२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
विचार

भावनात्मक सम्बन्ध र मेलमिलाप

नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ४३ औँ सम्झना दिवस मनाइरहँदा अहिले तीनवटा अंग्रेजी शब्दको चर्चा उठिरहेको छ। पहिलो इमोस्नल अट्याच्मेन्ट, दोस्रो डिप लभ (गहिरो प्रेम) र तेस्रो ट्रस्ट। यी शब्दका सहारामा नेपाली कांग्रेसका नेताहरू आफूलाई, आफ्नो दृष्टिकोणलाई सञ्चारजगतका सामु र सदस्यहरूसमक्ष प्रस्तुत गरिरहेका छन्। केही दिनअघि सम्पन्न महासमिति बैठकको समापन सन्दर्भमा सभापति शेरबहादुर देउवाले आफू र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच डिप लभ अर्थात् गहिरो प्रेम रहेको हुनाले यो पार्टीलाई कुनै पनि हालतमा मिलेर सफल गराउने उद्घोष गर्नुअघि पौडेलले भनेका थिए– ‘शेरबहादुरजी र ममा एकप्रकारको इमोस्नल अट्याच्मेन्ट (भावनात्मक सम्बन्ध) छ।

नेपाली कांग्रेसमा अहिले पनि जेल, नेल, यातना भोगेको पुस्ता छ। जुन पुस्ताले कुनै दिन भोकै बसेको, कुनै दिन जाडोमा काम्दै बसेको, राम्ररी ओढ्ने/ओछ्याउने नभएर जे पायो त्यस्तै गुन्द्री चकेटीमा सुतेको, भोकाएका समयमा एक मुठी भटमास बाँडेर खाएको अनुभव सबैसँग छ। नेपाली कांग्रेस यथार्थमा त्यही इमोस्नल एट्याच्मेन्टले नै सजीव छ। यसको रसायन नै इमोस्नल एट्याच्मेन्ट हो।’ तर इमोस्नल अट्याच्मेन्टलाई वा डिप लभलाई जोड्ने महŒवपूर्ण रसायनचाहि ट्रस्ट हो। सञ्चारकर्मीसँगको सम्वादक्रममा देउवाको तर्क थियो– महत्वपूर्ण रसायन ट्रस्ट हो। ट्रस्ट अर्थात् विश्वास। विश्वास भएन भने भावनाको सहारामा मात्र पार्टी चल्देैन।

 बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्दाको समय र आजको समयमा आकाश–जमीनको अन्तर देखिन्छ। २००७ सालपछिका दश वर्ष संक्रमणमा नै बिते। अनेक दबाबपछि भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले अत्यधिक बहुमत पाएपनि शासनको समयावधि मात्र अठार महिनाको रह्यो। भर्खर आधुनिक राजनीतिक प्रणालीमा प्रवेश गरेको देशको सरकारले आन्तरिक संरचना मिलाउन वा अवयवहरू निर्माण गर्नमा नै समय व्यतीत हुनु स्वाभाविक थियो। तर पनि तीव्रतमरूपले सामाजिक, आर्थिक र विकासका काम थालिए। शायद त्यस समयमा मुस्ताङ प्रकरणमा भारत र चीनका प्रधानमन्त्रीलाई गल्ती स्वीकार गर्न बाध्य नपारेको भए, इजरायल र पाकिस्तानसँग दौत्यसम्बन्ध कायम गर्ने काम नगरिएको भए, आर्थिक सामाजिक सुधार अभियानलाई तीव्रता नदिई सामन्तहरूका पक्षमा थोरै पनि उभिएको भए, राजालाई अधिकतम शक्तिको दुरूपयोग गर्न नीतिनियमहरू बनाइदिएको भए र पार्टीभित्रैका अन्तध्र्वंशीहरू बिक्री नभएका भए २०१७ साल आउने थिएन होला। नियतिलाई अर्कै विषय मन्जुर भएको हुनाले आर्थिक सामाजिक यी सुधारका काम भए र अन्तर्राष्ट्रिय जीवनमा नेपालको स्वाभिमान उचो राख्ने काम भयो।

