प्रविधिमा बाल–पहुँच कति फाइदा कति बेफाइदा ?

शनिबार, २८ पुष २०७५, १७ : ५३ सृजना पाण्डेय

आज संसारले प्रविधिमा ठूलो फड्को मारेको छ । विश्वव्यापीकरणले गर्दा नेपाल पनि त्यसबाट अछुतो रहने कुरा भएन । दुई दशक अघिसम्म नेपालका गाउँमा सञ्चारका लागि चिठीपत्रको विकल्प थिएन । हिजोआज भने सबैका हातहातमा मोबाइल, कम्प्युटर आदि विद्युतीय सामग्री पुगिसकेका छन् । प्रौढहरुलाई सूचना र सञ्चारको सामग्री बनेका यस्ता साधनहरू बालबालिकाका लागि खेलौना भएका छन् । 

पहिलेका बालबालिका साथीहरुको समूहमा खेलेर मनोरञ्जन गर्थे । लुकामारी, गट्टा खेल्ने, चुङ्गी, रुमालचोर, कपर्दी, डन्डीबियो, फुटबल, भलिबल आदि उनीहरूका सहज खेल हुन्थे । जसले गर्दा मानसिक विकासका साथै शारीरिक वृद्धि र तन्दुरुस्तीमा पनि फाइदा हुन्थ्यो । अहिले सहरी क्षेत्रका बालबालिकामा मात्र हैन दुर्गम क्षेत्रका बालबालिकाका पनि हातहातमा मोबाइल, ल्यापटप, कम्प्युटर, भिडियोगेमहरू पुगेका छन् । यस्ता प्रविधिमा उनीहरूको सहज पहुँच भएको छ । अहिलेका बालबालिका कतिपय कुरामा पहिलेका बालबालिका भन्दा चलाख भएका छन् भने कतिपय कुरामा झन् पछाडि परेका छन् । आजका बालबालिकालाई  साथीहरुको जमात चाहिँदैन, खुला ठाउँ पनि चाहिँदैन । खेल सामग्री बनाउने सीप पनि चाहिँदैन र त्यस्तो झन्झट उठाउनु पनि पर्दैन । उनीहरू एकान्तमा बसेर कम्प्युटर, मोबाइल, ल्यापटप, भिडियोगेम आदिमा रमाएका हुन्छन् । अरु कस्ता कस्ता गेम छन् भन्दै इन्टरनेटमा खोजिरहेका हुन्छन् । यसरी प्रविधिका सामग्री चलाउँदा उनीहरू एकातिर प्रविधिमा पोख्त हुँदै गएका छन् भने अर्कातर्पm प्रविधिसँगको मित्रताले गर्दा घरमा आएका परपाहुनासँग हेलमेल हुन नचाहने, साथीसंगीको मतलब नराख्ने, एकोहोरो हुने बानी बस्नाले सामाजिकता हराउँदै गएको छ ।

प्रविधिबारे जिज्ञासा राख्नु र त्यसको प्रयोग गर्नु नराम्रो कुरा होइन तर बालबालिकाले प्रविधिलाई कुन किसिमले चलाएका छन्, त्यो महŒवपूर्ण कुरा हो । सदुपयोग गर्न जाने प्रविधिले बालबालिकालाई सही बाटोमा लैजान्छ, दुरुपयोग गरे गलत बाटोमा । यो प्रविधिलाई चलाउने बालबालिका र तिनलाई मार्गदर्शन गर्ने अभिभावकमा भर पर्ने कुरा हो । 

हिजोआज धेरैजसो विद्यालयमा मोबाइल, भिडियो गेमजस्ता विद्युतीय सामग्री निषेध गरिएको छ । घरमा बाबुआमाले पनि आफ्ना नानीबाबुहरूलाई मोबाइल, कम्प्युटरजस्ता ग्याजेटमा धेरै समय बिताउनुहुँदैन भनेर बेला–बेलामा सम्झाउँछन् तर बालबालिका भने पाएसम्म तिनै सामग्री चलाउनमा तल्लीन देखिन्छन् । यसरी प्रविधिमा लत बढ्दै जाँदा बालबालिकामा सृजनशीलताको ह्रास हुँदै गएको भन्ने गुनासो धेरै तिर सुन्न सकिन्छ । 

