१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘प्रविधिले पत्रकारितामा चुनौती थपिँदै’

काठमाडौं - सञ्चार उद्यमी तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिले पछिल्लो समय ‘फेक न्युज’ सञ्चार क्षेत्रका लागि चुनौती बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्। युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा आयोजना गरेको एसिया प्यासिफिक समिटमा आयोजना गरेको वर्तमान चुनौतीको सामना गर्न मिडियाको भूमिका विषयक सत्रमा उनीहरूले यस्तो चिन्ता जनाएका हुन्। कार्यक्रममा वासिङ्टन टाइम्स अमेरिकाका प्रमुख टोम म्याक डेभिटले सामाजिक सञ्जालले मिडियाको विश्वसनीयता घटाउँदै लगेको दाबी गरे।

कार्यक्रममा सेकाई निप्पो जापानका प्रमुख मसाहिरो कुरोकीले फेक न्युज अहिले चुनौतीको रुपमा देखिएको बताए। उनले सूचना पस्कने क्रममा मिडिया जिम्मेवार हुनुपर्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रिपब्लिक मिडियाकी कार्यकारी निर्देशक समृद्धि ज्ञवालीले मिडियामा आधुनिक सूचना प्रविधिको प्रयोगले सूचना सम्प्रेषण सहज र द्रूत बनाउनुका साथै नागरिक पत्रकारितालाई पनि उत्तिकै पहुँच दिएको बताइन्। यसका नकारात्मक पक्ष पनि भएको चर्चा गर्दै उनले पत्रकारिताको शैक्षिक पृष्ठभूमिबिनै जोकसलै समाचारीय विषयवस्तु बनाउन सक्ने अवस्था उत्पन्न भएको र यसले सम्पादकीय पक्ष, पत्रकारिताको मूल्यमान्यता, उद्देश्य र तथ्यसमेत तोडमोड हुने डरसमेत बढाएको औंल्याइन्।

प्रजातन्त्रलाई उचाइमा पु-याउन सत्यतथ्य सूचना जनतामाझ पु-याउन आवश्यक भए पनि पछिल्लो समय के सत्य हो र के गलत हो भन्ने छुट्याउन पाठकलाई कठिन भइरहेको उनले बताइन्। यसले प्रत्रकारिताप्रतिको जनविश्वासमा चुनौती देखिन थालेको ज्ञवालीको भनाइ थियो। परम्परागत सूचना प्राप्त गर्ने तरिका डिजिलट परिदृश्यमा परिवर्तन भएको टिप्पणी गर्दै उनले ठूला सञ्चारगृहले प्रिन्ट मिडियाको आकार घटाएर डिजिटल सञ्चारमाध्यममा लगानी बढाइरहेको बताइन्। ‘डिजिटलाइजेसनले सञ्चार उद्यमसँगै यसका लागि आवश्यक मानव संसाधन, दक्षता र आम्दानीको स्रोतलाई पनि पूर्णरुपमा परिवर्तन गरिदिएको छ,’ उनले भनिन्। ज्ञवालीले राज्यको नीतिबारे सञ्चार माध्यमले प्रश्न उठाउँदा राज्यले मिडियाको विश्वसनीयतामाथि प्रश्न उठाउँदै आफू अनुकूल नभएका समाचारलाई झूटो भन्ने वातावरणसमेत सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरिन्।

सेगाई एल्बो कोरियाका प्रमुख जोङ हि तेङले कोरियामा शान्ति स्थापनाका लागि मिडियाको भूमिका महŒवर्पूण रहेको बताए। त्यस्तै फिलिपिन्सको पिपल टेलिभिजन नेटवर्कका अल्जो बेन्डिजोले शान्ति र प्रजातन्त्रका लागि मिडिया जिम्मेवार हुनुपर्ने बताए। मिडियाले पूर्वाग्रही नभई सूचना पस्किनुपर्ने उनको भनाइ थियो। मलेसियाको काराङक्राफ मिडिया गु्रपका उपप्रमुख मोहमद नासिर अमाजले पछिल्लो समय मलेसियामा सञ्चारक्षेत्रको बन्देज हटे पनि परम्परागत सञ्चारमाध्यमको महत्व कम हुँदै गइरहेको बताए।

न्यु मिडियाको प्रयोगसँगै समाचारपत्र र म्यागेजिन पाठकको रोजाइमा पर्न छोडेको अनुभव उनले सुनाएका थिए। कार्यक्रममा पथफाइन्डर पब्लिसिङ दिल्लीका पद्मश्री आलोक मेहता, बीबीसी लण्डनका विदेश मामिला पत्रकार हम्फेरि होक्सेली, स्वतन्त्र महिला मञ्च अमरिकाकी क्लाउडिया रोसेटले पनि सञ्चार माध्यमका चुनौति र अवसलका विषयमा आफ्ना धारणा राखेका थिए।

प्रकाशित: १७ मंसिर २०७५ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App