राणाशासन अन्त्य गर्ने नायकले परिवर्तनपश्चात् अन्ततः ८ वर्ष कठोर जेल जीवन बिताउने, ८ वर्ष नै निर्वासनमा बिताउनुपर्ने र देशभित्र प्रवेश गरे पनि निरन्तर अपमानको विषपान गरिरहनुपर्ने अवस्था आफैँमा दुर्भाग्यपूर्ण मान्नुपर्छ।

राणाशासन अन्त्य गर्ने नायकले परिवर्तनपश्चात् अन्ततः ८ वर्ष कठोर जेल जीवन बिताउने, ८ वर्ष नै निर्वासनमा बिताउनुपर्ने र देशभित्र प्रवेश गरे पनि निरन्तर अपमानको विषपान गरिरहनुपर्ने अवस्था आफैँमा दुर्भाग्यपूर्ण मान्नुपर्छ। तर बिपी कोइरालाको जीवनमा यस्ता अनेक दुर्भाग्यपूर्ण दिनहरू नियतिले प्रदान गरेको देखिन्छ। एकमुखले नेपालका साम्यवादीहरू र राजावादीहरूले बिपीलाई अराष्ट्रिय तŒव, देशघाती अनेक शब्दविभूषण प्रदान गरिरहे। तर अब परिस्थिति फेरिएको छ। राजावादीहरूले बिपीलाई अहिले चिन्न लागेका छन्। साम्यवादीहरूमा बिपी विचारलाई कांग्रेसले आत्मसात् नगरेको भन्ने चिन्ता छ। राजावादीहरूले २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर देशभित्र आएका बिपीलाई स्वागत र सम्मान गरेका भए शायद आजको जस्तो अवस्था आउने थिएन होला। साम्यवादीहरूले देश निर्माणको विषय, राष्ट्रको सु्रक्षाको विषय, राष्ट्रिय एकताको विषयलाई लिएर बिपीमाथि प्रहार केन्द्रित नगरेका भए शायद नेपाल निरन्तर यसरी शीर झुकाएर बस्नुपर्ने थिएन होला। नेपालको स्वतन्त्रता र स्वाभिमानको विषयलाई नेपाली कांग्रेसको मात्र अस्तित्वको प्रश्न हो भनेर साम्यवादीहरूर राजावादीहरूले सोचेकै कारण देशमा अनेक शंकाजीवित छन्, परिवर्तनको पहाड नाघे पनि राजनीतिक संक्रमण अन्त्य हुनसकिरहेको छैन।

पौडेलले पहिलो दिन अत्यन्त भावुक शैलीमा व्यक्त पार्टीभित्रको ‘इमोस्नल अट्याच्मेन्ट’ को टिप्पणी र त्यसको उत्तरमा लगत्तै सभापति देउवाले आफू र रामचन्द्रबीच स्थापित ‘डिप लभ’ र ती दुवैको कार्यान्वयनमा आपसी विश्वास अर्थात् ‘ट्रस्ट’ जरुरी हुन्छ भन्ने विचार प्रक्षेपण गरेपछि नेपाली कांग्रेसले अब आफ्ना वैचारिक भाष्यकार बिपीको मेलमिलापको सान्दर्भिकता बोध गर्न लागेको अनुभव भएको छ।

राष्ट्रिय एकता र मेलमिलापको नीति कति सान्दर्भिक छ भन्ने प्रश्न अनेक कोणबाट नउठेको होइन। बिपीले सशस्त्र आन्दोलनका अनेक तीता अनुभवहरूको मात्र विश्लेषण गरी मेलमिलापको विषय उठाएको हो कि त्यस समयका अन्तर्राष्ट्रिय परिघटना, छिमेकी राष्ट्रहरूमा देखिएको राजनीतिक आरोह÷अवरोहहरू अथवा देशभित्रकै वस्तुस्थितिको विश्लेषण गरी जोखिम मोलेर भएपनि एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्नुभएको हो ? यो प्रश्नसँग यस नीतिको सान्दर्भिकता जोडिएको छ। सिक्किमभित्रको अन्तरविरोधलाई अनेक कोणबाट मलजल गर्दै जनमत संग्रहका नाउँमा भारतमा गरिएको विलय, पाकिस्तानलाई टुक्र्याउँदै बंगलादेश निर्माण, उत्तरतिर माओत्से तुङको पार्थिव अवशानपछि आएको परिवर्तन छिमेकमा देखिएका राजनीतिक घटना हुन्। निर्वासनमा बसिररहेको भारतीय जमिनमा तत्कालीन सरकारले लगाएको संकटकाल, नेपाली कांग्रेससँग नजिक रहेका समाजवादीहरूलाई जेल र यातनाको खेल, नेपाली राजनीतिकर्मीलाई ३० किलोमिटरभित्र खुम्च्याइएको अवस्थाले भारतमा वसिरहनु बिपी र उहाँका सहयोगीहरूकालागि सहज हुनसकेन।