प्रविधिले बालबालिकामा कस्तो असर गरेको छ ? यसका फाइदा के–के छन् ? बेफाइदा के–के छन् ? यसमा शिक्षकको र अभिभावकको के भूमिका हुन्छ भन्ने विषयमा यहाँ केही शिक्षक शिक्षिकाका अभिमत बुझ्ने कोसिस गरिएको छ ।
दर्लमडाँडा माध्यमिक विद्यालय, बगनासकाली पाल्पाका शिक्षक भूपति बस्यालका अनुसार अहिले प्रविधिले निकै फड्को मारेको छ । सूचना र सञ्चारसँग सरोकार राख्ने प्रविधिका साधनले विद्यालय, सरकारी कार्यालय, बैंक, संघसंस्था, घरपरिवार सबै ठाउँमा व्यापकता पाएको उनको अनुभव छ । घरपरिवारमा प्रयोग गरिएका यी साधनहरु बालबालिकाले सहीरुपमा प्रयोग गर्न नसकेको र अभिभावकहरुमा आफ्ना बालबच्चालाई प्रविधिको प्रयोग गराउने ज्ञानको अभाव भएकोमा चिन्ता व्यक्त गर्दछन् । पहुँच भएका विद्यालयहरूमध्ये पनि सबै विद्यालयमा यी साधनको सही उपयोग हुन नसकेको तर यी साधनको सदुपयोग गरिएका विद्यालयमा बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव परेको र सिकाइ दिगो भएको उनको अनुभव छ । शब्दकोश प्रयोग गर्न, विभिन्न सामग्री खोज तथा भण्डारण गर्न र भण्डारण गरिएका सामग्री प्रोजेक्टरबाट देखाउन सकिने हुनाले शैक्षिक क्षेत्रमा यी सामग्रीको महत्व रहेको उनी बताउँछन् । बालबालिकाहरुले यी साधनलाई मनोरञ्जनका साधनको रुपमा मात्र प्रयोग गर्दा नकारात्मक असर पर्ने र सदुपयोग गर्न सके उनीहरूमा सकारात्मक प्रभाव पर्ने बस्यालको बुझाइ छ । 

विद्युतीय सामग्री चलाउनु बालबालिकाको रुचिको विषय भएकोले आफै खोजी गरी सिक्न सक्ने उनी बताउँछन् । यी वैज्ञानिक सामग्रीबाट सिकेको कुरा प्रयोगात्मक जस्तो भएर सिकाइ दिगो हुने उनको भनाइ छ । 

प्रविधिका सामग्रीको प्रयोगले बालबालिकामा विभिन्न किसिमका फाइदाका पछाडि बेफाइदा पनि उत्तिकै भएको शिक्षक बश्यालको बुझाइ छ । बालबालिका शारीरिक व्यायाम हुने खेल नखेली एकै ठाउँमा बसेर गेम खेल्ने गर्नाले शारीरिक असर पनि उत्तिकै पर्ने उनी बताउँछन् । बालबालिकाले प्रविधिका सामग्रीलाई आफ्नो जीवनमा सदुपयोग हुने पक्षबाट भन्दा खेलौनाको रुपमा मात्र लिनाले गलत बानीको विकास हुने उनी बताउँछन् । बालबालिकालाई प्रविधिका सामग्री चलाउन साथीसँगीको आवश्यकता नपर्ने भएकोले एक्लै बसेर खेल खेल्दा एकोहोरो स्वभावको विकास हुने उनको बुझाइ छ ।  

प्रविधिका सामग्रीलाई पाठ्यक्रममा केही रुपमा समेटिएको भए पनि यो पर्याप्त भने नभएको उनी प्रस्ट पार्छन् ।  सूचना तथा सञ्चार प्रविधि विषय नै राखेर यी सामग्री कसरी प्रयोग गर्ने गराउने भन्ने बारे अनिवार्य विषयको रुपमा कक्षा १ देखि नै समेट्दा अंक र अक्षर चिनाउन सहयोग पुग्छ भन्ने उनको धारणा छ ।

प्रविधिका सामग्रीलाई अनिवार्य विषयको रुपमा समेट्ने सन्दर्भमा बस्यालका सुझाव यस्ता छन्:

१.  प्रविधिमा जानकार विज्ञहरुको पाठ्यक्रम समिति बनाउने 
२. सम्भव भए छुट्टै विषयको रुपमा कक्षा १ देखि नै लागू गर्ने 
३. छुट्टै विषयको रुपमा लागू गर्न नसकिए गणित, सामाजिक, भाषाजस्ता विषयमा केही एकाइहरू समावेश गर्ने ।  

प्रविधिका साधनको सदुपयोग गर्ने तरिका अभिभावकहरुलाई पनि सिकाउनुपर्ने उनको बुझाइ छ । विद्यालयहरुमा शिक्षकहरुको निगरानीमा ती वैज्ञानिक सामग्री बालबालिकालाई प्रयोग गराउनुपर्नेमा उनी सहमत छन् । नियरपोड, क्विजेजजस्ता एप्लिकेसन प्रयोग गरी शिक्षकहरुले बालबालिकालाई अनलाइन कक्षा लिन आवश्यक भएको उनी बताउँछन् । अंक र अक्षर चिनाउन विभिन्न शैक्षिक एप्लिकेसन प्रयोग गराउनु उपयुक्त हुनुका साथै युट्यूब, गुगलजस्ता सर्च इन्जिनहरु प्रयोग गरेर माध्यमिक स्तरका बालबालिकालाई हरेक समस्याको समाधान गर्न अभिप्रेरित गर्नुपर्ने बस्याल बताउँछन् । एनसिइडीबाट तयार पारिएका कक्षाहरु देखाउनुपर्ने उनले बताए । 

