१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्व शारीरिक सुगठनमा स्वर्ण विजेता महेश्वरको भव्य स्वागत (फाेटाे फिचर)

काठमाडौं– विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ।

थाइल्यान्डको चाङमाइमा डिसेम्बर ११ देखि १७ तारिखसम्म भएको १० औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए। नेपाली शारीरिक सुगठनको इतिहासमा यो पदक अहिले सम्मकै ठूलो र एक मात्र उपलब्धी हो। विश्व शारीरिक सुगठनमा नेपालले रजत मात्र जितेको छ। यसअघि गत वर्ष मंगोलियमा भएको विश्व शारीरिक सुगठनको नवौं संस्करणमा ननिता महर्जन तथा थाइल्यान्डमा भएको सातौं संस्करणमा रुजेश शाहीले रजत जितेका थिए।

महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक मात्र स्वर्ण विजेता नेपाली खेलाडी हुन्। महेश्वरले भुटानमा भएको ५० औं एसियाली शारीरिक सुगठनमा उक्त सफलता हात पारेका थिए। ३५ वर्षीय महेश्वर ११ औं दक्षिण एसियाली शारीरिक सुगठनका पनि कास्य विजेता हुन्।

महेश्वरलाई विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, आफन्तलगायतले भब्य स्वागत गरेका थिए।

महेश्वरले विश्व शारीरिक सुगठनमा स्वर्ण जित्दै इतिहास रचेकोमा खुशी व्यक्त गर्दै आफ्नो सपना साकार भएको बताए।
उपाध्यक्ष तिम्सिनाले इतिहास रचेका महेश्वरलाई उचित पुरस्कारका लागि राष्ट्रिय खेलकुद परिषद्ले नेपाल सरकार समक्ष चाँडै सिफारिस गर्ने बताए।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगत रुपमा महेश्वरलाई प्रोत्साहन स्वरुप ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे। ‘महेश्वरजीले विश्व शारीरिक सुगठनमा स्वर्ण जितेर नेपाली शारीरिक सुगठनको मात्र नभइ सिंगो राष्ट्रको शिर उच्च बनाउनु भएको छ। उहाँलाई प्रोत्साहन र सम्मान स्वरुप ३ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्छु’, अध्यक्ष श्रेष्ठले भने।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App