१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘विराटनगर त फेरिएछ’

नेपाली चलचित्रकी लोकप्रिय नायिका सञ्चिता लुइटेलले उनलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई यसरी बताइन्।

पुस्तक
रामलाल जोशीद्वारा लिखित उपन्यास ‘सखी’ भर्खरै पढ्न थालेकी छु। यो उपन्यास मलाई निकै राम्रो लागिरहेको छ। पढिरहेकी छु तर पूरा गरिसकेकी छैन। जति पढेँ, त्यतिसम्म राम्रो लागेको छ। मलाई कुनै पनि किताब पढ्दा चासो बढाउने खालको हुनुपर्छ। त्यो खाल्को जुनसुकै पुस्तक मनपर्छ। 

लेखक
मलाई नेपाली लेखकमा चुडामणि बन्धु मनपर्ने लेखक हुनुहुन्छ। यहाँले  लेखेका केही नेपाली कल्चरका पुस्तक मैले पढेकी छु। उहाँले लेख्नुभएको ‘भोटेजात्रा’ पुस्तक थियो।  ‘भोटेजात्रा’ पुस्तकमा नेपालमा मनाइने भोटेजात्राको बारेमा लेखिएको थियो। यो पुस्तक पढ्दा निकै चासो बढेर आउँथ्यो। उहाँको पुस्तक पढ्दै जाँदा उहाँ गहिरिएर अध्ययन गरेर लेख्ने लेखक जस्तो लाग्यो।

कथा
प्रायः मलाई काल्पनिकताको भरमार भएका कथाहरु मन पर्छन्। जसमा सत्यताको झल्को पनि होस्। यस्ता कथा पढ्दा मलाई आनन्द आउँछ।

भेट्न मन लागेको व्यक्ति
आध्यात्मिकतासँग जोडिएका सद्गुरुलाई भने भेट्न मन लागेको छ। एकपटक उहाँ नेपाल आएको बेला भेट्ने भनिएको थियो, विशेष कामले गर्दा भेट्न सकिएन। उहाँसँग एकपटक भेट्न मन लागेको हो।

भेटिरहन मन लाग्ने व्यक्ति
मेरो ड्याडी। उहाँले नै मलाई धेरै कुरा सिकाउने गर्नुहुन्छ। त्यसैले मैले भेटिरहने व्यक्तिमा मेरो ड्याडी र मेरो परिवार नै हो।

नेता
मलाई सबै नेता मन पर्छन्।

ठाउँ
म विराटनगर पुगेर आएँ। विराटनगर धेरै राम्रो लाग्यो। पहिलाको तुलनामा अहिले निकै राम्रो बनेको रहेछ। बाटोहरु बढाइएकाले विराटनगरको स्वरुप नै फेरिएछ। त्यसैले मलाई विराटनगर र आफू जन्मेको र हावापानी राम्रो भएको ठाउँ काठमाडौँ नै सुन्दर लाग्छ।

देश
मलाई नेपाल नै मन पर्छ। नेपालका पूर्वपश्चिम, उत्तरदक्षिण घुमेकी छु। नेपालको हावापानी, प्रकृतिले दिएको यो सुन्दरता असाध्यै मनपर्छ। यसपछि मलाई विदेशमा दुबई मनपर्छ।

राजा
मलाई पूर्व राजा ज्ञानेन्द्र शाह मन पर्छ। भगवान बुद्धले जस्तै उहाँले पनि आफ्नो गद्दी त्यागेर जानुभयो। मानौँ न, हाम्रो घर अगाडि सानो बाटो फराकिलो पार्दा होस् या केही गर्दा, आफ्नो सानो भाग खासिँदा पनि कति झगडा गर्छौं भने उहाँले त जनताका लागि दरबार र गद्दी नै त्याग गर्नुभयो। आफू बसेको दरबार छाड्दा उहाँले सबै जनतामाझ नमस्कार गरेर जानुभयो। मनमा पीडा त थियो होला तर बाहिर झल्किएको थिएन।  यस कारण उहाँबाट म प्रभावित भएकी हुँ।