विष्णु मेमोरियल माध्यमिक विद्यालय धरानकी शिक्षिका अंशु पराजुली भन्छिन्— प्रविधिको न्यून मात्राको प्रयोग सकारात्मक हो तर अधिक प्रयोग भने नकारात्मक हुन्छ । हरेक कुराको फाइदा बेफाइदा भएजस्तै बालबालिकामा सूचना प्रविधिका माध्यमबाट खोजमूलक जानकारी प्राप्त हुने उनी बताउँछिन् । बालबालिकामा मोबाइल, ल्यापटप आदि सामानले फुर्सदको बेला मनोरञ्जन त प्राप्त हुन्छ तर उनीहरुले सीमा नाघेर मनोरञ्जन लिने हुँदा पाठ्यक्रमभित्रको पढाइमा अरुचि बढ्छ भन्ने उनको बुझाइ छ । बालबालिकालाई खोजमूलक केही काम गर त भनेर विद्युतीय सामान दियो भने गेममै समय बिताउने उनले बताइन् । हामीले बालबालिकालाई विद्युतीय सामग्रीका सबलपक्ष र दुर्बलपक्षको पहिचान गरी नकारात्मक पक्षका बारेमा धेरैभन्दा धेरै जानकारी गराएर त्यतातिर लाग्न निरुत्साहित गर्नुपर्ने शिक्षिका पराजुलीको धारणा छ । 

त्रिभुवन माध्यमिक विद्यालय अर्गली पाल्पाका शिक्षक दामोदर पाण्डेय प्रविधिको प्रयोग वर्तमान समयको अपरिहार्य आवश्यकता भएको र प्रविधिबाट आजको समाज भिन्न रहने कुराको कल्पनासम्म पनि गर्न नसकिने बताउँछन् । प्रविधिको प्रयोगले मानिसलाई कम समयमा थोरै परिश्रमले धेरै काम सम्पन्न गर्न सफल बनाएको र मानिसले घण्टौं लगाएर गर्ने काम प्रविधिको प्रयोगबाट क्षणभरमै सम्पन्न गर्न सकिने उनको धारणा छ । 

अहिलेका बालबालिकामा प्रविधिको आधारभूत ज्ञान स्वतः प्राप्त हुनुका साथै बालबालिकाले प्रविधि तथा सामाजिक सञ्जालको प्रयोगले छिट्टै अद्यावधिक सूचना प्राप्त गर्न सक्ने पाण्डेयको भनाइ छ । 

अधिक मनोरञ्जनले अध्ययनमा ठूलो बाधा पार्ने भएकाले बाबुआमाले आफ्ना नानीबाबुहरुले प्रविधिका सामग्रीलार्ई कसरी प्रयोग गरेका छन् सो कुराको ख्याल गरी आवश्यक परामर्श दिनुपर्ने उनी बताउँछन् । पाठ्यपुस्तक तथा पाठ्य सामग्रीहरू विद्यार्थीका लागि रुचिकर हुने गरी परिमार्जन गर्नुका साथै विद्यालयमा आधुनिक प्रविधिको प्रयोग गरी शिक्षण गर्नुपर्ने कुरा पाण्डेय सुझाउँछन् ।

पद्म माध्यमिक विद्यालय, दरबार क्षेत्र भक्तपुरका शिक्षक लक्ष्मण घिमिरले प्रविधिलाई कुनै कुराको निर्माण गर्न वैज्ञानिक ढंगले काम गर्ने पद्धतिका रूपमा परिभाषित गर्दै मोबाइल, ल्यापटप, कम्प्युटर भिडियो गेमजस्ता कुरा प्रविधिअन्तर्गत पर्ने बताउँछन् । प्रविधिले बालबालिकामा नराम्रो असर पार्छ भनेर सिधैँ भन्न नमिल्ने बरु प्रविधिजन्य उपकरणहरुको कसरी प्रयोग भएको छ भन्ने कुराले यसमा महत्व राख्ने बताउँछन् । प्रविधिको सदुपयोगमा अभिभावक, शिक्षक र अन्य पक्षले ध्यान दिनुपर्ने उनको बुझाइ छ ।  

