coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

द्वन्द्वपीडित नै विभाजित, कसले दिने न्याय ?

रोल्पा – १० बर्से सशस्त्र द्वन्द्व राज्य र विद्रोही पक्षबाट पीडित बनेकाहरु न्याय माग्ने अभियानमा भने विभाजित भएर लागेका छन्। दुवै तर्फबाट चपेटामा परेकाहरुले संयुक्त रूपमा न्याय माग्ने अभियान थालेक थिए। द्वन्द्वपीडितहरुले न्याय नपाएको गुनासो गरिरहँदा विभिन्न दातृ निकायको सहयोगमा द्वन्द्वपीडितको पक्षमा कार्यक्रम चलाउनेहरु पनि राजनीति र आर्थिक चलखेलमा व्यस्त छन्।

शान्ति प्रकृया सुरु भएसँगै राज्य र विद्रोही पक्षबाट पीडितहरुले संयुक्त रुपमा गठन गरेको ‘द्वन्द्वपीडित साझा चौतारी’ औपचारिक रुपमा विभाजित भएपछि न्याय र परिपूरणको आशामा बसेका द्वन्द्वपीडित अलमलमा परेका हुन्। भागिराम चौधरीको नेतृत्वमा रहेको ‘द्वन्द्वपीडित साझा चौतारी’ र गीता रसाइलीको नेतृत्वमा रहेको ‘द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल नेपाल’ दुवैले आफूहरु पीडितकै पक्षमा रहेको दाबी गर्छन्। ‘कसलाई आफ्नो भन्ने थाहै भएन,’ एक पीडितले भने, ‘पीडित पनि फुट्ने दिन आयो।’

‘द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल नेपाल हामीबाट चोइटिएर गएका केही साथीले खोलेको संस्था हो। उहाँहरु वैदेशिक शक्तिबाट परिचालित हुनुहुन्छ,’ द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष चौधरीले आरोप लगाए, ‘अहिले द्वन्द्वपीडितलाई चाहिएको परिपूरण हो। न्याय त ४०–५० वर्षपछि पनि पाउन सकिन्छ। राज्यले गठन गरेका आयोगले काम गरेनन् अब नयाँ संरचनाका साथ आउने आयोगले थप जिम्मेवारी पूरा गर्नेछ। पीडितको पक्षमा हामी निरन्तर लागिरहने छौं।’

उता नयाँ गठन गरिएको द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष रसाइली द्वन्द्वपीडित साझा चौतारी स्विस डलरको खेतीमा लागेको आरोप बताइन्। भनिन्, ‘उहाँहरु राज्य, एनजीओ र आइएनजीओको भरमा बढिरहनुभएको छ। पीडितलाई प्लेन चढाएर महँगो लजमा राखेर भ्रममा पार्दै हुनुहुन्छ। जिल्ला जिल्लामा कार्यक्रम गर्ने बहानामा लाखौं रकम खर्च गर्दै हिँडिरनुभएको छ।’

द्वन्द्वपीडित साझा चौतारीले सेना समायोजन गरेकै मोडालिटीबाट सत्यनिरुपण गर्ने र पहिलो प्राथमिकता परिपूरणलाई दिएको छ। तर द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल नेपालले परिपूरण र न्यायलाई सँगै लैजानुपर्छ भन्दै आएको छ। रसाइली भन्छिन्, ‘सरकार, केही अधिकारकर्मी र केही द्वन्द्वपीडित स्वार्थमा सत्यनिरुपण आयोग र बेपत्ता आयोगभन्दा माथि छुट्टै उच्चस्तरीय संयन्त्र बनाएर सेना समायोजनकै मोडालिटीबाट सबै घटना साम्य पार्ने पक्षमा छन्। तर हामी त्यो मान्ने पक्षमा छैनौं।’

सडक पुगेको सदरमुकामसम्म पुगेर छेउछाउका पीडितलाई बोलाएर कार्यक्रम गर्ने र बाहिरबाट आएको सहयोग रकम दुरुपयोग गर्ने गरेको आरोप ती सञ्जालहरुलाई लाग्दै आएको छ। ‘खै कसले कसले के के गर्छन्। हाम्रा लागि कोही बोल्ने होइनन्। सबै कमाउ धन्दामा लाग्ने त हुन्।’ बेपत्ता पत्रकार धनबहादुर रोकाकी छोरी पवित्रा भन्छिन्, ‘पीडितको नाममा पनि राजनीति सुरु भएछ।’

प्रकाशित: २३ माघ २०७५ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App