध्यक्ष भुनवसिंह बस्नेतका अनुसार जंगलबाट लाथ्राको असाध्यै चोरीनिकासी हुन थालेपछि वन समूहले तारजाली लगाएको हो। यसले काठ चोरीनिकासी नियन्त्रण गर्न मद्दत पुगे पनि वन्यजन्तुको संख्या वृद्धिसँगै समस्या पनि सिर्जना गरेको उनले बताए। ‘लाथ्रा चोरी भएर त्यसलाई रोक्नका लागि तारजाली लगाइएको हो, तर अहिले वन्यजन्तुलाई असर गर्न थालेको छ,’ अध्यक्ष बस्नेतले भने, ‘तारघेरा गरेपछि ५÷६ वटा वन्यजन्तु घाइते भएको र मरेको फेला परेर बाटोमा हिँड्नेले लगेका पनि छन्।’

जंगल बीच भएर सडक खुलेपछि वन्यजन्तुलाई ओहोरदोहोर गर्न समस्या हुन्छ। गाडीको चर्काे आवाज र हर्नले वन्यजन्तु तर्सिएर तीव्र गतिमा दौडने गर्छन्। कति तारजाली नाघेर जान्छन् त कति त्यसमा ठोक्किएर घाइते हुने तथा मर्ने गरेका छन्। मंगलबार बिहान घाइते भएको चित्तल वन कर्मचारीले कार्यालय पुर्‍याएपछि मरेको थियो। ‘मुन्टो नै भाँचिएको थियो, शरीरमा अन्य कुनै चोटपटक थिएन। त्यसैले गाडीले ठक्कर दिएको पनि होइन,’ सहायक वन अधिकृत ज्ञानकुमार लामाले भने, ‘भेटेरीनरी डाक्टरलाई बोलाएर उपचारको तयारी गर्दागर्दै मर्‍यो।’

यसरी तारजालीमा ठोक्किएर, अड्किएर वन्यजन्तु घाइते हुने तथा मर्ने घटना दोहोरिन थालेकाले सामुदायिक वनहरूसँग यो (तारजाली) हटाउने वा अन्य विकल्पबारे छलफल गर्ने उनले बताए। ‘तारजालीमा यसरी वन्यजन्तु अड्किएको घटनाहरू पहिला पनि भएका छन्, बिरुवा जोगाउन पनि घेराबारा गर्नुपर्छ, तर वन्यजन्तुलाई ठूलै असर पुग्छ भने हटाउन पनि पर्ला,’ सहायक वन अधिकृत लामाले भने।

जैविक मार्गको खाँचो
जंगल बीचबाट अति व्यस्त सडक निर्माण गर्दा वन्यजन्तुका लागि पनि बाटो बनाउन ध्यान नदिएकोप्रति चिन्ता व्यक्त गर्छन्, सहायक वन अधिकृत लामा। समस्या धरान–पानवारी सडक खण्डको मात्र होइन, कोसी राजमार्गअन्र्तगत निर्माणाधीन ६ लेनको जोगवनी–किमाथांका सडकले झनै ठूलो समस्या निम्त्याउने उनी बताउँछन्। ‘अहिले नै यो सडक खण्डमा हरिण, चित्तलहरू बेलाबेला गाडीमा ठोक्किएर मरिरहेका छन्,’ उनी भन्छन्, ‘अब झन् ६ लेनको बन्दैछ, त्यसबेला सडक अझ धेरै व्यस्त हुन्छ र वन्यजन्तुका लागि काल बन्छ।’

यसरी जंगल बीचबाट जाने सडकसँगै वन्यजन्तुहरूलाई पनि ओहोरदोहोर गर्ने जैविक मार्ग निर्माण गर्नुपर्ने सहायक वन अधिकृत लामा बताउँछन्। त्यसतर्फ ध्यान नदिए वन्यजन्तुलाई ठूलो असर पुग्ने उनको भनाइ छ। ‘जैविक मार्ग अति आवश्यक देख्छु, खासगरी तरहराको पानीपियामाथि र सेउती पुल तल एकदमै खाँचो छ,’ उनले भने, ‘विश्वका अन्य मुलुकमा यस्ता ठाउँहरूमा जैविक मार्ग बनाइएको हुन्छ।’ उनका अनुसार माथिबाट वन्यजन्तुहरू निर्वाध रूपमा ओहोरदोहोर गरिरहन्छन् भने तलबाट गाडीहरू आवतजावत भइरहेको हुन्छ। यसतर्फ अहिल्यै विचार पुर्‍याउन उनी सरकार, सरोकारवालाहरूसँग आग्रह गर्छन्।

प्रकाशित: १ फाल्गुन २०७५ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App