१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आयरल्यान्डसँगको सीमामा कडाइ गर्ने घोषणा

लन्डन – बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेतालाई सम्बोधन गर्दै युरोपेली संघ (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छन्। 

प्रधानमन्त्री मेले सम्झौतामा सबैभन्दा विवादास्पद मानिएको इयू–आइरिस सीमालाई केही समय खुला गर्नेसम्बन्धी प्रावधानलाई पूर्ण रूपमा हटाउन आफूले पहल गर्ने बताइन्। 

भन्सार कार्यालय र सवारी जाँच चौकी पुनःराख्न लागिएको भन्ने सम्बन्धमा प्रकाश पार्दै प्रधानमन्त्री मेले बेलायत सरकार इयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको उत्तरी आयरल्यान्डबीच भौतिक सीमाको पक्षमा छैन भनेकी छन्। 

उत्तरी आयरल्यान्डको बेल्फास्ट भ्रमणमा रहेकी प्रधानमन्त्री मेले उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीचको सीमामा कडा प्रावधान नराखिने तर सीमा व्यवस्था नयाँ ढंगबाट गर्नुपर्ने बताइन्। उनले सन् १९९८ मा सम्पन्न सुखद् शुक्रबार (गुड फ्राइडे) सम्झौताप्रति बेलायत सरकारको पूर्णसमर्थन रहेकामा समेत जोड दिइन्। सो सम्झौताकै कारण उत्तरी आयरल्यान्डमा एक दशकभन्दा बढी चलेको हिंसात्मक घटना साम्य भएको थियो। प्रधानमन्त्री मेको प्रतिबद्धताका शब्दले पनि ब्रेक्जिट सीमाका द्विविधालाई समाधान गर्न कठिन छ।

बेलायतले आगामी मार्च २९ मा इयू छाड्दैछ तर बहिर्गमन सम्झौता बेलायती संसद्बाट स्वीकृत भएको छैन। बेलायती संसद्ले प्रधानमन्त्री मेको यसअघिको प्रस्तावलाई गत महिना भारी बहुमतले अस्वीकृत गरेको थियो। आयरल्यान्ड र उत्तरी आयरल्यान्डको सीमाको व्यवस्थापनका विषयमा बेलायती संसद्मा अझै मतैक्य हुन सकेको छैन। यही सीमा विवादका कारण दशकौंसम्म हिंसात्मक घटना भएका थिए, जसका कारण तीन हजार सात सय भन्दाबढीको ज्यान गएको थियो।
आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला सीमानाका कारण मानिस र वस्तुको निर्वाध आवतजावत हुने गरेको छ तर धेरैजसो ब्रेक्जिट पक्षधर बेलायती सांसद केही निश्चित समयसम्म यो सीमा खुला गर्दा इयूका नियमले बेलायतमाथि समस्या निम्त्याउने बताउँछन्। उनीहरुले ब्रेक्जिट सम्झौता हुनुअघि आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमा बन्द गर्नु पर्नेमा जोड दिँदै आएका छन्। 

युरोपेली नेताहरुले प्रधानमन्त्री मेले इयूसँग गरेको सहमतिमा पुनःविचार गर्न नसकिने बताएका छन्। ‘इयूसँग भएको बहिर्गमन सम्झौता बेलायतका निम्ति इयूबाट विस्तारै बाहिरिनका लागि राम्रो सम्झौता हो,’ आइरिस प्रधानमन्त्री लिओ भाराड्करले बताए। ‘हामी इयू र बेलायतसँगको भावी सम्बन्धलाई अति निकट, व्यापक र महत्वाकांक्षी बनाउन चाहन्छौं ताकि आउँदा दिनमा सीमा बन्द गर्न यस्तो समयसीमा कहिले आवश्यक नै पर्ने छैन,’ उनले बताए। तर पनि प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्कर र अरु युरोपेली नेताहरुसँग ब्रसेल्समा बिहीबार भेट गर्दै छिन्। उनले आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमालाई केही समय खुला गर्ने यसअघिको प्रस्तावलाई हटाउन आग्रह गर्ने अनुमान गरिएको छ। 

प्रधानमन्त्री मेले युरोपेली नेतासँग छलफल गरी ब्रेक्जिटबारेको संशोधित प्रस्ताव अर्को साता बेलायती संसद्मा प्रस्तुत गर्ने छिन्।

प्रकाशित: २४ माघ २०७५ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App