१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इँटाभट्टाको गारो भत्कँदा भाइबहिनीको मृत्यु

बनेपा - काभ्रेको पाँचखाल नगरपालिका–७ स्थित वीर हनुमान ब्रिक फेक्ट्रीको भट्टाभित्र धुँवा पास ग बनाइएको गारो (डग वाल) भत्कँदा किचिएर भाइबहिनीको मृत्यु भएको छ। गारोले थिचेर दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमा रोल्पाका नवीन पुनका ८ महिनाका छोरा निर्माण र ३ वर्षीया छोरी जेनिशा रहेको वडाध्यक्ष पुष्कर ढकालले जानकारी दिए। किचिएर घाइते भएका निर्माण र जेनिशाको उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो। उनीहरूका बुबाआमा दुवै भट्टामा काम गर्छन्।

‘बाबु नवीन र आमा गीता दुवै इँटा भट्टाभित्र काम गरिरहेको ठाउँमा खेलिरहेका दुवैै छोराछोरीलाई गारो भत्किएर किचेछं’, ढकालले भने। करिब १५ मिटर गारो भत्किएको उनले बताए। सोही घटनामा रोल्पाकै पारी गाउँपालिकाकी ३ वर्षीया झरना घर्ती र भारत दरभंगाकी ३५ वर्षीय सीतादेवी पासवान घाइते भएका छन्। दुवै घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

एक महिनाअघि पनि सोही वडामा इँटा पार्न पानी जम्मा गरिएको खाडलमा परी २० महिनाका बालकको मृत्यु भएको जानकारी वडाध्यक्ष ढकालले दिए, ‘हामीले भट्टा सञ्चालकहरुलाई जोखिमयुक्त क्षेत्रमा बालबालिकालाई प्रवेश गर्न नदिनू भनेर धेरैपटक आग्रह गरेका छौं। तर, एक महिनाको अवधिमा ३ जना बालबालिकाको ज्यान इँटा भट्टाले लिँदा चिन्ता बढेको छ’, उनले थपे।इँटा भट्टामा काम गर्न आउँदा बाबुआमाले बालबच्चा पनि सँगै ल्याउँछन्। ‘अनाहकमा बालबालिकाको ज्यान गुम्ने क्रम बढेको छ। इँटा भट्टाको नियमनकारी निकाय र नगरपालिकाले यसबारे निगरानी बढाउनु जरुरी भइसक्यो’, अधिकारकर्मी भोजराज तिमल्सिनाले भने।

इँटा भट्टाको नकारात्मक असरबाट प्रभावित बासिन्दाको हकहितमा कार्यरत पाँचखाल उपत्यका वातावरण बचाउ अभियानले सञ्चालनमा रहेका बस्ती क्षेत्र आसपासबाट इँटाभट्टा र भेनियर (प्लाइउड) उद्योग हटाउन नगरपालिकालाई दवाब दिँदै आएको छ। ‘अघिल्लो वर्षदेखि नै पाँचखालमा प्रदूषणको कारक बनेका इँटा भट्टा र प्लाइउड उद्योग हटाउन नगरपालिकालाई दवाब दिँदै आएका थियौं। वर्ष दिनसम्म केही सुनुवाइ नहुँदा पुनः आन्दोलनमा उत्रिएका छौं’, अभियानका संयोजक सूर्यबहादुर भेटवालले भने।

पाँचखाल ७ मा वीर हनुमान र स्वर्णेश्वरी इँटा उद्योगसँगै हाई हिमालयन मल्टी पर्पोज (प्लाइ उद्योग) सञ्चालनमा छन्। यसैगरी, वडा नम्बर ८ मा नवदुर्गा र उपकार इँटा उद्योग, वडा नम्बर ९ मा पलाञ्चोक फिक्स ब्रिक सञ्चालनमा छन्। वडा नं १२ मा जय भीमसेन र माता पलाञ्चोक इँटा उद्योग छ। गत वर्ष नै नगरपालिकाका प्रमुख महेश खरेलको संयोजकत्वमा इँटा भट्टा नियमन कार्यदल गठन गरिएको थियो। कार्यदलले वर्ष दिन बित्दासमेत प्रभावकारी काम नगरेको भन्दै अभियानका पदाधिकारीले विरोध गरेका हुन्। कार्यदलले सबै इँटा भट्टाको प्रारम्भिक वातावरणीय परीक्षण(आइइई) प्रतिवेदन अध्ययन भइरहेको र धुवाँ उत्सर्जन परीक्षण (इमिसन टेष्ट) गर्नका लागि सम्बन्धित निकायमा छलफल भइरहेको जनाएको छ।

प्रकाशित: ४ माघ २०७५ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App