१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निर्मलाका बुबा असामान्य

उल्टाखाम (कञ्चनपुर) - छोरीको हत्यारा पत्ता लगाउनुपर्ने माग राखेर अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्तले असामान्य व्यवहार देखाउन थालेपछि उनलाई उपचारका लागि काठमाडाैंतर्फ लगिएको छ। विगत १३ दिनदेखि धर्नामा बस्दै आएका पन्त चार दिनदेखि बरबराउन थालेका थिए। धर्नाकै क्रममा शुक्रबारदेखि उनले असामान्य व्यवहार देखाउन थालेका छन्।

‘उहाँ नियन्त्रण गर्न नसकिने अवस्थामा हुनुहुन्छ,’ पत्नी दुर्गादेवीले भनिन्, ‘अहिले उपचारका लागि म काठमाडाैं लैजाँदै छु।’ यज्ञराजलाई विमानबाट काठमाडौं लैजान धनगढी विमानस्थल पु-याइएको थियो। बुद्ध एयरलाइन्सका कर्मचारीले निकै बिरामी भएकाले लैजान नसकिने बताएर यज्ञराजलाई फर्काइदिएको दुर्गादेवीले बताइन्। त्यसपछि दुई सुरक्षाकर्मीका साथ स्कार्पियो गाडीमा हालेर शनिबार राति उनलाई काठमाडौंतर्फ लगिएको नेपाल प्रहरीका डिआइजी सुरज केसीले जनाकारी दिए।

हिँजोदेखि उहाँले असामान्य व्यवहार देखाउन थाल्नुभयो, हामीले चिकित्सकलाई देखाउँदा राम्रो अस्पताल लैजान सुझाव दिएपछि काठमाडाैं लैजान सुझाव दिएका हौं।

छोरी वियोगमा रहेकी दुर्गादेवी पति यज्ञराजको उपचार गराउन जानुपर्दा निकै हतास देखिन्थिन्। ‘उहाँलाई नियन्त्रण गर्न नसकिने भएको छ’, गला अवरुद्ध पार्दै उनले भनिन्,‘उपचार कसरी गराउने भनेर मलाई डर लागिरहेको छ।’ घरमा एक्लै रहेकी दुई छोरीको पनि उनलाई चिन्ता लागेको छ। ‘छोरी छोडेर आएकी छु। घरमा पनि त्यस्तै छ, यहाँ पनि यस्तै’, उनले पीडा सुनाइन्, ‘म के गरूँ ?’ पति बरबराउन थालेको चार दिन भएको उनले बताइन्। ‘हिजोदेखि त सम्हाल्नै नसकिने हुनुभएको छ,’ उनले भनिन्।

धनगढीबाट शनिबार साँझ जहाजमा उनलाई काठमाडांै लगिएको हो। कुनै बेला हाँसिराख्ने, कुनै बेला रोइराख्ने, कुनै बेला गाली गरिराख्ने, जथाभाबी बोल्नेलगायतका असामान्य व्यवहार उनले देखाउन थालेपछि चिकित्सकलाई देखाइएको थियो।

चिकित्सक सन्दीप खरेलले तनावका कारण यज्ञराजमा निद्रा नलाग्ने, जथाभाबी बोल्नेलगायतका समस्या देखिएको बताए। यहाँ औषधि खाएर निको नहुने भन्दै उनले काठमाडाैंको राम्रो अस्पतालमा उपचार गर्न लैजान सुझाव दिएका थिए। चिकित्सकको सुझावअनुसार उनलाई उपचारका लागि काठमाडौं पठाइएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले बताए। ‘हिजोदेखि उहाँले असामान्य व्यवहार देखाउन थाल्नुभयो, हामीले चिकित्सकलाई देखाउँदा राम्रो अस्पताल लैजान सुझाव दिएपछि आज काठमाडाैं पठाएका हौं,’ उनले भने।

उनका उपचारका लागि गृह मन्त्रालयमा कुरा गरिएको र मन्त्रालयले सहजीकरण गर्ने उनको भनाइ छ। यज्ञराजले शुक्रबार धर्नास्थलबाट भागेर बजारमा गई असामान्य व्यवहार देखाएका थिए। ‘एकजना बजारमा हिँडिरहेका व्यक्तिलाई तँलाई म मारिदिन्छु, कि मलाई मार्’ भन्दै उनले गाली गरेका थिए। ‘यस्तै एक युवतीलाई मसँग बिहे गर्ने हो भनेर सोधेका थिए,’ एक प्रहरी अधिकारीले भने, ‘उहाँ निकै विचलित देखिनुभएको थियो।’ यज्ञराज गत विगत १३ दिनदेखि जिल्ला प्रशासन कार्यालयअगाडि २४ घन्टै धर्नामा थिए।