बालबालिकाले छिटो सिक्ने, सिकाइ दीर्घकालीन हुने लगायत मल्टिमिडियामार्फत विभिन्न पाठसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीको प्रयोगले विषयवस्तुको धारणा सबल हुने उनको भनाइ छ । विद्यालयमा र किताबमा मात्र पढेर दैनिक जीवनका व्यावहारिक समस्या हल हुन सक्दैनन् त्यसकारण बालबालिकाले नयाँ कुराको खोजी गर्न यी माध्यमले सहयोग गरेको उनको अनुभव छ । प्रविधिको अत्यधिक प्रयोगले बालबालिकामा दृष्टिदोष हुने सम्भावना बढी हुने उनी बताउँछन् । उचित मार्गनिर्देशनको अभावमा बालबालिकाले नराम्रो कुरा पनि सिक्ने हुँदा त्यसका लागि शिक्षक, अभिभावक र सम्बन्धित पक्षले ध्यान पु¥याउनुपर्ने उनले बताए । शिक्षक घिमिरेका विचारमा बालबालिकाको उमेर जीवनको प्रारम्भिक उमेर हो । यो समयमा उसको भावी जीवनको आधार निर्माण हुन्छ त्यसैले नराम्रो कुरा सिक्नबाट उनीहरुलाई बचाउनुपर्छ । विद्युतीय सामग्रीका कुरालाई पाठ्यक्रममा नसमेट्दा बालबालिका प्रविधिको प्रयोगमा पछाडि पर्नुका साथै समयको मागअनुरुप शिक्षा र पाठ्यक्रमको विकास गर्न सकिएन भने त्यो शिक्षा उपयोगी नहुने उनको धारणा छ । 

आजको विज्ञान र प्रविधिको युगमा विकसित देशहरु पेपरलेस, पेनलेस शिक्षणसिकाइतर्फ प्रयत्नशील भइरहेको परिपेक्षमा नेपालका पनि धेरै विद्यालय इमेल, इन्टरनेटको पहुँचमा पुगिसकेको उनले बताए । समयानुकूल विश्व परिवेशमा प्रतिस्पर्धी नागरिक तयार गर्न विद्यालय तहदेखि नै पाठ्यक्रम निर्माण गर्दा बालबालिकाको सिकाइमा आवश्यक पर्ने एप्लिकेसनहरुको जानकारी गराउने, सन्दर्भ स्रोत सामग्रीहरुको लिंक उल्लेख गर्ने, के सामग्री कसरी खोज्ने त्यसको बारेमा आवश्यक जानकारी गराउने गरी विषयगत रुपमा र माध्यमको रुपमा समेटिनु अपरिहार्य रहेको उनले बताए । 

मोबाइल, ल्यापटप, कम्प्युटर, भिडियो गेमजस्ता प्रविधिजन्य उपकरणले विद्यार्थीको पढाइ बिगार्छ भन्ने गलत धारणा जनमानसमा व्याप्त भएको उनले बताए । बालबालिकाको ज्ञान, सीप र प्रयोगको दायरा फराकिलो पार्नमा विद्युतीय माध्यमको ठूलो भूमिका हुने घिमिरेको बुझाइ छ । उमेरअनुसार के सिक्ने भन्ने कुरा पाठ्यक्रममा उल्लेख गर्नुपर्ने र प्रयोगको सन्दर्भमा शिक्षक तथा अभिभावक चनाखो बन्नुपर्ने उनको सुझाव छ । प्रविधिमा बालबालिकाको सहज पहुँचसम्बन्धी यो मत सर्वेक्षणले के कुराको पुष्टि हुन्छ भने प्रविधिका नकारात्मक पक्ष मात्र नभई सकारात्मक पक्षसमेत छन् । सदुपयोग गर्न सके प्रविधि नयाँ नयाँ सिकाइका लागि सहयोगी हुन्छ भने दुरुपयोग गर्दा शारीरिक तथा मानसिक रूपमा अहितकर हुन्छ । बालबालिकालाई गाइड लाइन नदिई प्रविधिको प्रयोग गर्न दिँदा त्यसको दुरुपयोग हुने सम्भावना बढी हुन्छ भने सही मार्गदर्शन गरेर चलाउन दिँदा यो उपलब्धिमूलक हुन्छ । त्यसैले अभिभावकले आफ्ना बालबालिकाले प्रविधिको प्रयोग कसरी र कति मात्रामा गरेका छन् भन्ने कुरा ख्याल गरी उनीहरूलाई सही मार्गदर्शन गर्नुपर्छ । विद्यालय तहका पाठ्यक्रममा प्रविधिको प्रयोगसम्बन्धी जानकारीलाई समावेश गर्ने र जीवनोपयोगी सामग्रीबारे जानकारी दिने हो भने बालबालिकालाई नयाँ–नयाँ सिकाइमा समेत सहयोगी हुने देखिन्छ । 







यसमा तपाईको मत


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।