१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

शोधनान्तर घाटा ८० अर्बभन्दा बढी

काठमाडौं - मुलुकमा उच्च आयातका कारण गत आर्थिक वर्षको तुलनामा शोधनान्तर घाटा ८० अर्ब रुपैयाँले बढेको छ। गत आवको मंसिरसम्म शोधनान्तर घाटा पाँच अर्ब ४८ करोड रुपैयाँ रहेकामा चालु आवमा यो ८५ अर्ब ३२ करोड रुपैयाँ पुगेको हो। अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको पाँच महिनामा शोधनान्तर घाटा पाँच करोड ३९ लाख डलर रहेकामा यो वर्ष ७५ करोड एक लाख डलरले घाटा भएको छ। राष्ट्र बैंकका अनुसार शोधनान्तर घाटा जस्तै चालु आवको पाँच महिनामा चालु खाता घाटा पनि एक खर्ब १९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६४ अर्ब ११ करोड रुपैयाँ थियो।

चालु आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु निर्यात ११.२ प्रतिशतले बढेर ३७ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.१ प्रतिशतले बढेको थियो। राष्ट्र बैंकका अनुसार, मंसिरसम्ममा भारततर्फ २०.७ प्रतिशत र अन्य मुलुकतर्फ तीन प्रतिशतले निर्यात बढेको छ। चीनतर्फको निर्यातमा ३०.७ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोसाक, पस्मिना, जुटका सामान लगायत वस्तुको निर्यात बढेको छ भने अलैंची, रेजिन, छाला, जुत्ता र चप्पल लगायत वस्तुको निर्यात घटेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु आयात ३४.२ प्रतिशतले बढेर ६०७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.२ प्रतिशतले बढेको थियो।वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३१.७ प्रतिशत, चीनबाट ४७.७ प्रतिशत र अन्य मुलुकबाट ३३.७ प्रतिशतले आयात बढेको राष्ट्र बैंकले जनाएको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्ट, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, अन्य उपकरण तथा पार्टपुर्जा, तरकारी, फलफूल तथा चामल लगायत वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, सिमेन्ट, स्वास्थ्य उपकरण तथा औजार लगायत वस्तुको आयात घटेको छ। भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ भने अन्य सबै भन्सार नाकाबाट गरिएको निर्यात बढेको छ।

त्यसैगरी, कञ्चनपुर नाकाबाट भएको आयात घटेको छ भने अन्य सबै नाकाबाट आयात बढेको छ। पाँच महिनामा कुल वस्तु व्यापार घाटा ३६.१ प्रतिशतले विस्तार भई ५६९ अर्ब ४९ करोड पुगेको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.२ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त अनुपात ७.५ प्रतिशत रहेको थियो। राष्ट्र बैंकका अनुसार, विदेशी विनिमय सञ्चिति कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको ११ खर्ब २ अर्ब ५९ करोडबाट ३.३ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा १० खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ  रहेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तको १० अर्ब आठ करोडबाट ७.९ प्रतिशतले कमी आई गत मंसिर मसान्तमा नौ अर्ब २९ करोड रहेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार, चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले नौ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। उक्त अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई तीन खर्ब ७६ अर्ब ५९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ३.२ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसार, अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४०.२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.५ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा मलेसिया जाने नेपालीको संख्या उल्लेख्य मात्रामा घटेको छ। मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सीमान्त रुपले मात्र बढेको कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यून रहेको हो।

मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २.८ प्रतिशत रहेको थियो। २०७४ मंसिरको तुलनामा तरकारी, दाल तथा दलहन र चिनी तथा चिनीजन्य पदार्थ उप–समूहका वस्तुहरूको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो। समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो। यस समूह अन्तर्गत घरायसी सेवा तथा उपयोगिता, यातायात, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणलगायतका उप–समूहका वस्तु तथा सेवाहरूको मूल्य वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो।

राष्ट्र बैंकका अनुसार, मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ४.१ प्रतिशत, पहाडमा ३.८ प्रतिशत, काठमाडौं उपत्यकामा ३.७ प्रतिशत र तराईमा ३.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.५ प्रतिशत, ४.८ प्रतिशत, ३.४ प्रतिशत र ४.३ प्रतिशत रहेको थियो।

प्रकाशित: ४ माघ २०७५ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App