१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

'६ महिनामा सन्तोषजनक काम'

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा सन्तोषजनक काम गरेको दाबी गरेको छ। महानगरपालिकाले गत साउनयता पूर्वनिर्धारित योजनाको लक्ष्य हासिल गरेको छ। महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले महानगरपालिकाले चालू आवको ६ महिनामा अपेक्षाकृत ढंगले भौतिक प्रगति हासिल गरेको दाबी गरे।

‘चालू ६ महिनामा योजना बमोजिम नै कार्य सम्पादन भइरहेको छ,’ उनले भने, ‘जनताले परिर्वतन महसुस हुने गरी कार्य सम्पादन गर्दै आइरहेको छौं।’ प्रवक्ता डंगोलले गत छ महिनाको अवधिमा जनताको अपेक्षाअनुसार नै काम भएको बताए। ‘काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चीनको सीआरसीसी २५ औं ब्युरोसँग डिपिआरका लागि सम्झौता भएको छ,’ उनले भने, ‘चिनियाँ कम्पनीले ९ महिनाभित्रै डिपीआर तयार पार्ने गरी काम गरिरहेका छन्।’

साथै, महानगरपालिकाले सबै वडा कार्यालयले आफ्नै भवन बनाउने कार्यलाई तिव्रता साथ अघि बढाएको जनाएको छ। ‘वडा नम्बर ६ र ७ को कार्यालय निर्माणाधीन अवस्थामा रहेका छन्,’ उनले भने, ‘हालसालै वडा नम्बर २६ र १८ को भवन शिलान्यास भइसकेको छ।’ महानगरपालिकाले वडा कार्यालय भवन निर्माणको लागि २५ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ। महानगरपालिका अनुसार वडा नं. ४, ८, ९ र १४ को कार्यालय भवन खरिद प्रक्रियामा रहेको छ। महानगरपालिकाले आफ्नो मापदण्डभित्र अर्थात ८ मिटर मुनिका सडक मर्मतसम्भारका टेण्डर प्रक्रिया भएको जनाएको छ। सडक मर्मतसम्भारको लागि १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। महानगरका प्रवक्ता डंगोलले महानगरले उपत्यकको सडक धुलोमुक्त हुँदै गएको पनि जनाएको छ। ‘महानगरले दिनँहु ब्रुमर प्रयोग गरेर सडक सरसफाइ गर्दै आइरहेको छ,’ उनले भने, ‘नियमित सरसफाइकै कारणले अहिले महानगरभित्रका सडकमा धुलो केहीहदसम्म भए पनि कम भएको छ।’

यसका साथै ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत अहिलेसम्म विभिन्न वडामा करिब ६ सय ५० थान सडकबत्ती जडान भएको छ। उक्त कार्यक्रमअन्र्तगत  आठ हजार ५ सय सडकबत्ती जडान गर्ने योजना छ।

महानगरपालिकाको छ महिने प्रगति

– रानीपोखरी पुनःनिर्माणको लागि १७ करोड छुट्याइएको छ।
–  रानीबारी विकासको लागि ३ करोड छुट्याइएको छ।
– नारायणगोपाल स्मृति भवन तथा पार्क निर्माण, बालाजु पार्कको मास्टर प्लान सहरी योजना आयोगबाट भइरहेको छ।
– विभिन्न स्थानमा आकासे पुल निर्माणको लागि १२ करोड रुपैयाँ छुट्याइएको छ। यसमा दुई वटा आकासे पुलको डिजाइन तयार भई कार्यान्वयनको लागि गइसकेको छ।
– कमलपोखरी मर्मतसुधार तथा नागपोखरीको सौन्दर्यीकरणको काम तत्कालै सुरु हुने भएको छ। यसका लागि १ करोड बजेट विनियोजित गरिएको छ।
–  खुला तारहरूको व्यवस्थापन गरी सहरी सौन्दर्यकरण गरिने भएको छ। अहिले विभिन्न वडाहरूमा यो कार्य सुरु भइसकेको छ।

–  विभागले हाल नक्सापासको जानकारी घरधनीलाई एसएमएसबाट दिन सुरु गरेको छ। हाल विभागले इलेक्ट्रोनिक बिल्डिङ् परमिट सिस्टम (इबिपिएस) माध्यमबाट नक्सापास प्रक्रिया लागू गरेको छ।

