१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनकपुर चुरोट कारखानाको भवन खाली गर्न निर्देशन

पत्रकार सम्मेलन गर्दै उद्योगमन्त्री मातृका यादव। तस्बिरः सुरेश/नागरिक

जनकपुरधाम - उद्योग, वाणिज्यमन्त्री मातृका यादवले प्रदेश २ को सरकारसँग जनकपुर चुरोट कारखाना लिमिटेड खाली गराउन निर्देशन दिएका छन्। चुरोट कारखाना पुनः सञ्चालनका लागि लगानीकर्तालाई आह्वान गरिसकेको उल्लेख गर्दै आइतबार कारखानाको पुरानो महानिर्देशक कार्यालयमा पत्रकार सम्मेलन गरी उनले भने, ‘अस्तिसम्म चुरोट कारखानाको आवास क्षेत्रमा प्रदेश सरकारको सचिवालय राखिएकोमा आज आउँदा कारखानाको बोर्ड हटाएर कारखानाको मूलगेटमा समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लेखिएको बोर्ड झुन्ड्याइदिएको रहेछ।’

मुख्यमन्त्री लालबाबु राउतसँग कारखाना पुनः सञ्चालन गर्ने र यसका लागि प्रदेश सरकारको सचिवालय स्थापना गर्न अर्को व्यवस्था नभएसम्मको लागि आवास क्षेत्र प्रयोग गर्ने सहमति भएको उनले बताए। ‘उद्योग मन्त्रालयलाई कुनै खबर नै नगरी कारखाना परिसरमा समेत प्रदेश सरकारको कब्जा फैलिएको छ। अहिले नै त्यो बोर्ड उखेलेर फालिदिएँ भने म माथि संघीयता विरोधीको धब्बा लागिहाल्ला भनेर छोडिदिएको हुँ। तर, तत्काल कारखाना परिसर खाली गर्न प्रदेश सरकारसँग मेरो माग छ,’ मन्त्री यादवले भने। उनले यसवारे काठमाडौं फर्केर प्रधानमन्त्रीसँग पनि कुरा गर्ने बताए।

जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्न संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष महेन्द्र राय यादव र प्रदेश २ का मुख्यमन्त्री राउतसमेत सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री यादवले यसका लागि उद्योग मन्त्रालय अघि बढिसकेको बताए। ‘विदेश पैठारी गर्ने हिसाबले स्तरीय चुरोट उत्पादन गर्न पिपि (पब्लिक–प्राइभेट साझेदारी) मोडेलमा कारखाना पुनः सञ्चालन गर्ने सोच बनेको छ। यसका लागि चीनबाट तीन वटा टोली र भारतबाट दुई टोलीले कारखाना भिजिट गरिसकेको छ,’ उनले भने।

करिब सात वर्षदेखि उत्पादन ठप्प रहेको जचुकालिले कर्मचारीलाई तिर्नुपर्ने वक्यौता बापतको चार करोड रुपैयाँ आपूm मन्त्री भएयता भुक्तान गरेको मन्त्री यादवले बताए। उनले तत्काल कारखानाभित्र थुप्रेको सुर्ती तथा कबारका सामान बिक्री गरेर आवश्यक्ता अनुरुप नयाँ मेसिन जडान गरी कारखाना चलाउने तयारी रहेको उनको भनाइ थियो। सरकारले पूजींलाई सेयर रकममा रूपान्तरण गरी सरकारले साझेदारीमा अथवा लिजमा जग्गा दिएर निजी क्षेत्रलाई नै कारखाना सञ्चालन गर्ने दिने विषयमा आन्तरिक छलफल चलिरहेको उनले जनाए।

त्यस्तै, विराटनगरको जुट कारखाना, विरगंजको चिनी कारखाना तथा कृषि औजार कारखाना, हेटौडाको कपडा उद्योग, गोरखकाली टायर लगायत उद्योग सञ्चालन गर्ने तयारीमा सरकार जुटेको उनले जानकारी दिए। क्यान्सरको मूख्य कारक तत्वको रूपमा रहेको चुरोट उत्पादन गर्ने कार्यमा सरकारले अग्रसरता लिइरहेको भनी भइरहेको आलोचनाबारे मन्त्री यादवले भने, ‘ज्ञानेन्द्र शाहले चलाएको कारखाना रोक्न कसले बोलेको छ ? नेपाल सरकारले उत्पादन गर्ने चुरोट विदेश निर्यात गर्ने सोच बनाएको हो।’ जनकपुर चुरोट कारखानाले पुनः चुरोट बनाउन सुरु गरे पनि त्यो उत्पादन नेपालमा बिक्री नगर्ने उनले दाबी गरे।

प्रकाशित: १४ माघ २०७५ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App