१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भारत-पाकिस्तान तनाबले पोखराको पर्यटन व्यवसाय प्रभावित

पोखरा- भारत-पाकिस्तानबीच द्वन्द्व चर्किदै जाँदा त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ। जारी सिजनमा नेपाल आउने तयारीमा रहेका कतिपय विदेशी पर्यटकले दुई देशबीचको द्वन्द्वलाई कारण देखाउँदै भ्रमण सुरक्षामा आशंका गर्न थालेका छन्। त्यही क्रममा केही विदेशी पर्यटकले नेपाल भ्रमण रद्द नै गर्न थालिसकेको व्यवसायीले बताएका छन्।

व्यवसायीका अनुसार अग्रिम बुकिङ गरेर पदयात्राका लागि नेपाल आउने तयारीमा रहेका विदेशीले एकाएक भ्रमण रद्द गरेको जनाउ यहाँका पर्यटन व्यवसायीलाई दिन थालेका छन्। 'चारवटा समूहमा १४ जना युरोपियन मुलुकका पर्यटक नेपाल आउने तयारीमा थिए। महिनौंअघि उनीहरुले बुकिङ गरिसकेका थिए,' ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरका निवर्तमान अध्यक्ष रामचन्द्र शर्माले भने, 'तर, एकाएक नेपाल भ्रमण रद्द गरेको जानकारी इमेलमार्फत दिएका छन्।'

उनका अनुुसार ती विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने तयारीमा थिए। १० दिनसम्मअन्नपूर्ण क्षेत्र घुम्ने तयारी गरेपनि सुरक्षामा आशंका गर्दै नेपाल भ्रमण रद्द गरेको उनले बताए। 'भ्रमण रद्द गर्नभारत–पाकिस्तानबीचको द्वन्द्व नै कारण रहेको सबैले किटान गरेका त छैनन्। तर, भ्रमण सुरक्षामा निश्चिन्त हुन नसकेको उल्लेख गरेका छन्।' शर्माका अनुुसार ती पर्यटक अक्टोबर मध्यमा नेपाल आउने तयारीमा थिए। 'मान्छेले सुरक्षालाई पहिलो प्राथमिकता दिन्छ। त्यही भएर पर्यटक त्रसित भएका हुनसक्छन्। सबैका लागि सुरक्षा पहिलो प्राथमिकता हो,' शर्माले भने।

सिजनका बेला आउने तयारीमा रहेका विदेशी पर्यटकले एकाएक भ्रमण रद्द गर्दा त्यसको मार पोखराको पर्यटन व्यवसायमा परेको उनले बताए। 'भूकम्प र नाकाबन्दीको मारबाट जसोतसो पर्यटन क्षेत्र तंग्रिन थालेको थियो। फेरि छिमेकी मुलुकमा समस्या देखियो। त्यसको मार नेपालको पर्यटन क्षेत्रमा पर्न थाल्यो,' शर्माले भने, 'पर्यटन क्षेत्रमा सुरक्षा निकै महŒवपूर्ण हुन्छ। पर्यटक सुरक्षामा निकै नै संवेदनशील हुन्छन्। सानो घटनाले पनि उनीहरु त्रसित हुन्छन्।'

एपेक्स एसिया ट्राभल एन्ड ट्रेकका सञ्चालक प्रकाश बस्ताकोटीले पनि भारत–पाकिस्तानबीचको विवाद देखाउँदै पर्यटक त्रसित भएको बताए। 'अक्टोबरमाजर्मनीका६ जनाको समूह नेपाल आउने तयारी थियो। अन्नपूर्ण क्षेत्रमा जाने उनीहरुको योजना हो,' उनले भने, 'तर, सुरक्षाको कारण देखाएर निकै चासो दिएका छन्। भारत र पाकिस्तानबीच द्वन्द्व बढ्दा नेपालमा असर कस्तो पर्छ भनेर सोध्न थालेका छन्।'महिनौंअघि बुकिङ गरेका ती पर्यटकले नेपाल घुम्न आउँ कि केही समय पछाडि सारौैं भनेर सोधेका छन्,'उनले भने।

