१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धर्ना अन्योलमा

उल्टाखाम (कञ्चनपुर) - निर्मलाको हत्यारा पत्ता लगाउनुपर्ने माग राखेर निर्मलाका आमाबुबा दुर्गादेवी र यज्ञराज पन्तले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना थालेको बुधबार एघार दिन भयो। रातदिन धर्नामा बसेका दुर्गा र यज्ञराजको स्वास्थ्यमा समस्या देखिन थालेको छ। रक्तचाप बढेर स्वास्थ्य जटिल बनेपछि मंगलबार महाकाली अञ्चल अस्पतालका चिकित्सक आएर धर्नास्थलमै उनीहरूको उपचार गरेका थिए।

‘मैले चिकित्सलाई बोलाएर उपचार गराउन लगाएको हुँ’, निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले भने, ‘भीडमा सबै मान्छेलाई एउटै कुराको जबाफ दिइराख्नुपर्दा उहाँहरूलाई थप समस्या भएको चिकित्सकले बताएका छन्।’ निर्मलाको हत्यारा पत्ता लगाउन चार महिनादेखि अनुसन्धान गर्दा पनि तथ्य फेला पर्न नसकिरहेका बेला धर्ना बसेर उनीहरूका माग पूरा हुनेमा अन्योल देखिएको छ। हत्यारा पत्ता नलागुन्जेल अनिश्चितकालीन धर्ना बस्ने उनीहरूको अडान छ। ‘मेरो छोरीको हत्यारा पत्ता नलागेसम्म धर्ना बसिरहन्छौं’, यज्ञराजले भने, ‘मेरो प्राण गए पनि न्याय नपाउन्जेल यहाँबाट उठ्दिनँ।’

‘चिसोमा रातदिन धर्नामा बस्दा कम्मर, हातखुट्टा दुख्ने समस्या देखिएकोे छ’, दुर्गादेवीले भनिन्, ‘सरकारले अहिलेसम्म छोरीको हत्यारा पत्ता लगाएको छैन, कहिलेसम्म हामी धर्ना बसिराख्ने हो ?’ दुई छोरीको ख्याल गर्नुपर्ने र धर्नामा पनि बस्नुपर्दा धेरै समस्या भएको उनको भनाइ छ। ‘निर्मलाको न्यायमा सबैको समर्थन छ तर आफ्नो स्वास्थ्य पनि ठूलो कुरा हो’, निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट भन्छन्, ‘चिसोमा २४ घन्टा धर्ना बस्दा स्वास्थ्यलाई पनि ख्याल गर्न हामीले भनिरहेका छाैं।’

धर्नामा उनीहरूलाई स्थानीय महिला अधिकारकर्मी र नागरिक समाजले साथ दिइरहेका छन्। विभिन्न ठाउँका सर्वसाधारण ऐक्यबद्धता जनाउन धर्नास्थलमा पुग्ने गरेका छन्। बुधबार नेपाली कांग्रेसका नेता गगन थापाले पन्त दम्पतीलाई भेटेका छन्।

आन्दोलनमा विवाद बढ्दै
निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्छ भनेर सुरुदेखि आन्दोलनको नेतृत्व गरेको दबाबमूलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले विज्ञप्ति जारी गरी निर्मलाको न्यायको आन्दोलनमा एनजिओकरण गरी स्वार्थ पूरा गर्न खोजेको आरोप लगाएकी छन्। यो समूहले आमाबुबाको स्वास्थ्य जोखिममा पर्ने गरी अनिश्चितकालीन धर्नामा बस्ने निर्णय उपयुक्त नभएको बताएको छ। ‘हामी सुरुदेखि निर्मलाको हत्यारा पत्ता लगाउनुपर्छ भनेर आन्दोलनमा छौं’, श्रेष्ठले भनिन्, ‘अहिले निर्मलाको न्याय आन्दोलनमा राजनीति र एनजिओकरण हुँदा कमजोर बनाएको छ।’ सडकमा नउत्रे पनि निर्मलाको न्यायका लागि आफूहरूले लबिङ गरिरहेको उनको भनाइ छ। निर्मलाका आमाबुबालाई अनिश्चितकालीन धर्ना बस्न लगाएर उनीहरूलाई थप दुःख दिने काम भएको उनको भनाइ छ। ‘दबाब दिन आन्दोलनका अन्य स्वरूप गर्न सकिन्थ्यो’, उनले भनिन्, ‘छोरी वियोगको पीडामा रहेका आमाबुबालाई थप पीडा दिने काम भयो।’

आन्दोलन सुरु भएको केही सातापछि मीना भण्डारीको संयोजकत्वमा अर्को नागरिक संघर्ष समिति गठन भएको थियो। भण्डारीको संयोजकत्वको संघर्ष समितिले श्रेष्ठको समितिलाई जानकारी नदिई निर्मलाका आमाबुबा काठमाडांै लगेपछि यी दुई समूहबीचको विवाद छताछुल्ल भएको हो।

हेलेन श्रेष्ठको नेतृत्वमा धनगढीमा प्रदर्शनसहित मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र दिएको केही दिनपछि मीना भण्डारीको नेतृत्वको समितिले पनि ज्ञापनपत्र बुझायो। यी दुई समिति एकअर्काले गरेको प्रदर्शन र -यालीमा सहभागी नहुने मात्र नभई विरोध गर्ने गरेका छन्। निर्मलाका आमाबुबा मीना भण्डारीको नागरिक संघर्ष समितीले आयोजना गरेको प्रदर्शनमा र विरोध कार्यक्रममा सहभागी हुने गरेका छन्। भण्डारी समूहमा रहेका अधिकारकर्मीले निर्मलाका आमाबुबा स्वेच्छाले धर्नामा बसेकाले आफूहरूले साथ दिएको बताएका छन्। ‘घरमा पत्रकार सम्मेलन गरेर निर्मलाका आमाबुबा धर्नामा बसेका हुन्। हामीले उहाँलाई बस्न लगाएका होइनौं’, महिला अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘उहाँहरू धर्नामा बसे पनि स्थानीय बासिन्दाले साथ दिएका हुन्।’

राहत रकम छोरीहरूको पढाइमा लगाउन माग
निर्मला पन्तको पीडित परिवारलाई केन्द्रीय सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र भीमदत्त नगरपालिकाले ३ लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। राहत रकम निर्मलाको परिवारमा कसलाई उपलब्ध गराउने भन्ने विषयमा पनि चर्चा चलेको छ। हेलेन श्रेष्ठको समितिले निकालेको विज्ञप्तिमा उक्त रकम दुई छोरीको पढाइमा लगाउने गरी उपलब्ध गराउन माग गरिएको छ। यज्ञराजका दुई पत्नी छन्। उनी कान्छी पत्नीसँग बस्दै आएका छन्। ‘मजदुरी गरेर छोरीहरू पढाउन दुर्गादेवीलाई गाह्रो भएकाले राहत रकम छोरीहरूको पढाइमा लगाइनुपर्ने माग हामीले राखेका हौं’, उनले भनिन्।

प्रकाशित: ६ मंसिर २०७५ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App