१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको दोस्रो एकदिवसीय क्रिकेट आज, शृंखला कब्जा गर्ने लक्ष्य

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट गत वर्ष मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो एकदिवसीय शृंखला नेदरल्यान्ड्सविरुद्ध खेल्यो। साँघुरा पूर्वाधारलाई अधिकतम प्रयोग गर्दै पाएको सफलता जति सदुपयोग गरेको थियो, नेपाली टोलीले नेदरल्यान्ड्सको घरेलु मैदानमा त्यो सफलता प्राप्त गर्न निकै संघर्ष गर्नुपर्‍यो।

पहिलो खेलमा ५५ रनको झट्का बेहोरे पनि दोस्रो खेलमा भने रोमाञ्चक १ रनको जित निकाल्दै शृंखला बराबरीमा टुङ्ग्याउँदा नेपालको लक्ष्य अधुरो बनेको थियो। त्यही अधुरो लक्ष्यलाई साकार पार्न नेपाल शुक्रबारबाट संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने दोस्रो एकदिवसीय शृंखलामा विजयी नतिजाको पर्खाइमा हुनेछ।

तीन एकदिवसीय र तीन ट्वान्टी–२० शृंखलामा सहभागिता जनाउन मंगलबार बिदाइ भएको नेपाली टोली आयोजकको भूमिमा शृंखलाको पहिलो खेलमा जित निकाल्दै विजयी सुरुआत गर्ने उद्देश्यमा हुनेछ। बाँकी खेलमा पनि जितलाई निरन्तरता दिँदै शृंखला हात पार्न प्रयासरत रहनेछ। प्रारम्भिक टोलीमा परेका नयाँ अनुहार र अनुभवी खेलाडीको संयोजनले टोलीलाई आशावादी बनाएको हो।

‘हामीले तयारीका लागि जेजस्तो समय पाएका थियौं, त्यसको अधिकतम प्रयोग गरेका छौं,’ नेपाली टोलीका कप्तान पारस खड्काले भने, ‘युएईले हाम्राविरुद्ध परीक्षणस्वरूप युवा टोली तयार पारेको छ। अहिले नेपाली टोलीमा केही उत्कृष्ट नयाँ र युवा खेलाडी छन् जो घरेलु प्रतियोगितामा विगत दुई/तीन महिनायता निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। हाम्रा लागि यो सकारात्मक पक्ष हो।’

घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका उनीहरूको प्रदर्शन भने नयाँ अनुहारलाई परीक्षा रहनेछ। पहिलो पटक राष्ट्रिय जर्सी पहिरिएर नेपालको प्रतिनिधित्व गरेका उनीहरुलाई चुनौती पनि उत्तिकै रहेको छ। नियमित कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली टोलीमा भीम सार्की, पवन सर्राफ, सन्दीप जोरा र अविनाश बोहोरासहित केही अनुभवी खेलाडी युएईविरुद्ध हुने शृंखला यादगार बनाउने उद्देश्यमा रहनेछन्। तर यो शृंखलामा भने अलराउन्डर शरद भेषावकर भने देखिने छैनन्। अन्तिम नामावली प्रकाशन गर्ने क्रममा अस्वस्थताका कारण देखाउँदै शरदले टोलीबाट नाम फिर्ता लिएका थिए।

नेपाली टोलीलाई आयोजकविरुद्ध सहज भने हुने छैन। २०१५ यता युएईमा भएका कुनै पनि प्रतियोगितामा नेपालले जित निकाल्न सकेको छैन। त्यसैले नेपाललाई इतिहास रच्न पनि राम्रो गर्नु जरुरी छ। २०१५–१७ सम्म सञ्चालन भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत युएईको मैदानमा नेपालले चार खेल खेलेको छ। पपुवा न्युगिनी र युएईसँग भएका दुई÷दुई खेलमा नेपाल पराजित भएको थियो। त्यसयता युएई मैदानमा भएको कुनै पनि खेलमा नेपालले नतिजा हात पार्न सकेको छैन। त्यसो त वर्ष २०१८ मा युएईविरुद्ध भएका चार भेटमध्येमा नेपालले दुई खेलमा नतिजा सुम्पिँदा दुई खेलमा जित निकाल्न सफल भएको छ।

पछिल्लो पटक सम्पन्न एसिसी एसिया कप छनोटमा नेपाल मलेसियामा भएको खेलमा ७८ रनले पराजित भएको थियो। त्यसपछि एकदिवसीय मान्यता पाएका दुवै टोली एसिया कप खेल्नबाट वञ्चित भएका थिए। त्यसको सट्टामा हङकङ योग्य बन्दै प्रतियोगितामा सहभागिता जनाएको थियो। गत फेब्रुअरीमा नामिबियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ मा नेपालले युएईलाई समूहचरणमा ४ विकेटले पराजित गरेको थियो। तर फाइनलमा युएईले नेपाललाई ७ रनले हराएको थियो। लगत्तै जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिताअघि भएको अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले हराएको थियो। शुक्रबारबाट हुने शृंखला आइसिसी एकेडेमी ओभलमा सञ्चालन हुनेछ। खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट हुनेछ।

नेपाली टोलीलाई आयोजकविरुद्ध सहज भने हुने छैन। २०१५ यता युएईमा भएका कुनै पनि प्रतियोगितामा नेपालले जित निकाल्न सकेको छैन। त्यसैले नेपाललाई इतिहास रच्न पनि राम्रो गर्नु जरुरी छ।

प्रकाशित: ११ माघ २०७५ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App