coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छाउगोठ भत्काउँदै महिला

छाउगोठ भत्काइँदै। तस्बिर : योगेश/नागरिक

टीकापुर – सामान्यतयाः छाउपडी प्रथा पहाडी जिल्लामा मात्रै छ भन्ने धेरैको बुझाइ छ। तर यो प्रथा तराईका जिल्लामा समेत व्यापक मात्रामा देख्न सकिन्छ। तराईका ग्रामीण भेगमा बस्ने मात्रै हैन सहरबजारका महिलाले समेत छाउपडी प्रथा मान्दै आएका छन्। कैलालीको लम्कीचुहा नगरपालिकासमेत छाउपडी प्रथाबाट अछुतो छैन। यहाँ धेरै महिला छाउपडी बारेकै अवस्थामा हिंसात्मक घटनामा परेका छन्। कतिपय महिलाले ज्यानसमेत गुमाएका छन्।

छाउपडी प्रथा महिला हिंसाको कारक भएको बताउँदै जनप्रतिनिधिहरूले नगर कार्यपालिका बैठकमा आवाज उठाए। सोही बैठकले छाउपडी प्रथा उन्मूलन अभियान सञ्चालन गर्ने निर्णय गर्यो। नगरपालिकाले गत वर्ष छाउगोठको लगत संकलन गरेको थियो। जसमा जनप्रतिनिधिहरू आफैं खटिए। नगरपालिकाका विभिन्न वडामा गरी नौ सय छाउगोठ भेटिएको बताइएको छ।

नगरपालिकाले पुस ६ गतेदेखि छाउपडी प्रथा उन्मूलन अभियान थालेको हो। अभियानको सुरुवातमा नगरपालिकाले सरोकारवालासँग रायसुझाव संकलन गरेको थियो। जसमा छाउपडी प्रथाको बाधकका रूपमा रहेका मानिएका धामी, झाँक्री, ज्योतिषी, पण्डित, गुरुबा थिए। उनीहरुले छाउपडी प्रथा धार्मिक आस्थासँग सम्बन्धित नरहेको सामूहिक प्रतिक्रिया दिँदै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। सरोकारवाला अन्यले समेत नगरपालिकाको अभियानमा साथ दिने बताए।

‘पहिले छाउपडीविरुद्धको कुरै सुुन्न नचाहने पनि अहिले अभियानको पक्षमा देखिएका छन्,’ नगरपालिकाका प्रवक्ता विष्णु खनालले भने, ‘यो अभियान आफ्नो हो भन्ने महिलाहरूले बुझ्न थालेका छन्।’

नगरपालिकाले सबै सरोकारवालाको सकारात्मक प्रतिक्रिया पाएपछि यतिबेला छाउपडी प्रथा उन्मूलन अभियानअन्तर्गत घरदैलो अभियान थालेको छ। उपमेयर टीका थापाको संयोजकत्वमा गठित मूल समन्वय समितिले घरदैलो अभियानको नेतृत्व गरेको छ। जसमा जनप्रतिनिधि, सामाजिक कार्यकर्ता, महिला अधिकारकर्मीलगायतको सहभागिता छ। उनीहरूले अभियानका क्रममा महिलालाई छाउपडी प्रथाको नकारात्मक असरबारे सचेतता फैलाउने काम गरेका छन्।

अभियानमा महिलाको सहभागिता बढ्दै गएको छ। उनीहरू आफै छाउगोठ भत्काउन अग्रसर भएका छन्। ‘हामीले छाउपडी प्रथाको नकारात्मक असरबारे मात्रै भन्ने गरेका छौं,’ उपमेयर थापाले भनिन्, ‘महिला आफै छाउगोठ भत्काउन तयार भइरहेका छन।’

अभियानअन्तर्गत महिलाले दुई सयभन्दा बढी छाउगोठ भत्काइसकेका छन। अभियान नपुगेका गाउँटोलमा समेत महिलाहरू स्वतःस्फूर्त अग्रसर भएको पाइएको छ। यसरी अग्रसर हुनेमा किशोरीदेखि वृद्ध महिलासमेत छन्। वर्षौंदेखि छाउगोठमा बस्दै आएका महिलासमेत अभियानमा सामेल भएको नगरपालिकाका प्रवक्ता विष्णु खनालले बताए। उनका अनुसार धेरैजसो महिलामा छाउपडी गोठमा बस्नुहुँदैन भन्ने सोचको विकास भएको छ। ‘पहिले छाउपडीविरुद्धको कुरै सुुन्न नचाहने पनि अहिले अभियानको पक्षमा देखिएका छन्,’ उनले भने, ‘यो अभियान आफ्नो हो भन्ने महिलाहरूले बुझ्न थालेका छन्।’

अधिकारकर्मी धनराज अविरल नगरपालिकाले थालेको छाउपडी प्रथा उन्मूलन अभियान महिला अधिकार स्थापित गर्न सहयोगी हुने बताउँछन्। उनी मानसिकतामा परिवर्तन ल्याई महिलालाई छाउपडी प्रथाविरुद्ध जागरुक बनाउन जरुरी रहेको आंैल्याउछन्। ‘देउता रिसाउँछन् भन्ने मानसिकताबाट महिलालाई मुक्त गर्न आवश्यक छ,’ उनले भने, ‘मानसिक परिवर्तनले मात्रै अभियान सार्थक हुनेछ।’

नगरपालिकाले छाउपडी मान्ने र नमान्नेबीचको द्वन्द्वभन्दा यसले पार्न सक्ने असरबारे सचेतता फैलाउनमा जोड दिएको छ। छाउगोठमा सुतेका कारण महिलाहरू असुरक्षित हुनेमा अभियानले जोड दिइरहेको छ। यस कुरामा महिलाहरूसमेत सहमत भएका छन्। उनीहरूले छाउगोठको अन्त्यसँगै हिंसात्मक घटनाको समेत अन्त्य हुने विश्वास रहेको बताएका छन।

प्रकाशित: २७ पुस २०७५ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App