१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. केसीको स्वास्थ्य जोखिमपूर्ण

काठमाडौं- सात दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुगेको छ। आइतबार बिहानै अक्सिजनको मात्रा निकै घट्नुका साथै मुटुको गतिमा गड्बडी र रक्तचाप घटेपछि चिकित्सकले निरन्तर अक्सिजन दिन थालेका छन्।

आँखा खोल्नसमेत कठिनाइ भएका कारण डा. केसीमा आइतबारदेखि अधिकांश समय सुतिरहने समस्या देखिएको छ। 'निकै गल्नुभएको छ, बोलाउँदाबाहेक अधिकांश समय आँखा खोल्न र बोल्नसमेत कठिन भइरहेको छ,' उपचारमा संलग्न वरिष्ठ फिजिसियान डा.दिव्यासिंह शाहले बताइन्। उनका अनुसार शुक्रबारदेखि समय–समयमा मात्रै अक्सिजन दिने गरिएकोमा अब निरन्तर चाहिने अवस्था आएको छ। साथै अत्यधिक रिंगटा लाग्ने, छाती र मांशपेशी दुखाइसमेत बढ्दै गएको छ।

डा.शाहका अनुसार आइतबारको जाँचक्रममा केसीको शरीरमा सुगरको मात्रै निकै कम भइसकेको छ। छिटोछिटो अनशनका कारण शरीरमा सूक्ष्म पोषक तŒव एवं लवणको सञ्चिति निकै कम भएसँगै उपचारमा संलग्न चिकित्सकले जोखिमको अवस्था रहेको बताएका छन्। आठौं अनशन तोडेको तीन महिना पुगेकै दिन नवौं अनशन सुरु गरेका केसीको यसपटक शरीरले सञ्चित तŒव टुक््रयाएर उत्पादन गर्ने किटोन बडी नै कमी देखिएको छ। 'खाना नखाएको अवस्थामा हृदयको गति घटबढले बढी चिन्ता थप्छ,' शाहले भनिन्।

यस्तो अवस्थामा मुटुको समस्या भेन्ट्रिकुलर ट्रैकिकार्डियाको जोखिम हुन्छ।  मुटुको चाल र मांशपेशीलाई अस्थिर बनाएर सञ्चालनमा कठिन हुने यस्तो समस्या दोहोरिरहेमा मुटु चल्न अचानक बन्द हुन सक्छ। 'हामीलाई सबैभन्दा बढी यही कुराको डर छ,' शाहले भनिन्, 'यस्तो अवस्थामा अहिले अनशनस्थलमा भएको उपकरण र जनशक्तिले मात्रै जोगाउन कठिन हुन सक्छ।'

चिकित्सकका अनुसार मुटु अचानक बन्द भएमा त्यसले मष्तिस्कको रक्तसञ्चालनमा मसेत असर पर्नसक्ने जोखिम हुन्छ। 'आइसियुमै भएको अवस्थामा त त्यस्तो समस्याबाट जोगाउनेबारे भन्न सकिन्न,' उपचारमा संलग्न एक चिकित्सकले भने, 'इलेक्टोलाइड कमी भएको अवस्थामा मुटु चल्न बन्द भए अप्ठ्यारो पर्छ।'

उपचारमा संलग्न चिकित्सकले आइतबार डा.केसीसँग जीवनरक्षाका लागि उपचारको सहमति माग्दा उनले होशको अवस्थामा स्वीकार्न नसक्ने जवाफ दिएका थिए। चिकित्सकले समेत उपचार लिने/नलिने व्यक्तिगत स्वतन्त्रताको विषय भएको भन्दै होशको अवस्थामा हस्तक्षेप गर्न नसकिने निष्कर्ष निकालेको थियो।

यसअघि आठौं अनशनक्रममै डा.केसीको मुटुको चालमा गडबडी देखिएको थियो। अनशन सकिएपछि चिकित्सकले लामो जाँचसमेत गर्नुपरेको थियो। चिकित्सकका अनुसार पटक–पटको अनशन र वृद्ध उमेरसँगै स्वास्थ्य जोखिम झन् थपिँदै गएको छ। अनशनका समयमा नर्मल सलाइन (पानी मात्रै) लगाउन अनुमति डा.केसीले दिएका छन्। यस्तो अवस्थामा कुनै खालका स्वास्थ्य जटिलता देखिँदा उनी औषधिसमेत लिन मान्दैनन्।

डा. केसीले चिकित्सा शिक्षा र सुशासनसँग सम्बन्धित माग लिएर गत सोमबारदेखि अनशन सुरु गरेका थिए। उनले चिकित्सक शिक्षा ऐनमा पूर्वसंशोधन गरेर यही अधिवेशनबाटै पास गर्नुपर्ने, पछिल्लोपटक ६४ लाख शुल्क तोक्नेगरी गरेको सिफारिस खारेज गर्नुपर्ने र आइओएममा तत्काल डिन नियुक्तिलगायत अघिल्ला अनशनमा भएका सम्झौता कार्यान्वयनका माग राखेका छन्। केसीले उठाएका मध्ये मनमोहन प्रतिष्ठानसम्बन्धी संसद्मा विचाराधीन ऐन भने फिर्ता गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ।

प्रकाशित: १७ आश्विन २०७३ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App