–  काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चीनको सीआरसीसी २५ औं ब्युरोसँग डिपिआरका लागि सम्झौता भएको छ।

–  महानगरका विभिन्न स्थानमा ६० वटा स्मार्ट सोलार डस्टबिन जडान गरी सकिएको छ।

– वडा नं. २२ को धर्मपथस्थित कामपाको स्वामित्वमा रहेको जमिनमा पार्किङ बिल्डिङ बनाउन इओआई सूचना जारी भएकोमा विभिन्न प्रस्ताव प्राप्त भइसकेको छ। प्रस्तावको अध्ययन भइरहेको छ।

–  नयाँ सडक र दरबारमार्गमा स्मार्ट पार्किङ राखिने भएको छ।

–  विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउन मस्यौदा तयार भइसकेको छ।

– फोहोर मैलाको दीर्घकालीन समाधानका लागि बञ्चरेडाँडामा व्यवस्थापन गर्ने सहमति भएको छ। सिसडोलदेखि बञ्चरेडाँडासम्म पुग्ने १.९ किलोमिटर सडक र बञ्चरेडाँडामा पूर्वाधार निर्माणको कार्य सहरी विकास मन्त्रालयले काम गर्ने भएको छ।

– सडक सफा गर्न सडक विभागको ब्रुमर प्रयोग गरिएको छ। निकट भविष्यमै इटालीबाट महानगरपालिकाका आफ्नै पाँच वटा ब्रुमर आउँदैछन्।
– टुँडिखेल वरिपरिको जाम हटाउन पिक एन्ड ड्रप प्रणाली लागू गरिएको छ। केही गुनासो आए पनि नतिजा राम्रो देखिएको छ कोटेश्वरको जाम हटाउन पनि स्थलगत अध्ययन सुरु भएको छ।
–  धेरै मठ मन्दिर भएका भित्री ११ वटा वडामा विशेष व्यवस्था गरी फुटपाथ पसल हटाउने, बाटोमा इँटा छाप्नेजस्ता कामहरू भइरहेका छन्।
–  श्री अशोक विनायक द्यःछेँ (देवघर) पुनर्निर्माण कार्य सम्पन्न भएको छ।
–  चालू तथा स्वीकृत भएका ३७ वटा योजनाहरूमध्ये कुनै सम्पन्न भइसकेका छन् भने कुनै जारी रहेको अवस्था छन्। यी योजनाहरूमा मन्दिर, पाटी आदिको जीर्णोद्धार, बाटो, चोकमा इँटा छाप्ने, सौर्य बत्ती जडान गर्ने जस्ता कार्यहरू छन्।

–  हाल ७३ वटा नयाँ योजना सुरु गरिएका छन्। तीमध्ये केही सम्पन्न भइसकेका छन् भने अधिकांश चालू अवस्थामा रहेका छन्। नयाँ योजनामा कुमारी घर जीर्णोद्धार, शिवपार्वती मन्दिर जीर्णोद्धार, इन्द्रजात्रा र सेतो मछिन्द्रनाथको रथ तान्ने क्षेत्रमा बाटो मर्मत एवं मठ मन्दिरमा झल्लर राख्ने कार्य, बहाल तथा चोकको सौन्दर्यीकरण एवं इँटा छाप्ने कार्य, स्मार्ट ट्वाइलेट र प्रहरी बिट निर्माण आदि छन्।

–  काष्ठमण्डप पुनर्निर्माणको लागि गठन गरिएको ‘काष्ठमण्डप पुनर्निर्माण समिति’मार्फत पुनर्निर्माण कार्य सुरु भएको छ। हाल यसको काठ र भुइँ तलामा काम भइरहेको छ। आगामी असार मसान्तसम्म पहिलो तला सम्पन्न गर्ने समितिको योजना छ।

–   वडाहरूमा विपद् व्यवस्थापन समितिहरू गठन भएका छन्।

–   कामपा क्षेत्रभित्र रहेका खुला क्षेत्रहरूको विवरण प्रत्येक वडा कार्यालयबाट तयार गर्न लगाएको छ।

