१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

धनगढीमा आन्दोलनकारी–प्रहरी घम्साघम्सी

निर्मला हत्याका दोषी पत्ता लगाउन माग राखेर मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्दै सुदूरपश्चिमवासी। तस्बिर : पुष्पराज/नागरिक

कैलाली – धनगढीका युवाले मंगलबार निर्मला पन्तको तस्बिरसहितको पोस्टर प्रदेश ७ मुख्यमन्त्री कार्यालयअगाडि टाँस्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी हुन पुग्यो। आन्दोलनकारी ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँस्दै अगाडि बढे भने पछि लागेको प्रहरीले च्यात्दै फ्याँक्न थाल्यो। त्यसपछि आक्रोशित युवाको समूह र प्रहरीबीच केहीबेर धकेलाधकेल भयो।

‘हामीले न्याय चाहियो भनेका मात्रै हौं। त्यो पोस्टरमा आपत्तिजनक केही कुरा लेखिएको पनि छैन,’ स्थानीय युवा भेष बमले भने, ‘प्रहरीले किन च्यात्नुपर्यो त्यो पोस्टर।’ स्वतःस्फूर्तरुपमा आफूहरुले न्यायका लागि आधा घण्टा नारा लगाएर कार्यक्रम विसर्जन गर्ने तय गरेको भए पनि प्रहरीले हस्तक्षेप गरेपछि त्यसका विरोधमा मुख्यमन्त्रीको पुतला दहन र टायर बाल्नुपरेको उनले बताए। बमले भने, ‘प्रहरीले पोस्टर नच्यातिदिएको भए हामी एकै छिनपछि फर्कने थियौं तर प्रहरीले नै आन्दोलनकारीलाई भड्काउने काम गर्यो।’ आन्दोलनकारीले नाराजुलस गर्दै मुख्यमन्त्री कार्यालयअगाडि मुख्यमन्त्रीको पुतला दहनसमेत गरे।

आन्दोलनकारीलाई सम्बोधन गर्दै युवा तपेन्द्र भुसालले कञ्चनपुरकी बालिका निर्मला पन्तलाई सरकारले विभेद गरेको आरोप लगाए। उनले भने, ‘सुदूरपश्चिमलाई सरकारले सधैं विभेदकै आँखाले हेर्यो। हुँदाहुँदा प्रदेश सरकारले पनि चासो दिएन।’ उनले नक्कली अपराधी बनाएर वास्तविक अपराधी बचाउन सरकारले चलखेल गरिरहेको आरोप लगाए। ‘यो सरकार कहिले दिलीपसिंह बिष्ट त कहिले चक्र बडूलाई दोषी करार गर्नमै व्यस्त रह्यो,’ उनले भने, ‘अहिले पनि दुईजनालाई जबरजस्ती अपराधी करार गर्न लागिपरेको खबर आइसक्यो।’

छोरीचेलीको अस्मिता जोगाउन आफूहरु जहिल्यै पनि सडकमै रहने उनले बताए। ‘अपराधीले छोरीचेलीको अस्मिता लुट्दै जाने र सरकार अपराधीलाई बचाउँदै जान थालेपछि हामी सडकमा ओर्लन बाध्य भयौं,’ भुसालले भने, ‘अब निर्मलाको न्यायका लागि हामी सडकबाटै संघर्ष गर्नेछौं।’

प्रकाशित: २६ मंसिर २०७५ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App