coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

द्वन्द्वपीडित गोरेको गुनासो, ‘व्यवस्था फेरियो तर अवस्था उस्तै’

सिन्धुलीको मरिण गाउँपालिका ७ मा रहेका द्धन्द्धपिडित गोरे । तस्बिर : अनिल/नागरिक

सिन्धुली – सानो कोठा, कोठाको केही भागमा सामान्य किराना सामान छन्। त्यहीबीचमा एउटा सानो काठे खाटमा दुईओटै खुट्टा गुमाएका एक द्वन्द्वपीडितको वृद्ध छन्। साविक महादेवस्थान गाविस हाल मरिन गाउँपालिका ७ बस्ने गोरे श्रेष्ठ १० वर्षे द्वन्द्वका पीडित हुन्।

द्वन्द्वमा विद्रोही पक्षले दुबै खुट्टा काटेपछि जसोतसो जिविका चलाएका गोरेको अहिलेको दैनिकी भने निकै कष्ठकर बनेको छ। १२ छोरा १३ नाती बुढाको धोक्रो काधैमाथि भन्ने उखान यतिबेला उनको जिवनमा लागू भएको छ। ७ छोरी र ६ छोरा भएपनि उनको साथमा अहिले कोही छैनन्। उनको एक नातीनीले जसोतसो स्याहारसुसार गरेर राखेकी छिन्। उमेरले ८८ वर्षीय वृद्ध गोरे हाल बाहिर भित्र समेत गर्न नसक्ने अवस्थामा छन्।

२०५४ साल पुस १९ गते राती सुराकीको आरोपमा तत्कालिन विद्रोहीपक्ष रहेको माओवादीका कार्यकर्ताले तत्कालिन वडाअध्यक्ष समेत रहेका उनको दुबै खट्टा काटे। दुबै खुट्टा काटेपछि औषधि उपचार सहित कृतिम खुट्टाबाट बैसाखीको सहायताले जसोतसो बाहिर भित्र गर्ने गरेका गोरेको हाल कृतिम खुट्टा समेत भाचिएको छ। महंगो हुँदो रहेछ बाबु कृतिम खुट्टा, उनले नागरिककर्मीसँग गुनासो गर्दै भने, ‘दुई लाख डिपोजिट गरेपछि मात्रै बनाइदिने भनेका छन्, कहाँबाट ल्याउन सक्छु र दुई लाख।’

उनको दुबै खुट्टा विद्रोही पक्षले काटेपछि परिवार समेत क्षतविक्षत भयो। सबै मिलेर जसोतसो गुजरा गर्दै आएका परिवारमा उनको खुट्टा खाटिएपछि छोराछोरी सबैले घर छाडे। उनीपनि काठमाडौं गएर उपचार त गरे तर अब हिड्ने साहारा कृतिम खुट्टा बाहेक अन्य उपाय नभएपछि अरुको आश्रित हुनुपरेको दुखेसो गर्छन्। द्वन्द्व पीडितकै नाममा राज्यले अर्बौ सकेको समाचारमा सुन्छु, उनले भने, मैले राम्रो औषधि उपचार पनि पाइन। उनले द्वन्द्वपीडितको नाममा आफूले केही सुविधा र केही राहत नपाएको गुनासो गरे। दुईवर्ष अगाडि आफैं मन्त्रालय धाएपछि अपाङ्ग भत्ता वापत मासिक ७ हजार पाएको उनले बताए।

म दुई ओटै खुट्टा नभएको पुर्ण अपाङ्ग हुँ त्यहि अनुसार अपाङ्ग भत्ता मात्रै पाएको छु, अन्य राज्यबाट केही सुविधा लिएको छैन्। अपाङ्ग भत्ता पाउने भएपछि उनले केही महिना अगाडि २० हजार ऋण लिएर उनी बस्ने कोठामा सानो किराना पसल गर्न सुरु गरेका छन्। र्याकमा भएका केही सामान किन्न आउने आफैंलार्इ झिकेर लैजाउ भन्छु, हातले भेट्ने आफैं दिन्छु, पैसा जम्मा गर्छु उनले भने, ‘सामान सकिएपछि अटो रिक्सा रिजर्भ गरेर नातीनी वा कसैको सहयोगमा सामान ल्याउने गरेको छु।’

बालबच्चालाई शिक्षा दिक्षा दिने समयमा आफूले दुबै खुट्टा गुमाउँनु परेपछि आफ्ना छोराछोरीलाई शिक्षा दिक्षा दिन नसकेकोप्रति उनको ठुलो गुनासो छ। मेरा छोराछोरीले राम्रो शिक्षा पाएको भए सायद म अपाङ्ग भएपनि यस्तो अवस्थामा रहनुपर्दैन थियो होला, उनले भने, अझै पनि सरकारले मेरो उपचार र बालबच्चालाई शिक्षा दिने कुरामा सहयोग दिए खुसी हुन्थे। उनले १० वर्षे द्वन्द्वबाट व्यवस्था फेरिएपनि आफ्नो अवस्था झन् नाजुक भएको बताए।

अरुलाई व्यवस्था फेरियो होला, गाउँगाउँमा सिंहदरबार आयो होला तर मलाई ति सबै सपना भए, उनले दुखेसो गर्दै भने, ‘व्यवस्था फेरियो तर म जस्ता पीडितलाई राज्यले बिर्सियो।’  उनको कृतिम खुट्टा समेत भाचिएपछि दैनिकी बिजोग भएको छिमेकी टेकबहादुर भ्लोनले बताए। कृतिम खुट्टा हुँदा यसो बाहिर निस्किएको देख्न सकिन्थ्यो, तर अहिले एउटै थलामा हुनुहुन्छ, उनले भने।

पीडित गोरेका छोराछोरी कमाउने सिलसिलामा बाहिर छन्। उमेरमा तीन श्रीमति विहे गरेका गोरेको साथमा हाल कोही छैनन्। तीन मध्ये एक श्रीमति अझै छिन्, उनी पनि प्यारालाइसिस भएर उपचारकै क्रममा काठमाडाैं भएको उनले जनाए । मेरो सामान्य कमाई हो, काठमाडौंमा श्रम गर्ने छोरा इन्द्र श्रेष्ठले फोनमा भने, आमाको उपचार गरिरहेको छु, बुबालाई पनि प्रेसर लगायतको समस्या छ, कृतिम खुट्टा भाचिएपछि झनै विरत्तीनु भएको छ, त्यो किन्न सक्ने हाम्रो हैसियत छैन, उनले भने। उनले द्वन्द्वपीडितको नाममा कहिबाट केहि आर्थिक सहयोग हालसम्म नपाएको बताए।

मरिन गाउँपालिका उपाध्यक्ष संगिता माझीले गोरेलाई गाउँपालिकाबाट उपचार खर्च दिने प्रक्रिया अगाडि बढेको बताइन्। गाउँपालिकाको बैठकमै उहाँलाई उपचार खर्च र राज्यबाट पाउने सेवा सुविधाको लागि पहल गर्ने निर्णय भएको छ, यसलाई जतिसक्दो चाडो निर्णय गराई कार्यन्वयन गराउन सहयोग गर्छु, नागरिकर्मीसँगै गोरेको घरमा पुगेकी उपाध्यक्ष माझीले भनिन्, उहाँको अवस्था निकै दयनिय रहेछ, गाउँपालिकाबाट हुने सहयोग गर्छौ।

प्रकाशित: ११ पुस २०७५ ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App