८ वैशाख २०८१ शनिबार
राजनीति

सार्वजनिक सुनुवाइमा गाउँपालिकाको प्रगति विवरण

थुलुङ दुधकोसी गाउँपालिकाले मुक्लीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागी। तस्बिर : शेखर/नागरिक

सोलुखुम्बु - कतिपय स्थानीय तहले सुशासन र पारदर्शिताको पाटोलाई चासो नै नदिएका बेला सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाले भने सार्वजनिक सुनुवाइ गरी प्रगति विवरण सार्वजनिक गरेको छ। गाउँपालिकाको आयोजना तथा सगरमाथा सतर्कता समाजद्वारा सञ्चालित सुशासन प्रवद्र्धन परियोजनाको सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पहिलो चौमासिकको प्रगति विवरण सार्वजनिक गरिएको हो। स्थानीय तहअन्तर्गत जिल्लामै पहिलो भनी दाबी गरिएको उक्त सार्वजनिक सुनुवाइमा थुलुङ दूधकोसीलाई नमुना गाउँपालिका बनाउने आधार तयार भइसकेको दाबी पनि गरिएको छ।

सार्वजनिक गरिएको चौमासिक प्रगति विवरणअनुसार चालुतर्फ ६ करोड ९४ लाख ७७ हजार ९५६ रुपैयाँ खर्च गरेको गाउँपालिकाले विकास निर्माणतर्फ दुई करोड एक लाख २६ हजार दुई सय ९७ रुपैयाँ खर्च गरेको छ। गाउँपालिकालाई प्राप्त १३ करोड तीन लाख ९९ हजार ६ सय ४४ रुपैयाँमध्ये ८ करोड ९६ लाख चार हजार दुई सय ५३ रुपैयाँ खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए। ‘प्रतिशतमा हेर्दा चालुतर्फको खर्च ५३.२८ प्रतिशत र पुँजीगततर्फको १५.४४ प्रतिशत हो,’ उनले भने, ‘चालु वर्षमा एक सय ९१ वटा योजनामा रकम विनियोजन गरिएको छ। यी योजनामध्ये १९ वटा योजनाको सम्झौता भएको छ भने सातवटा योजनाको फरफारक गरिसकिएको छ।’ वर्षाको समय र बारीका रहेका खाद्यान्न बाली भित्र्याउन बाँकी रहेका कारण सडकको ट्रयाक खोल्ने काम सुरु गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए।

सार्वजनिक सुनुवाइमा वडा सदस्य देउमाया पुरीले बाहविवाहबारे सवाल उठाइन्। ‘गाउँपालिका क्षेत्रमा बालविवाहको घटना बाक्लिँदै गएको छ,’ उनले सोधिन् ‘गाउँपालिकाले कस्तो योजना ल्याउँछ त ?’ जवाफ दिँदै गाउँपालिका अध्यक्ष असिम राईले बालविवाहसम्बन्धी नाटक निर्माण गरी ठाउँठाउँमा प्रदर्शन गर्दै आएको र बालविवाह न्यूनीकरणमा थप कार्यक्रम पनि बनाउने बताए।

देउसाका चतुरमान राईले पनि आफ्नो सवाल उठाउँदै भने, ‘गरिबी निवारण कोषमार्फत गठित सामुदायिक विकास समितिको कार्यक्रम अवधि समाप्त भएसँगै समिति र लगानी अलपत्र बनेको छ। गाउँपालिकाले कसरी व्यवस्थापन गर्छ ?’ जवाफ दिँदै अध्यक्ष राईले सामुदायिक विकास समिति मिलेर गठन गरिएको सहकारीलाई गाउँपालिकामा दर्ता गर्न सुझाव दिए। त्यसपछि गाउँपालिकाको सहकारी ऐनमार्फत त्यसलाई व्यवस्थित गरिने उनको भनाइ थियो।

जनतालाई सधैं खुसी बनाउने थुलुङ दूधकोसी गाउँपालिकाले आफ्नो अवधारणा बनाएको अध्यक्ष राईले सुनाए। पहिचान र सामथ्र्यका आधारमा नामांकन र उपयुक्त स्थानमा केन्द्र निर्धारण गर्नु, निर्माणाधीन २३ कोठे प्रिफाइभ भवन, आवश्यक ऐन, नियम र कार्यविधि निर्माण गरी राजपत्रमा प्रकाशित हुनु, विकास निर्माणको व्यवस्थापनका लागि विकासको डिपिआर निर्माण हुनु, हरेक वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने फास्ट ट्र्याकको अवधारणा कार्यान्वयनमा ल्याउनु पनि नमुना गाउँपालिकाका आधार भएको अध्यक्ष राईले दाबी गरे। ‘समुन्नत गाउँपालिकाका लागि सूचना र प्रविधिको क्षेत्रमा फड्को मारेका छौं,’ उनले भने, ‘नियमित वेबसाइट अपडेट, मोबाईल एप्स लन्च र हरेक वडामा इन्टरनेटको पहुँच पु-याएका छौं।’ उनले माइक्रो तथ्यांक संकलन गर्ने कार्य निकट भविष्यमै सुरु गर्ने भएकाले प्राप्त तथ्यांकका आधारमा जनमुखी कार्यक्रम तर्जुमा गर्ने बताए।

सुविधासम्पन्न अस्पताल निर्माणका लागि महायज्ञ गर्ने तयारी भइरहेको अध्यक्ष राईले जानकारी दिए। ‘आगामी चैत २३ देखि ३० गतेसम्म महायज्ञ गरी करोडौं रकम संकलन गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘त्यसका लागि १७ वटा मुलुकमा उपसमिति गठन गरेका छौं। जुनसुकै देशबाट रकम पठाए पनि सजिलै गाउँपालिकाको खातामा जम्मा गर्नेगरी राष्ट्रबैंकसँग सम्झौता गरिसकेका छौं।’ चार सय रोपनी जग्गामा एकीकृत नमुना बस्ती निर्माणको कामका लागि दोस्रो चरणको सर्भे भइरहेको उनले जानकारी दिए। उनले भने, ‘थ्रिडी बनाएर व्यवस्थित बस्ती बनाउनेछौं।’ जालिमपोखरी, सुकेपोखरी र काँगेलको पोखरी प्रवद्र्धन र व्यवस्थापनका लागि विज्ञहरूलाई खटाइएको अध्यक्ष राईको भनाइ छ।

गाउँपालिकाले स्थानीय स्रोतसाधन प्रयोग गरी रोजगारी सिर्जना गर्न युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ४० लाख बजेट विनियोजन गरेको छ। दलित, अपांगता भएका व्यक्ति, महिला, ज्येष्ठ नागरिकलगायत क्षेत्रमा पनि संवेदनशील भएर काम गरिरहेको अध्यक्ष राईको दाबी छ। आमा र नवजात शिशुको सुरक्षाका लागि आकर्षक योजना कार्यान्वयन भइरहेको र त्यो सफल पनि बन्दै गएकाले नमुना गाउँपालिकाको आधार तय भएको उनले बताए।

शिक्षा क्षेत्रको व्यवस्थापनका लागि ई–हाजिरी र स्कुल नर्स कार्यक्रम सञ्चालन हुनु र प्रभाव सकारात्मक देखिनु पनि थुलुङ दूधकोसी नमुना गाउँपालिकाको अभियानमा अग्रपंक्तिमा रहेको अध्यक्ष राईले दाबी गरे।

प्रकाशित: २३ मंसिर २०७५ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App