अर्कोतिर महाशक्ति राष्ट्रहरू अमेरिका र रुसबीच तानातान, साना राष्ट्रहरूमाथि हस्तक्षेपको प्रतिस्पर्धाले पनि नेपाल जस्तो सानो देशको राष्ट्रिय अस्मितामाथि संशय उत्पन्न गराइरहेको थियो। इरानमा चलिरहेको आन्दोलन, कम्बोडियामा भएको क्रूर परिवर्तन र विदेशी चासो अनेक विषय थिए बिपीका सामु। राजनेता त्यसै हँुदेन। विचारक र चिन्तकको अर्थ पनि सामान्य हुँदेन। बिपी कोइरालामा चिन्तन थियो, कल्पनाशक्ति थियो, परिघटनाहरूमाथि मिहीन विश्लेषण गर्ने सामथ्र्य थियो र प्राप्त निष्कर्षलाई कार्यान्वयन गर्ने साहस थियो। उहाँमा गल्तीहरू स्वीकार गर्ने भावना पनि थियो। २०१८ मा सुवर्णशमंशेरले थालेको सशस्त्र आन्दोलनको विफलताबाट बिपीले पाठ नसिकेको सत्य हो। तर त्यसपाठलाई आफैँले २०२६ देखि २०३२ सम्म राम्ररी पढेपछि उहाँले स्वीकार गर्न नै राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकासाथ स्वदेश प्रवेश गर्नुभएको देखिन्छ।

बिपीले मूलरूपमा २०१५ को निर्वाचनको परिणाम र २०१७ को कदमलाई केन्द्रमा राखी आफू जनताको प्रतिनिधि भएको हुनाले जनताको अधिकारका निम्ति आफू राजासँग संघर्ष गर्ने तर राष्ट्रियताको रक्षा गर्न परम्परागत शक्ति राजसंस्थासँग सहकार्य गर्ने नीति प्रतिपादन गर्नुभएको थियो। उहाँको सूत्रवाणी नै थियो– ‘राजासँग न समर्पण न संघर्ष।’ यसैको बिस्तारित व्याख्या गर्ने सन्दर्भमा बिपीले आफ्नो र राजाको घाँटी जोडिएको र एउटै अचानोमाथि रहेको टिप्पणी गर्नुभएको थियो। उहाँको घाँटी जोडिएको प्रसंग राष्ट्रियतासँग सम्बन्धित छ। राष्ट्रियता जोगाउन देशका सबै शक्तिको सामूहिक जिम्मेवारी हुन्छ। जनतालाई समाप्त पारेर, उनीहरूका अधिकार नियन्त्रित गरेर वा स्वतन्त्रताहरू कुण्ठित गरेर राष्ट्रियता बच्देैन। यदि राजाले जनताको प्रतिनिधिलाई अचानोमा राख्ने प्रयास गरेमा राजाको समेत अन्त्य हुने बिपीको चेतावनी थियो। वस्तुतः २०६१ सालमा संवैधानिक राजसंस्था मान्ने नेपाली कांग्रेस र नेकपा एमालेका नेता÷कार्यकर्तालाई राजाले अचानोमा राख्ने काम गरेपछि राजसंस्था आफैँ अचानोमा परेको दृष्टान्तले बिपीको त्यस भनाइको पुष्टि भएको छ।

