१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टहरोमा खोज्दै भविष्य

२०७२ को भूकम्पले भत्काएको विद्यालय भवन नबन्दा टहरोमा पढ्न बाध्य शिलासीता आधारभूत विद्यालयका विद्यार्थी। तस्बिर : भगवती/नागरिक

नुवाकोट - दिउँसोको पौने एक बजेको समय। दिन थियो शुक्रबार। साथीसाथी मिलेर घर जाने समय पर्खंदै ढ्याक खेलिरहेका थिए नुवाकोट बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित शिलासीता आधारभूत विद्यालयका विद्यार्थी। २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन अझै बन्न सकेको छैन। पाँच कक्षासम्म पढाइ हुने सो विद्यालयको भवन नबन्दा विद्यार्थी टहरोमा पढ्न बाध्य छन्।

टहरामा अब चिसोले सताउन थालको कक्षा ५ कि सजना लामाले बताइन्। ‘गर्मीमा घामले पोल्छ, जाडोमा सिरेटोले हान्छ, बर्खामा टहरो चुहिएर भिजिन्छ। पल्लो कक्षामा पढाएको वल्लो कक्षमा सबै सुनिन्छ, केही बुझिँदैन,’ टहरोमा भविष्य खोजिरहेकी लामाले भनिन्, ‘भूकम्पअघिजस्तै कक्षामा बसेर पढ्न मन छ तर भत्किएको स्कुल भवन अझै बनेको छैन।’

२०५१ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले ५९ जना विद्यार्थी अध्ययनरत छन्। भूकम्पअघि विद्यालयका २ वटा भवनमा ६ वटा कोठा थिए। अहिले जस्ताले बारेर कक्षा विभाजन गरिएको टहरामा पढेर विद्यार्थी भविष्य खाजिरहेका छन्। टहरामा बस्नुपर्दा समस्या भएको बताउँछिन् कक्षा ५ कि मनिसा नेपाली। ‘भूकम्पयता यही टहरोमा पढिरहेका छौं। सरहरुलाई यस्तो ठाउँमा बसेर नपढ्ने भन्छौं तर उहाँहरुले बन्दै छ भवन भन्नुहुन्छ,’ उनले भनिन्, ‘दाइदिदीहरु पढ्ने विद्यालय त नयाँ बनिसक्यो। मलाई पनि त्यहीं जान मन लाग्छ। यो स्कुल त आउनै मन लाग्दैन।’

टहरोमा बसेर पढ्न विद्यार्थीलाई मात्र होइन शिक्षकलाई पनि पढाउन सकस छ। एउटै टहरोलाई भागभाग लगाएर कक्षा सञ्चालन गर्दा बहुकक्षा जस्तै भएको छ। वल्लोपल्लो कोठाको आवाजले विद्यार्थीलाई बुझाउन कठिन हुने गरेको प्रधानाध्यापक दिलमानसिंह लामाले बताए। ‘बालबालिकालाई कसरी गुणस्तरीय शिक्षा दिने भन्ने विषयमा जानकार भए पनि भवन अभावले सकिएको छैन। एउटा विषय बुझाउन पनि मुस्किल पर्छ। टहरोका कारण विद्यार्थीको ध्यान पनि पढाइमा केन्द्रित नभएको हो कि भन्ने भान हुन्छ,’ लामाले भने, ‘उनीहरुको भविष्य बनाउने जिम्मा हाम्रो हो। सक्दो कोसिस गरिरहेका छौं।” भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गर्न जिल्ला आयोजना कार्यान्वयन एकाइले ५९ लाख २३ हजार रुपैयाँ उपलबध गराएको छ। त्यसअनुसार भवन निर्माण अघि बढाउन ७३ साल चैत २७ गते ठेकेदार पक्षसँग सम्झौता भए पनि अहिलेसम्म काम पूरा हुन नसकेको प्रधानाध्यापक लामाले बताए। ‘भवन निर्माण कार्य अघि बढाउन सम्झौता भएअनुसार काम थालियो तर निर्माणसामग्री अभाव र कामदारका कारण सम्पन्न हुन सकेको छैन,’ उनले भने, रोकिएको निर्माण कार्य अब छिट्टै सुरु गर्नेछौं।’

आर्थिक वर्ष २०७४/७५ मा विद्यालय भवन निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि यस ३० प्रतिशत मात्र काम भएको छ। तोकिएको समयमा काम नसकाउने विद्यालयलाई विशेष निगरानीमा राखिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख वीरेन्द्रजंग थापाले बताए। ‘जनशक्ति र निर्माणसामग्री अभावले काम गर्न नसकेको भन्ने भनाइ आइरहेको छ। हामीले त्यस्ता विद्यालयको स्थलगत अनुगमन गर्दै आइरहेका छौं,’ थापाले भने, ‘टहराबाट कसरी विद्यार्थीलाई भवनमा स्थानान्तरण भन्नेमा हामी गम्भीर छौं। विद्यालय व्यवस्थापन समितिसँग छलफल गरिरहेका छौं।’

प्रकाशित: ९ मंसिर २०७५ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App