युरोपेली मुलुकका पर्यटक यस्ता द्वन्द्वबाट बढी त्रसित हुने पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली बताउँछन्। 'पर्यटन क्षेत्र निकै संवेदनशील हो। पर्यटक घुम्न निस्कँदा पूर्ण सुरक्षाको प्रत्याभूति खोज्छन्,'उनले भने, 'भारत र पाकिस्तानबीच द्वन्द्व चर्किंदा त्यसको असर नेपालमा पर्ने भएकाले विदेशी पर्यटक बढी सचेत भएका छन्।'अग्रिम बुकिङ गरेका विदेशीले अहिले नेपाल जाने कि नजाने भनेर सोचविचार गरेको उनले बताए।

'भारतभएर नेपाल भित्रिने पर्यटक बढी मारमा पर्छन्। भारतहुँदै भित्रिनुपर्ने भएकाले पनि पर्यटक डराएका हुन्,' उनले भने, 'यस्तै द्वन्द्वले पर्यटन क्षेत्रमा मार पर्ने हो। भारत–पाक विवाद चर्किंदै जाँदा नेपालको पर्यटक क्षेत्रमा सबैभन्दा पहिले यसको प्रभाव पर्ने पराजुलीले बताए। 'भारत–पाकिस्तानबीको द्वन्द्वले सबैतिर चर्चा पाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा पनि यो द्वन्द्वले बलियो ठाउँ लिएको छ। त्यही भएर पर्यटक डराएका हुन्,' उनले भने।

पोखरा पर्यटन परिषद (पिटिसी) का अध्यक्ष सोमबहादुर थापाले नेपालसम्म सिधा हवाई उडान कम भएकाले पनि असर पर्न सक्ने बताउँछन्। 'एकाध मुलुकसम्म मात्र नेपालको सिधा उडान छ। नत्र अधिक पर्यटक भारत हुँदै भित्रिन्छन्,' उनले भने, 'भारत हुँदै भित्रिनुपर्दा पर्यटक त्रसित भएका हुनसक्छन्।' उनका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशत भारत हुँदै भित्रिन्छन्।

'कतिपय पर्यटक भारतमा पनि घुम्न आउँछन्। भारतमा युद्ध बढ्दा विदेशीको आगमन स्वतः रोकिन्छ। त्यसको असर नेपालमा परिहाल्छ,' थापाले भने, 'भारतमै पर्यटक नआए नेपालमा आउने कुरै रहन्न।' उनका अनुसार आणविक हतियारको प्रयोग र आतंकवादसँग पनि भारत–पाक युद्ध जोडिएकाले विदेशी पर्यटकमा त्रास छाएको छ।

'पर्यटन क्षेत्रमा शान्तिबिना कल्पना गर्न सकिन्न। दुई देशबीचको द्वन्द्वले तत्काल असर पर्छ। आणविक हतियार प्रयोगको कुरा बाहिर आउँदा अझै त्रास छ,' उनले भने, 'भारत–पाकिस्तानबीचको युद्धको चर्चा अन्तर्राष्ट्रियस्तरमा पनि फैलिएको छ। अन्तर्राष्ट्रिय निकायले पनि भारत–पाकिस्तान विवादलाई मुख्य प्राथमिकता दिएका छन्। त्यसले नेपालमा पनि असर पार्छ।'

भूकम्प र नाकाबन्दीको असर सकिन थालेको बेला पर्यटन क्षेत्रलाई तर्साउने गरी भारत–पाक युद्ध युद्धले समस्या पार्ने उनले बताए। 'पर्यटन क्षेत्रले बल्लतल्ल कोल्टे फेर्न खोज्दै थियो। तर, अचानक छिमेकी मुलुकमा समस्या देखिन थालेको छ। यसले पर्यटन क्षेत्रमा राम्रो गर्दैन,' उनले भने।

प्रकाशित: १७ आश्विन २०७३ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App