बिपीले बढ्दो सोभियत हस्तक्षेपलाई दृष्टिगत गरी नेपालमा राजासँग भित्रिया भएको सोभियतपन्थी र साम्यवादीहरूका कार्यलाई इन्डोनेसियाका नेता डिएन एदितसंँग तुलना गर्नुभएको थियो। त्यससमयमा नेपालका साम्यवादीहरू तीन खेमामा थिए। दरवारलाई भित्र–बाहिर सहयोग गर्देै अवसरवादलाई जीवनमा उतारिरहेका एकथरी जसले राष्ट्रिय स्रोतहरूको दोहन अरु शासकसरह गरिरहेका थिए, अर्काथरी थिए प्रत्यक्ष विरोध गर्दै रणनीतिकरूपमा राजालाई सहयोग गर्ने गरिरहेका भएपनि तिनका अनेक समर्पित कार्यकर्ताले भने अत्यन्त कष्ट र यातनासमेत भागिरहेका थिए। तेस्रोथरी थिए लोकतान्त्रिक आन्दोलनमा पूर्ण समाहित हुँदै वाम प्रजातानित्रक एकताबाट परिवर्तनको सम्भावना खोजिरहेकाहरू। तेस्रोथरीले निर्दलीय निरंकुशताको चरम यातना भोगेका थिए। बिपीको भनाइ पहिलो र दोस्रोमा केन्द्रित थियो। तर समर्पित साम्यवादीप्रति उहाँको एदित फर्मुलाको सान्निध्यता थिएन।

२०४६ मा साम्यवादीहरूसँग सहकार्य गरेपछि र २०६२ मा माओवादीसँग १२ बुँदे सहमतिपश्चात बिपीको राष्ट्रिय एकता तथा मेलमिलाको नीति भंग भएको तर्कसमेत गरिन्छ र यसको सान्दर्भिकता अन्त्य भएको निष्कर्ष निकालिन्छ। तर राष्ट्रको जीवनमा मेलमिलाप अनिवार्य हुन्छ र यसको सान्दर्भिकता कुनै पनि अवस्थामा समाप्त हुँदैेन। अहिले पनि देश विकासका सन्दर्भमा एक्लैले म गर्छु भन्ने अहंकार राख्छ भने त्यो घातक चिन्तन सावित हुनेछ। नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइरहनुको तात्पर्य पनि मेलमिलापको व्यापकतालाई खण्डित गर्नु घातक हुनेछ भन्ने सन्देश प्रवाहित गर्नु नै हो।

मेलमिलाप बाहिर मात्र खोज्ने कि पार्टीको आन्तरिक जीवनमा पनि खोज्ने ? यो प्रश्न पनि सान्दर्भिक छ। पार्टीभित्र विवाद, असन्तुष्टि, गुट, धार निर्माण गर्ने अनि यसका विपरित बाहिर राष्ट्रिय एकता तथा मेलमिलापको व्याख्या गर्नुको कुनै औचित्य रहँदेैन। अहिले नेपाली कांग्रेसमा एकताको आवश्यकता मेलमिलापको दर्शनबाट अनुप्राणित हुनैपर्ने देखिएको छ। विवादले विगतमा जन्माएको घातक परिणामहरूको समीक्षा गर्ने हो भने राष्ट्रिय एकता तथा मेलमिलापको नीति पहिले नेपाली कांग्रेसकोआन्तरिक जीवनमा अनिवार्य भएको छ। केही दिनपहिले सम्पन्न महासमिति बैठकमा सहभागीहरूले दिएका दबाब पार्टीभित्र एकताकालागि नै हो भन्ने स्पष्ट छ। सदस्यहरूको दबाबलाई सम्मान गर्दै पहिले दुईध्रुवमा विभक्त जस्तो देखिएका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले रियलाइजेसन गर्न लागेको देखिन्छ। पौडेलले पहिलो दिन अत्यन्त भावुक शैलीमा व्यक्त पार्टीभित्रको ‘इमोस्नल अट्याच्मेन्ट’ को टिप्पणी र त्यसको उत्तरमा लगत्तै सभापति देउवाले आफू र रामचन्द्रबीच स्थापित ‘डिप लभ’ र ती दुवैको कार्यान्वयनमा आपसी विश्वास अर्थात् ‘ट्रस्ट’ जरुरी हुन्छ भन्ने विचार प्रक्षेपण गरेपछि नेपाली कांग्रेसले अब आफ्ना वैचारिक भाष्यकार बिपीको मेलमिलापको सान्दर्भिकता बोध गर्न लागेको अनुभव भएको छ। यो अनुभवले स्थायित्व पाओस्। कांग्रेसजनकालागि यही नै मेलमिलाप दिवसको सजीव उपहार हुनेछ।

प्रकाशित: १८ पुस २०७५ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App