विभिन्न व्यक्तिलाई एउटै कुराको जबाफ दिइरहँदा र छोरीको हत्यारा पत्ता लाग्ने कुराको अन्योल जस्ता विषयले तनाव हुँदा उनलाई समस्या भएको हो।

निर्मलाका हत्यारा पत्ता लगाउनका लागि अनुसन्धान भइरहेका बेला अन्य दबाब दिनुपर्नेमा वियोगमा रहेका आमाबुबालाई अनिश्चितकालीन धर्ना बस्न सुझाव दिनु गलत भएको स्थानीय बताउँछन्। ‘धर्नामा बस्नाले बुवा यज्ञराजलाई समस्या भएको हो,’ कञ्चनपुर नागरिक समाजका संयोजक भवराज रेग्मी भन्छन्, ‘अपराधी पत्ता लाग्न समय लाग्न सक्ने भएकाले अहिले अनिश्चितकालीन धर्ना बस्नु राम्रो हुँदैन भनेर मैले सुझाव दिएको हुँ,’ उनी भन्छन्, ‘केही मान्छेको सुझावमा धर्ना बस्दा उनीहरूलाई दुःख भयो।’ २४ घन्टा धर्ना बस्दा राति चिसो लाग्नेलगायतका समस्या रहेको उनी बताउँछन्। निर्मलाका आमाबुबा काठमाडांै गए पनि धर्ना जारी छ।

यज्ञराजकी कान्छी पत्नी पनि धर्नामा छिन् भने उनलाई अधिकारकर्मी महिलाले साथ दिएका छन्। नागरिक संघर्ष समिति संयोजक मीना भण्डारीले निर्मलाको हत्यारा पत्ता लगाउन स्वेच्छाले निर्मलाका आमाबुवा धर्नामा बसेको बताइन्। ‘उहाँहरूले धर्नामा बस्ने निर्णय गरेपछि नागरिक संघर्ष समितिले उहाँहरूलाई समर्थनमात्र गरेको हो,’ उनले भनिन्, ‘हामीले उहाँहरूलाई धर्नामा बस्न लगाएको होइन, उहाँहरू उपचार गराउन गए पनि निर्मलाकी कान्छी आमा धर्नामा बसेकाले अहिले पनि हामीले साथ दिएका छौं।’

निर्मलाको हत्या भएको चार महिना भइसकेको छ। प्रहरीले विभिन्न कोणले अनुसन्धान गरे पनि अहिलेसम्म कुनै तथ्य फेला पार्न सकेको छैन। साउन १० गते साथीको घर जाँदा हराएकी निर्मलाको दोस्रो दिन बिहान उखुबारीमा पानीमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो।

सिआइबीको नयाँ टोली अनुसन्धानमा
निर्मलाको हत्यारा पत्ता लगाउन दबाब बढिरहँदा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नयाँ टोलीले अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ। प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी नेतृत्वको नयाँ टोलीले अनुसन्धान गरिरहेको एक प्रहरी अधिकारीले बताएका छन्। यसअघि सुरुमा सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो। यो टोली विवादित भएपछि भदौको दोस्रो साता एसएसपी ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको सिआइबी टोली अनुसन्धानका लागि आएको थियो। अहिलेसम्म निर्मलाको हत्या घटनाको अनुसन्धान र छानबिन गर्न नौवटा समिति बनिसकेका छन्।

एउटै घटनामा यति धेरै समिति बनेको सम्भवत यो पहिलो हो। अहिले सिआइबीको यो तेस्रो टोली आएर अनुसन्धान गरिरहेको छ। कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले अनुसन्धान भइरहेको र अहिलेसम्म भनिहाल्न मिल्ने कुनै प्रगति नभएको बताउँछन्। प्रहरीले शंकास्पद देखिएका ९ जनाको डिएनए परीक्षण गरिसकेको छ। शंकास्पद लागेकाको डिएनए म्याच भएको छैन। प्रहरीले करिब चार हजारको कल डिटेल जाँच गरेको छ। ती कलको सूक्ष्म परीक्षणको काम भइरहेको प्रहरीले बताएको छ। सबै प्रमाण नष्ट भएकाले अनुसन्धान गर्न जटिल भएको प्रहरीले बताएको छ।

प्रकाशित: ९ मंसिर २०७५ ००:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App