१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला फुटबलमा प्रदेश नम्बर ७ र ३ विजयी

तस्बिर : रासस

काठमाडाैं – प्रदेश नम्बर–७ र प्रदेश नम्बर–३ बुधबारबाट सुरु भएको प्रधानसेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताको पहिलो खेलमा प्रदेश–७ ले प्रदेश नम्बर–१ माथि २–१  र प्रदेश–३ ले गण्डक प्रदेशमाथि ४–१ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेका हुन्।

खुलामञ्चस्थित आर्मीको मैदानमा भएको खेलमा प्रदेश–७ को जितमा नीलम सिंहले ४१औं र अस्मिता चौधरीले ९०औं मिनेटमा गोल गरेका थिए। उता प्रदेश नम्बर–१ का लागि इमा राईले ८३औं मिनेटमा गोल गरेकी थिइन्। खेलमा प्रदेश–७ की अञ्जली चन्द प्लेयर अफ दी म्याच घोषित भइन्।

उता लगनखेलस्थित शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा भएको अर्को खेलमा प्रदेश–३ को जितमा मनीषा थापाले ह्याट्रिक पूरा गरिन्। उनी प्लेयर अफ दी म्याच घोषित भएकी थिइन्। २३औं मिनेटमा पहिलो गोल गरेकी मनीषाले ८४औं मिनेट दोस्रो तथा ८९औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

समुन्द्रा खड्काले चौथो मिनेटमा गोल गर्दै प्रदेश–३ लाई सुरुआती अग्रता दिलाएकी थिइन् भने ३४औं मिनेटमा प्रदेश–४ की शान्ति नेपालले सान्त्वना गोल फर्काएकी थिइन्।

प्रतियोगितामा बिहीबार प्रदेश नम्बर ५ र प्रदेश नम्बर २ तथा कर्णाली प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल हुनेछ। १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टोलीले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउने आर्मीले जनाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पाउनेछ।

प्रकाशित: ५ मंसिर २०७५ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App