ब्याग
मलाई सानो मोबाइल बोक्न मिल्ने खाल्को हाते पर्स भए पुग्छ। जुनसुकै ब्रान्डको भए पनि हुन्छ। यही भन्ने चुजी छैन म।

फूल
मलाई पनि अन्यलाई जस्तै रातो गुलाफको फूल मनपर्छ। हेर्दा नै राम्रो लाग्ने, जो कोहीलाई यसले मोहित पार्छ। त्यस्तै, हातले छुँदा निभ्ने फेरि एकैछिनमा खुल्ने लजावति फूल पनि मनपर्छ।

घडी
डिएनकेवाई घडी लगाइरहेकी छु। यो लगाउने बानी भएर होला यही घडी मनपर्छ। 

चस्मा
काठमाडौँमा धुलो धुँवा बढी भएकाले आँखालाई सेफ गर्ने खाल्को चस्मा लगाउँछु। महँगो खाल्को लगाउने भन्ने छैन।

सपिङ स्टोर
मलाई चाहिने सामान जति बैनीहरुले विदेशबाट नै पठाइदिन्छन्। नेपालमा खासै किन्नु परेको छैन। बैनीहरुले फ्रान्स र जर्मनीतिरबाट मलाई आवश्यक परेका सामग्री पठाइदिने गरेका छन्। कुनै समय आक्कलझुक्कल किनेँ भने चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरमा सन्तोषी श्रेष्ठको बुटिक छ, त्यहीँबाट ल्याउने गरेकी छु।

हेर्न मन लागिरहने फिल्म
मैले प्रायः सबै नेपाली फिल्म हेर्ने गर्छु। जुन फिल्म रिलिज हुन्छ, त्यो फिल्म हेरेकै हुन्छु। प्रायः मलाई लभस्टोरी फिल्म मनपर्छ। दोहोर्याई तेहोर्याई हेरिरहन मन लाग्ने भन्ने कुनै एउटा विशेष फिल्म चाहिँ छैन।

चरित्र अभिनेता
मलाई सबैजसो चरित्र अभिनेताहरु मन पर्नुहुन्छ।

चरित्र अभिनेत्री
बसुन्धरा भुषाल, स्व. सुशीला रायमाझी, लक्ष्मी गिरिहरु मन पर्नुहुन्छ।

अभिनेता
भुवन केसी, राजेश हमाल, विराज भट्ट र पछिल्लो समयमा अनमोल केसी मनपर्ने अभिनेता हुन्।

अभिनेत्री
मलाई करिश्मा मानन्धर, निरुता सिंह, जल शाह, रेखा थापा, विपना थापा र पछिल्लो समय चर्चामा रहेकी सुरक्षा पन्त मन पर्छन्।

गायक
मलाई नेपाली गायकमा सुगम पोखरेल मनपर्ने गायक हुन्। उनका प्रायः गीत राम्रा लाग्छन्।

गायिका
मलाई बेस्ट लाग्ने भनेको अञ्जु पन्त हो। उहाँको गीत प्रायः सबै मनपर्छ भने पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको स्वर पनि मलाई मन पर्छ।

गुनगुनाइरहने गीत
‘मेरो एउटा साथी छ’ बोलको गीत मैले गुन्गुनाइरहेको हुन्छु। कतिखेर कति खेर यो गीत गाइरहेको हुन्छु।

पर्व
मलाई नेपालीहरुको दोस्रो महान् चाड तिहार मनपर्छ। यस चाडमा जताततै झिलिमिली हुन्छ। सबैका घर रंगीचङ्गी हुन्छन्। अनि मलाई अर्को मनपर्ने पर्व चाहिँ होली पनि हो।
                                                                            प्रस्तुति : भोला अधिकारी

प्रकाशित: १ पुस २०७५ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App