१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : सुखद अन्त्य गर्न पुलिस असफल

विभागीय टोली नेपाल पुलिसविरुद्ध बल अगाडि बढाउने प्रयास गर्दै सरस्वतीका तीर्थबहादुर बस्नेत (नीलो) । तस्बिर सौजन्यः एन्फा

काठमाडौं – सरस्वती युथ क्लबले लिएको अग्रतालाई तीन मिनेटमा बराबरी गर्दै विभागीय टोली नेपाल पुलिसले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा अंक बाँडेर लिगको समापन गरेको छ।

हलचोकस्थित एपिएफ क्लबको मैदानमा भएको खेलमा सरस्वती र पुलिसले १–१ गोलको बराबरी खेलेका हुन्।  खेलमा पहिलो हाफ गोलरहित भएको थियो। सम्मानजनक स्थानका लाग गर या मरको अवस्थामा रहेको पुलिसले सुखद अन्त्यको खोजी गरे पनि बलियो सरस्वतीको रक्षापंक्तिलाई चिर्न सकेन।

लिगको सुखद अन्त्य गर्ने उद्देश्यमा रहेका दुवै टोली दोस्रो हाफमा आक्रामक देखिएका थिए। ५०औं मिनेटमा विदेशी खेलाडी भिक्टर अमोबीले पेनाल्टीबाट गोल गर्दै सरस्वतीलाई पहिलो अग्रता दिलाए। पुलिसका रक्षकले सरस्वतीका तीर्थ बस्नेतलाई डी बक्सभित्र खराब फाउल गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो। भिक्टरले उक्त अवसरलाई सहजै सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए। सरस्वतीको अग्रता धेरै समय टिकेन। तीन मिनेटपछि नै पुलिसका लागि रवि पासवानले गोल गर्दै खेल बराबरीमा ल्याए।  त्यसपछिको बाँकी समयमा पुलिस जितको खोजीमा आक्रामक देखिए पनि गोल गर्न सकेन।  सुखद अन्त्यको खोजीमा रहेको पुलिसका एकपछि अर्का प्रयासलाई सरस्वतीका रक्षकले विफल पारे।

हलचोक मैदानमा शनिबारै भएको खेलमा च्यासलले जावालाखेल युथ क्लबसँग १–१ को बराबरी खेलेको छ।

बराबरीसँगै शीर्ष ६ भित्र पर्न पुलिसले अन्य क्लबको खेलमा निर्भर हुनुपर्नेछ।  पुलिस १३ खेलबाट १९ अंक जोड्दै तालिकाको छैटाैं स्थानमा यथावत् छ। एक खेल कम खेलेको हिमालयन शेर्पा १७ अंकसहित सातौं स्थानमा छ। यस्तै प्रतिद्वन्द्वी सरस्वतीको १३ अंक छ। सरस्वतीले तालिकाको १०आैं स्थानमा रहेर लिगको अन्त्य गरेको छ।

यस्तै लिगअन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा नवप्रवेशी च्यासल युथ क्लबले आठौं स्थानमा रहँदै यो सिजनको अन्त्य गरेको छ। जारी लिगमा च्यासल र जावलाखेल युथले समान चार खेलमा बराबरी खेल्दै लिगको अन्त्य गरेका हुन्। हलचोक मैदानमा शनिबारै भएको खेलमा च्यासलले जावालाखेल युथ क्लबसँग १–१ को बराबरी खेलेको थियो।

निकै प्रतिस्पर्धात्मक खेलको १०आैं मिनेटमा अरुज सिंहले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए। अफ्रिकन खेलाडी लावलले हानेको फ्रिकिकलाई अरुजले हेडमार्फत जाली चुमाए। लिगको अन्तिम खेलमा सुखद अन्त्यको खोजीमा रहेको जावलाखेल आक्रामक भएको थियो। प्रतिद्वन्द्वी च्यासलले खेलमा पछाडि परेपछि बराबरीका लागि आक्रामक रणनीति बुन्यो। एकपछि अर्को काउन्टरको प्रयास गरेको च्यासलका लागि ३२औं मिनेटमा छिरिङ गुरुङले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा ल्याए। काउन्टरमा रहेको च्यासलका फरवार्डलाई जावलाखेलका रक्षकले पेनाल्टी बक्सभित्र खराब फाउल गरेपछि च्यासललाई रेफ्रीले पेनाल्टी दिए।

यसअघि खेलको आठौं मिनेटमा च्यासलका सजिन थापाले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेको कडा बललाई जावलाखेलका गोलकिपर सागर श्रेष्ठले पन्च गर्दै विफल पारेका थिए। ३५औं मिनेटमा जावलाखेलका सुरज ठकुरीको कर्नरमा आदमा डोम्बियाको हेडर बल पोस्टनजिकैबाट बाहिरिएको थियो। ५८औं मिनेटमा च्यासलका सन्तबहादुर गुरुङले आकर्षक रूपमा बललाई जाली चुमाए पनि रेफ्रीले मान्यता दिएनन्। उक्त बललाई नियन्त्रण गर्दै गोल गर्ने क्रममा सन्तबहादुरले जावलाखेलका किपरलाई फाउल गरेको भन्दै रेफ्रीले उक्त गोललाई मान्यता नदिएका हुन्। विक्रम लिम्बुको कडा प्रहार क्रसबारमा लागेर फर्किंदा ७७औं मिनेटमा च्यासलको अग्रता लिने अवसर खेर गयो। खेलमा जावलाखेल रक्षक कुलदीप कार्की म्यान अफ दी म्याच  भए। आठौं स्थानको च्यासलले १३ खेलबाट १५ अंक जोड्यो भने जावलाखेलले १३ खेलबाट १३ अंक जोड्दै लिगको समापन गर्यो।

लिगमा आइतबार पनि दुई खेल हुँदै छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा हुने खेलमा हिमालयन शेर्पाले थ्री स्टारको सामना गर्दै छ भने हलचोकस्थित एपिएफ क्लबको मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मच्छिन्द्र क्लबको सामना गर्दै छ।

तालिकामा हिमालयन शेर्पाको १२ खेलबाट १७ अंक छ भने प्रतिद्वन्द्वी थ्री स्टारको समान खेलबाट २३ अंक छ। यस्तै आर्मी २० अंकसहित तालिकाको चौथो स्थानमा हुँदा मच्छिन्द्र अंक घटुवाको क्षेत्रमा रहेको छ। १२ खेल खेलिसकेको मच्छिन्द्र ७ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।

आजका खेल
हिमालयन शेर्पाविरुद्ध थ्री स्टार – २ः३० बजे (एन्फा मुख्यालय)
त्रिभुवन आर्मीविरुद्ध मच्छिन्द्र – २ः३० बजे (हलचोक)

प्रकाशित: २२ पुस २०७५ ००:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App