१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

शिविरबाट दुई हजार बिरामी लाभान्वित

खोटाङ – स्वास्थ्य मन्त्रालय उपचारात्मक सेवा महाशाखाले खोटाङका पाँच स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्। आर्थिक अभावका कारण रोग बोकेरै बस्न बाध्य वर्गलाई लक्ष्य गरेर महाशाखाले जिल्लाका जालपा, बाक्सिला, खार्ताम्छा, ऐसेलुखर्क र हलेसीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

उक्त शिविरमा गएर २ हजार २ सय ४ जनाले स्वास्थ्य सेवा लिएका आयोजकले जनाएको छ। सोसाइटी फर इमरजेन्सी केयर एनड सपोर्ट माउन्टेन हार्टसँगको सहकार्यमा मन्त्रालयले गत पुस २३ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपाबाट सुरु गरेको पहिलो चरणको स्वास्थ्य शिविर सोमबार हलेसी तुवाचुङ नगरपालिकाको हलेसी पुगेर टुंगिएको हो। जालपामा ५ सय १०, बाक्सिलामा ५ सय ३३, खार्ताम्छामा ३ सय ४६, ऐसेलुखर्कमा ५ सय ९ र हलेसीमा ३ सय ६ जनाले शिविरबाट स्वास्थ्य सेवा लिएको स्वास्थ्य मन्त्रालय उपचारात्मक सेवा महाशाखाले जनाएको छ।

एक/एक दिन सञ्चालन गरिएको शिविरमा स्त्रीरोग, दाँत, आँखा, हाडजोर्नी, नसा, बाथ, दम, बालरोग, छालासम्बन्धी लगायत रोगको उपचार विशेषज्ञ डाक्टरसहितको टोलीले गरेको थियो। स्वास्थ्य शिविरमा भिडियो एक्स–रे तथा स्तन क्यान्सरसम्बन्धी समस्याको समेत चेकजाँच गरिएको शिविर व्यवस्थापनमा खटिएका नवीन राईले बताए। शिविरमा सेवा दिन स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा. केके राईको नेतृत्वमा काठमाडौंबाट वीर अस्पताल, ग्रान्डी अस्पताल र त्रिपुरेश्वर आँखा अस्पतालका विशेषज्ञ डाक्टरसहित नौ जनाको टोली आएको थियो।

दोस्रो चरणमा अब यस्तै स्वास्थ्य शिविर माघ १४ गतेदेखि २० गतेसम्म मात्तिम मानेभञ्ज्याङ, ओख्रेडाँडागाउँ, सिम्पानी, खोटाङबजार र चिसापानीमा सञ्चालन हुने बताइएको छ।

प्रकाशित: २ माघ २०७५ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App