–   कामपाभित्र रहेका पेट्रोल पम्प र ग्याँस डिपोहरूको अवस्थाबारे सर्वेक्षण भइरहेको छ।

–   विभिन्न वडा कार्यालयमा सीसीटिभी जडान भइरहेको छ।

–  वडा नं ९, १५, २३, २९ र ३१ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी वडाहरूमा क्रमशः गरिने छ।

–  स्नातकतह उत्तीर्ण सिभिल इञ्जिनियर तथा आर्किटेक्टहरूलाई सहरी विकास सम्बन्धी ६ महिने तालिम दिने ‘करियर क्याम्प’ को पहिलो ब्याच समापन गरी दोश्रो ब्याच आरम्भ गरिएको छ।

–  काठमाडौंका विभिन्न स्थानमा बनाउन लागिएका पार्क एवं पोखरीहरू ः लगन टोलको शिलखाना, डिल्लीबजारको क्रियापुत्री भवन, महाराजगञ्जको शंखपार्क आदिको डिजाइनको काम भइरहेको छ।
 
– स्मार्ट शौचालय निर्माणको लागि उपप्रमुखको अध्यक्षतामा अधिकार सम्पन्न कार्यदल गठन गरिएको छ।

–  मनोहरा जग्गा एकीकरणअन्तर्गत नदीको दायाँ बायाँ पर्खाल लगाउने काम भइरहेको छ।

– सहरी सौन्दर्यीकरण र सुविधा वितरणमा अवरोध पुर्याउने ६१ वटा ग्यारेजलाई हटाउने निर्देशन दिइएको छ।

– शिक्षा विभागले महानगरभित्रका ६ सय ४० वटा बोर्डिङ स्कूल र ९१ वटा सरकारी स्कुलको अनुगमन गरिरहेको छ।
 
–  शिक्षा सम्बन्धी कार्य गर्ने ट्युसन सेन्टरलाई दर्ता प्रक्रियामा ल्याउने तयारी भइरहेको छ।

– महानगरले ६ महिनाको अवधिमा सडक पेटी अतिक्रमण गर्ने ६ सय ७२ जना, अव्यस्थित पार्किङ् गरिएका चार हजार ७ सय ५६ वटा मोटरसाइकल, ९९ वटा छाडा चौपाया, ३९ वटा अनधिकृत विज्ञापन र विज्ञापनदातासहित जथाभावि फोहोर फाल्नेलाई पक्राउ गरी जरीवाना गरिएको छ।

–  वडा नं. २२, २३, २४ र २५ मा फुटपाथ पसल हटाउन विशेष अभियान सञ्चालन गरिएको छ।
 
–  विभिन्न स्थानमा पसलकवल अगाडि निकालिएका टपहरू काट्ने कार्य गरिएको छ।
 
–  आकाशे पुल र जेब्रा क्रसबाट मात्र बाटो काट्न सचेतना अभियान थालिएको छ।

–  काठमाडौं महानगरपालिकामा रहेका एक हजार ८ सय ५६ वटा सहकारी संस्थाहरुको फाइललाई कम्प्युटरकृत अभिलेखीकरण गरिएको छ। फाइलहरु अनलाइनबाटै हेर्न सकिने भएको छ।

–  सहरकारीको अनलाइन प्रणाली पूर्णरुपमा कार्यान्वयन गर्नको लागि युजर नेम र पासवर्ड उपलब्ध गराएको छ। अब सहकारी संस्थाहरुले आफ्नै कार्यालयबाट कागजपत्र विवरण भर्न सक्नेछन्।

–   सहकारी विभागमा परेका ६० वटा मुद्दाहरूको व्यवस्थापन गरिएको छ। त्यसमध्ये ३५ वटा मुद्दाको फछ्रयौट गरिएको छ।

–    तारादेवी फाउन्डेशन अक्षय कोषका लागि १० लाख रुपैयाँ प्रदान गरिएको छ।

–    सिद्धिचरण प्रतिष्ठानको लागि ५ लाख रुपैयाँ प्रदान गरिएको छ।

प्रकाशित: १८ माघ २०७५ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App