१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भारतीय पक्षबाट सीमामा ट्रेन्च निर्माण

एसएसबी, सीमा सुरक्षा सशस्त्र प्रहरी बल र स्थानीयको टोली ट्रेन्च खनिएको स्थानको अनुगमन गर्दै। तस्बिर : पुष्पराज/नागरिक

डोकेबजार (कञ्चनपुर) - धनगढीसँग जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारनजिक दसगजाछेउमै भारतीय पक्षले माटोको ट्रेन्च निर्माण गरिरहेको छ। नेपाल पक्षलाई जानकारी नदिई भारतीय पक्षले स्काभेटर लगाएर करिब ५–६ फिट उचाइको ट्रेन्च बनाएको हो। यो ट्रेन्च निर्माणले वर्षामा पानी रोकिएर नेपाली भूभाग र बस्ती डुबानमा पर्ने चिन्ता स्थानीयको छ।

सीमाछेउछाउमा कुनै पनि देशले अर्को देशको अनुमतिबिना कुनै संरचना बनाउन नपाउने प्रावधान छ। चार वर्षअघि पनि यहीं भारतीय पक्षले अहिलेको जस्तै माटोको ट्रेन्च बनाएको थियो र विरोधपछि भत्काएको थियो। ‘चार वर्षअघि पनि यसरी सीमामा ट्रेन्च बनाएको थियो। विरोध गरेपछि आफैं भत्काएको हो’, स्थानीय विकास घोरासैनीले भने, ‘हामीलाई हेपेर फेरि उस्तै गरी ट्रेन्च बनाउन थालेको छ।’ ट्रेन्च खनिँदा बर्खायाममा नेपाली भूमि डुबानमा पर्ने निश्चित रहेको उनले बताए। ‘भारतीय पक्षको यो कार्य गलत हो। गहिरो ट्रेन्चले डोकेबजार डुबानको चपेटामा पर्छ’, उनले भने। भारतले माटोको ट्रेन्च निर्माणसँगै सिमेन्टका खम्बा गाडेर तारबार गर्ने पनि तयारी गरेको छ। दुधुवा नेसनल पार्कबाट चोरी सिकारी बढेको र जंगलबाट तस्करी बढेकाले माटोको ट्रेन्च र तारबार गर्न थालेको भारतीय सीमा सुरक्षा बलका अभय यादवले बताए। उनले भने, ‘दुधुवा नेसनल पार्कको चित्तल नेपालतर्फ जाने र चोरी सिकारी हुन थालेपछि सीमामा ट्रेन्च खनेर तारबार लगाउन थालेका हौं।’ भारत सरकारको वन मन्त्रालयको निर्देशनमा यो काम भएको उनले जानकारी दिए। सीमानजिकै गहिरो ट्रेन्च खन्दा वर्षायाममा डोकेबजारमा डुबानको समस्या हुने भन्दै स्थानीयले जनाएको विरोधमा उनले ह्युमपाइप लगाएर समस्या समाधान गर्न सकिने तर्क गरे। भारतीय वन विभागका फरेस्टर मनोजकुमारले भने, ‘यो सरकारी निर्देशन हो, त्यही अनुसार यो संरचना बनाउन थालेका छौं।’

जानकारी नदिई बनाएको संरचनाले नेपाली भूभाग डुबानमा पर्ने खतरा

सीमा क्षेत्रमा डोजर चलाएर ट्रेन्च खन्न थालेपछि नेपालतर्फका स्थानीयले विरोध गरेका छन्। स्थानीयको विरोधपछि प्रहरी प्रशासनले बिहीबार निर्माण कार्य स्थगित गर्न लगाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सीमामा अर्को देशमा प्रभाव पर्नेगरी कुनै कुरा निर्माण गर्न नपाइने प्रावधान रहेको बताएका छन्। डोकेबजारउतापट्टिको सीमामा बनाइरहेको माटोको ट्रेन्चले प्रभाव पर्छ कि पर्दैन भनेर भारतीय भारतीय सुरक्षाअधिकारीसँग छलफल गर्ने उनले बताए। सशस्त्र प्रहरी सीमा सुरक्षा बलका डिएसपी बिपी भट्टले अहिलेलाई भारतीय पक्षलाई थप ट्रेन्च नखन्न भनेको बताए। उनले भने, ‘हामीले भारतीय पक्षसँग अहिलेलाई ट्रेन्च नखन्न भनेका छौं। हामीले यहाँ भइरहेको निर्माणको खबर जिल्लालाई गर्छौं र त्यहाँबाट कूटनीतिक नियोगसँग छलफल हुन्छ।’

भारतीय पक्षले गौरीफन्टा नाकाबाट कञ्चनपुरको पुनर्वास नगरपालिका–११, डोकेबजारसम्म दुई किलोमिटरको ट्रेन्च खन्ने र सोही बराबर तारबार लगाउने योजनाअनुसार निर्माण कार्य अगाडि बढाएको छ।

भारतले माटोको ट्रेन्च निर्माणसँगै सिमेन्टका खम्बा गाडेर तारबार गर्ने तयारी पनि गरेको छ।

सीमामा भारतको दादागिरी
भारतले सीमामा अतिक्रमणका साथै विभिन्न संरचना बनाउने गर्दै आएको छ भने नेपालतर्फ बनाएका संरचना दादागिरी शैलीमा भत्काउने र नेपालीमाथि कुटपिट गर्ने गरेको स्थानीय बताउँछन्। २०७३ फागुन २६ गते कञ्चनपुर नगरपालिका ८ आनन्दबजारनजिक सीमामा कल्भर्ट निर्माणपछि भारतिय पक्षले भत्काएको थियो। त्यो कल्भर्ट भत्काएपछि भएको विवादमा भारतीय प्रहरीले हानेको गोली लागेर पुनर्वास नगरपालिका ८ आनन्द बजार निवासी ३० वर्षीय गोविन्द गौतमको ज्यान गएको थियो। यो घटनामा अहिलेसम्म भारतीय पक्षले माफीसमेत मागेको छैन। ‘हामीले बनाएका संरचनामा दादागिरी गरेर नेपालमै आएर भत्काउँछन्। उनीहरुले जानकारी नदिई मापदण्डविपरीत संरचना बनाउने गरेका छन्’, स्थानीय हरि रेग्मीले भने, ‘यो हेपाहा र दादागिरी प्रवृत्ति हो।’

प्रकाशित: ११ माघ २०७५ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App